मकवानपुरमा रात्रि बसमा हतियारसहित गस्ती
हेटौंडा : मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत रातिको समयमा यात्रुबाहक बस तथा सार्वजनिक सवारीमा हतियारसहित गस्ती सुरु गरेको छ।
दसैं, तिहारलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीमा लुटपाट हुनसक्ने आँकलन गरी प्रहरीले नागरिकलाई सुरक्षित र आरामदायी यात्राको अनुभूति गराउन सार्वजनिक सवारीमा हतियारसहित गस्ती सुरु गरेको हो।
पूर्वपश्चिम राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीमा गस्ती गर्न बर्दीसहितको प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।
उनले मकवानपुरको सीमामा पर्ने पश्चिममा लोथरदेखि दक्षिणमा चुरियामाई मन्दिरसम्ममा छवटा प्रहरी टोलीले रात्रि बसमा हतियारसहित गस्ती गरिरहेको बताए।
'हामीले गस्ती सुरु गरेका छौँ। चाडपर्वको समयमा धेरै सवारी आउजाउ हुन्छ। प्रहरी बसमा भएपछि यात्रुलाई पनि सहज र सुरक्षित महसुस हुन्छ। सवारीले धेरै भाडा असुल्ने सम्भावना पनि हुँदैन', उनले भने।
प्रहरीले जिल्लाभर नौ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी लामो दूरीका यात्रुलाई आवश्यक सहजीकरणसमेत गरिरहेको छ।
मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउनेलाई ट्राफिक प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउने कार्यलाई समेत निरन्तरता दिइरहेको छ।
चाडपर्वको समयमा सार्वजनिक स्थानमा जुवातास खेल्ने, खेलाउने, मदिरा सेवन गरेर होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, अरूलाई बाधापुर्याउने आदि कार्य गरेको पाइएमा पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ।