दसैंले सुनसान मुस्ताङ
जोमसोम : हिन्दू धर्मालम्बीहरूको महान पर्व हो बडादसैं। दसैंका बेला स्वदेश तथा विदेशमा बस्नेहरू मुलघर फर्किने गर्छन्। दसैंको बेला जो जहाँ रहेपनि सबै परिवारका सदस्यहरू एकैठाउँमा भेला भएर मान्यजनबाट टीका र आर्शीवाद ग्रहण गर्छन्।
पारिवारिक पुर्नमिलन, बिछोडिएका साथीभाइसँग भेट,आत्मियता र मायाप्रेम साटासाट गर्दै मीठो खाने र राम्रो लगाउने पर्वको प्रतीक हो बडादसैं। दसैंको पूर्वसन्ध्यामा हिमाली जिल्ला मुस्ताङ सुनसान बन्दैछ।
वसन्त ऋतुको आगमनसँगै गुल्जार बनेको मुस्ताङ घटस्थापना तिथिदेखि सुनसान बन्दैछ। मुस्ताङमा कार्यरत निजामती कर्मचारी, शिक्षक, बैंक तथा वित्तीय संस्था र सुरक्षा निकायका अधिकांश कर्मचारी दसैं मनाउन आआफ्नो घरतर्फ प्रस्थान गरेपछि मुस्ताङ सुनसान बनेको हो।
मुस्ताङका पाँच स्थानीय तहका करिब ३५ वटा शैक्षिक संस्थाका दुई सयभन्दा बढी शिक्षकहरू अहिले दसैं मनाउन बेसी झरेका छन्। यस्तै, संघ, प्रदेश र स्थानीय तहमा कार्यरत झन्डै तीन सय बढी कर्मचारीहरू पनि दसैं मनाउन घरतर्फ प्रस्थान गरेका छन्।
मुस्ताङस्थित नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी पनि दसैं मनाउन झरेका छन्। सरकारले फूलपातीदेखि पूर्णिमासम्म सरकारी बिदा दिने भएपनि मुस्ताङका कतिपय सरकारी कार्यालयका कर्मचारी घटस्थापना सुरु नहुँदै दसैं मनाउन घर गएका छन्।
यद्यपी अतिसंम्वेदनशील कार्यालयका कर्मचारी भने जिल्लामै छन्। सुरक्षातर्फ दसैं मान्ने र नमान्नेलाई आलोपालो गरी बिदा दिइएको छ। दसैं पर्वकै कारण मुस्ताङका विकास निर्माणका काम रोकिएका छन्।
दसैं पर्व मनाउन राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनामा कार्यरत मजदुर, संघ,प्रदेश र स्थानीय निकायको विभिन्न योजनामा काम गर्ने मजदुर र मुस्ताङमा अस्थायी व्यापार व्यावसाय गर्नेहरू दसैं मान्न घर फर्किदा मुस्ताङ सुनसान बनेको हो।
कर्मचारी,शिक्षक र सुरक्षाकर्मी बेसी झरेर मुस्ताङ सुनसान बनेपनि आइतबार भने हवाई तथा धावनमार्गबाट आशिंक पर्यटक मुस्ताङ आएका छन्। मुस्ताङ आउनेमा तेस्रो मुलुकका पर्यटक, भारतीय पर्यटक र दसैं नमान्ने नेपाली पर्यटक छन्।
आइतबार २५ सय पर्यटक मुस्ताङ प्रवेश गरेको भएपनि सोमबारदेखि पर्यटक आउन छाडेको घाँसा प्रहरी चौकीका प्रहरी हवल्दार ढकबहादुर क्षेत्रीले जानकारी दिए।
मुस्ताङमा छैन दसैंको रौनक
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा दसैं मनाइदैन। झन्डै १३ हजार जनसंख्या रहेको मुस्ताङमा अधिकांश, गुरुङ, थकाली, बिष्ट र ल्होवा समुदायका मानिसको बसोबास छ।
कूल जनसंख्याको करिब १३ प्रतिशत दलित समुदाय छन्। यहाँका दलित समुदाय बाहेक गुरुङ, थकाली, बिष्ट र ल्होवा समुदायले दसैं पर्व मनाउँदैनन्। यद्यपी दलित समुदायले भने दसैं मनाउने गर्छन्।
थाक सातसय क्षेत्रका केही थकाली र ठिनी कोतघरमा दसैंको टीका लगाइने गरिन्छ। यहाँका आदिवासी जनजातिहरूले बौद्धधर्म मान्ने भएकाले दसैंको रौनक नदेखिएको हो।
मुस्ताङमा थकालीले तोरन्ल पर्व र गुरुङ, बिष्ट र ल्होवाले यार्तुङ, तिजी, धज्याङ पर्व विशेष रूपले मनाउँछन्। बौद्ध धर्मको बाहुल्यता रहेको मुस्ताङका आदिवासीले बडादसैंलाई औपचारिक रूपमा मनाउने चलन नभएपनि अनौपचारिक रूपमा भने मनाउँछन्।
दसैं पर्वमा हिन्दू धर्म परम्पराअनुसार पूजापाठ र टीका लगाउने चलन नभएपनि आपसमा भेला हुने र मीठो परिकार बनाएर खाने चलन छ। धार्मिक तथा सांस्कृतिक विविधताले महत्वपूर्ण मानिएको हिमाली जिल्लाका आदिवासीले दसैं पर्वलाई सम्मानका साथ हेर्ने गरेको पाइएको छ।
अनेकतामा एकता र सांस्कृतिक विविधताको तथ्यलाई आत्मसाथ गर्दै दसैं पर्वको बेला आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। मुस्ताङका सांसददेखि जनप्रतिनिधि र सर्वसाधारणले दसैं पर्वका उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका छन्।