काठमाडौंमा खसीबोका, भक्तपुरमा राँगा

काठमाडौंमा खसीबोका, भक्तपुरमा राँगा

भक्तपुर : दसैं सुरु भएसँगै भक्तपुरमा राँगा खरिद गर्न आउनेहरूको ताँती लाग्न थालेको छ। मासुको पर्वका रूपमा रहेको दसैंमा यहाँ घरघरमा राँगाको मासु भित्राउनुपर्ने चलन छ। 

भक्तपुर नगरपालिका-८, महेश्वरी खेल मैदान वरिपरि राँगो बेच्नेहरूको पनि हुल बढेको छ। त्यहाँ दुईतीन दिन अगाडिबाट नै सयौं राँगोहरू बिक्रीका लागि राखिएका छन्। 

दसैंको फूलपातीका दिन यहाँका घरघरमा राँगोको मासु भित्र्याउनका लागि टोलटोल र गुठीहरूबाट राँगा किनेर लगिन्छ। ती राँगाहरूलाई फूलपातीका दिन (यो वर्ष आइतबार) वध गरिन्छ। 

स्थानीय टोलबासी र गुठीयारहरूले सामूहिक रूपमा राँगो किनेर लाने गर्छन्। अनि त्यही राँगोलाई फूलपातीका दिन समूहले नै बध गरी भाग लगाइन्छ र भाग अनुसारको पैसा तिरेर घरघरमा मासु भित्र्याइन्छ। 

अरू बेला मासु पसलहरूबाट किनेर ल्याउने गरे पनि दसैं, तिहार, विस्केट जात्रालगायतका पर्वहरूमा यहाँ यसरी नै सामूहिक रूपमा सबै मिलेर राँगो काटेर भाग लगाई मासु खाने गरिन्छ। 

रामेछापको गाउँठाउँबाट राँगोहरू किनेर ल्याई महेश्वरीमा राँगो बेच्न बसेका हेमबहादुर बुढाका अनुमानमा यो दसैंमा मात्रै महेश्वरीबाट दुई सयदेखि तीन सयवटा राँगाहरू बिक्री हुने अनुमान गर्छन्। 

'पहिलापहिला त यहाँ एक हजार वटासम्म राँगाहरू बिक्री हुने गर्दथ्यो,' उनले भने। विगत ४५ वर्षदेखि प्रत्येक वर्ष गाउँबाट राँगोहरू संकलन गरी दसैंमा महेश्वरीमा राँगो बिक्री गर्न आउने गरेको उनले बताए। पछिल्ला वर्षहरूमा राँगोको बिक्री घटेको छ। 

पहिलापहिला यहाँका मानिसहरूले राँगाकै मात्रै मासु खाने गरेका र पसलबाट नकिनी यहीबाट सिंगो जिउँदो राँगो लगेर बिक्री गर्ने भएकाले बढी राँगो बिक्री हुने गरेको उनको अनुभव छ। 

तर पछिल्ला वर्षहरूमा धेरैले सामूहिक रूपमा राँगो काट्न छोडेर पसलबाट किनेर ल्याउने र राँगोका भन्दा पनि कुखुरा, खसीबोकाको मासु खान थालेकाले राँगोको बिक्री वितरण घटेको उनको अनुभव छ। 

यहाँ राखिएका राँगाहरूलाई हचुवामा अनुमानका आधारमा बेचिन्छ। यहाँ जोख्नका लागि कुनै बन्दोबस्त छैन। त्यसैले खरिद गर्न आउने र बिक्री गर्ने बीचमा मोलमोलाई भई अनुमानका आधारमा मासु बेचिन्छ। 

त्यहाँ मासु बेच्न बसेकाहरूका अनुसार त्यहाँ एउटा राँगोको मूल्य घटीमा ३०/३५ हजारदेखि बढीमा एक लाखसम्मका छन्। मासु बढी किलो भएकाका बढी मूल्य र कम भएकाको कम मूल्य पर्दछ। 

भक्तपुरमा योबाहेक पनि अरनिको राजमार्गको सल्लाघारीमा पनि थुप्रै खसीबोका, च्यांग्रा बिक्रीमा राखिएको हुन्छ। यहाँ भने भक्तपुर नगर बाहेकका जिल्लाबासीको घुइँचो लागेको हुन्छ। तर महेश्वरीमा भने भक्तपुर नगरबासीको घुँइचो लागेको हुन्छ। 

राँगो बिक्री गर्न बसेका अर्का उनबहादुर बोगटीका अनुसार बढी राँगो बिक्री हुने दिन भने यो वर्ष शनिबार र आइतबार नै हो। किनकि यहाँका मानिसले फूलपातीको एकदुई दिन अगाडि मात्रै राँगो किन्न आउँछन्। 

राँगो बेच्नका लागि आफूहरूको रात पनि यतिकै चउमै ओछ्याइएको बोरामा बसेर बित्ने गरेको उनीहरूले बताए। यसका लागि कसैले स-सानो पाल ल्याएर ल्याएर घामपानी छेक्न बनाएका छन् भने कसैले यतिकै पराल ओछ्याएर बसिरहेका छन्। 

दसैंमा यहाँका मानिसहरूले राँगोको मासुबाट अनेक परिकारहरू बनाइ खाने गर्दछन्। छोयला, काचिला, डायकाला, भुटनलगायतका मासुका अनेक परिकार बनाएर खाने गर्दछन्। 

बाँकी भएको राँगाको मासुलाई नली काटेर सुकाई पछि खानलाई सुकला बनाइ राख्ने गरिन्छ। काठमाडौं, ललितपुरमा बढीजसो कुखुरा, खसीबोका, च्यांग्राको मासु खाने गरेपनि भक्तपुरका नेवार समुदाय अहिले पनि राँगाकै मासु खान्छन्। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.