दसैं बाजाले गुन्जायमान भक्तपुर

दसैं बाजाले गुन्जायमान भक्तपुर

भक्तपुर : दसैंसँगै भक्तपुर नगर बाजागाजाले गुन्जायमान बनेको छ। दसैंको सुरुभएसँगै नगर बाजागाजाले गुन्जायमान बन्न थालेको हो। दसैंसँगै सुरु हुने नवरात्री मेलामा बिहान र बेलुकी दैनिक फरकफरक शक्तिपिठहरूमा टोलटोलबाट सयौंको संख्यामा बाजा बजाउँदै हिंड्ने भएकाले भक्तपुर नगर गुन्जायमान बनेको हो। 

बाजाहरूको धुनमा युवायुवती मस्त देखिन थालेका छन्। पुरानो परम्परा त्याग्दै गरेका नयाँ पुस्ताका युवायुवतीको आकर्षण पछिल्लो समय पुराना बाजागाजाप्रति देखिएको छ। दसंैसँगै मेलामा बाजा बजाएर आउने युवायुवतीको संख्या अत्याधिक देखिएको छ। 

मेला भर्न आउने बाजागाजाको टोलीमा युवायुवती विशेष देखिएका छन्। धिमे, बाँसुरी, झ्यालीलगायतका बाजा टोलीमा युवायुवती नै विशेष देखिन्छन्। यसका अलावा अन्य बाजाप्रेमी पनि बाजा बजाएर समूहसमूहमा हिंडेका देखिन्छन्। 

दसैंको पहिलो दिन घटस्थापनामा भक्तपुरको ब्रम्हायणीमा मेला लागेको थियो। घटनास्थापनादेखि १० दिनसम्म फरकफरक शक्तिपिठमा दैनिक मेला लाग्ने गर्दछ। जस अनुसार पहिलो दिन बिहान र बेलुका दुई समयमा मेला लागेको थियो। मेलामा हजारौं तीर्थालु बाजा बजाउने टोलीमा सहभागी भएका थिए। 

मेला भर्न भक्तपुर नगरका टोलटोलबाट बाजागाजासहित शक्तिपिठमा धाउने गर्छन्। एउटै टोलबाट पनि दर्जनौं बाजा टोली मेला भर्न शक्तिपिठ पुग्ने गर्छन्। बाजा बजाउँदा संस्कृतिको जगर्ने मात्रै नभई रमाइलो पनि लाग्ने भएकाले यसप्रति आफूहरूको आकर्षण बढेको युवाहरू बताउँछन्। ‘बाजा बजाउँदा रमाइलो लाग्ने भएकाले यसप्रति आकर्षित भएको हुँ’, धिमेबाजा बजाएर मेला भर्न आएका एक युवक सौरभ दनेगुलुले भने, ‘बाजा बजाउँदाको मज्जै भिन्न हुँदो रहेछ।’ 

बाजा बजाने युवतीको संख्या पनि निकै बढेको छ। पहिलेपहिले युवाले मात्रै बजाउने बाजागाजाप्रति युवतीको आकर्षण निकै बढ्न थालेको छ। बाजागाजाको टोलीमा झ्याली बजाएर आएकी सिर्जना मुस्याख्वले प्रशिक्षणमा सहभागी भएर आफूले बाजा बजाउन सिकेको बताइन्। भक्तपुर नगरका टोलटोलमा समयसमयमा सहकारी संस्थालगायतले बाजा बजाउने प्रशिक्षण दिँदै आएका छन्। धिमे, बाँसुरीलगायतका तालिम यहाँं चलिरहेका हुन्छन्। कला, संस्कृति भजन महागुठीका अध्यक्ष जननीप्रसाद मूलले बाजागाजाप्रति युवाको आकर्षण बढेको बताए। यही कारण जात्रा तथा पर्वमा भक्तपुर नगर बाँंसुरी, धिमेलगायतका बाजागाजाले गुन्जायमान रहने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.