भुटनदेवीमा भक्तजनको घुइँचो
हेटौंडा : बडादसैंको आठौं दिन महाअष्टमीमा हेटौंडा- १० भुटनदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
घटस्थापनादेखि दशमीसम्म यहाँ भक्तजनको घुइँचो हुन्छ। विशेषगरी फूलपातीको दिनदेखि नवमीसम्म पूजा आराधना तथा बलि भोग दिन भक्तजन आउने गरेका छन्।
मन्दिरमा बलि भोग चढाइन्छ। नरिवलदेखि हाँस, कुखुरा, बोकालगायतका पशुपन्छिको बलि भोग चढाउने प्रचलन छ।
महाभारतकालीन इतिहास बोकेको यस मन्दिरमा बडादसैंको अवसरमा १० दिन तथा प्रत्येक वर्ष चैत्र महिनाको अन्तिममा विषासय पूजाका लागि धर्मावलम्बी एवम् एवं पर्यटकहरूको भीड लाग्ने गर्दछ।
महाभारतकालीन समयमा पाँच पाण्डव र राक्षसबीच यस स्थानमा युद्ध भएको र भीमसेनले हिडिम्बाको बध गरेको किम्बदन्ती छ। बिक्रम संवत् १८६० मा यो मन्दिर स्थापना भएको हो।
त्यस्तै आज चर्चित शक्तिपीठका रूपमा परिचित मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई, मकवानपुरगढी-४ स्थित मनकामना र भीमफेदीमा रहेको भीमसेन मन्दिरमा पनि भक्तजनले बलि भोग चढाएका छन्।
हेटौंडा-४ स्थित पशुपति मन्दिर, थाहा नगरपालिकामा रहेको ऋखेश्वर मन्दिर र मकवानपुरगढीमा भक्तजनहरूले दुर्गा भवानीको विशेष पूजा आराधनाका आइपुगेका छन्। आज विशेष गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ।