थारू दसैंमा सखिया नाच
काठमाडौं : पश्चिम तराईका थारू बस्तीहरू मादल र मञ्जिराको संगीतले चैनार (गुञ्जिएका) छन् । यसले थारू बस्तीमा डस्या अर्थात् दसैं आइसकेको भान हुन्छ ।
फरिया र चोलीमा सजिएका युवती, धोती र कमिजमा सजिएका पुरुष हरेक साँझ सखिया नाच्छन् । पुरुषले बजाउने मादलको तालमा युवतीहरू भुराभुराले सजिएका मञ्जिराले ताल मिलाउँछन् । कामको व्यस्तताले दिनभरि सुनसान रहने गाउँ साँझ गुल्जार बन्छन् ।
दसैं आउनु एक महिना अघिदेखि नै सखिया गीत र नाच सिकाउने गरिन्छ । मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा)मार्फत गीति नृत्यको रूपमा रहेको सखिया नाच्ने र गाउने विधि र प्रक्रियाहरू सिकाइने गरिएको थारू संस्कृतिविद् अशोक थारू बताउँछन् ।
उनका अनुसार दसैंको अवधिमा सखिया र पैंयाँ नाच विशेष रूपमा नाचिन्छ । नाच्नका लागि युवतीहरूको समूहमा एक जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने पुरुषमा पनि एक जना अगुवा हुन्छन् । यो नाचमा भगवान् श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइने थारू बताउँछन् ।
सखिया शब्दको प्रार्दुभाव बज्र भाषाको ‘सखी आ’ शब्दबाट भएको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । ‘कान्हाले पनि द्रौपदीलाई सखी भन्थे । राधा त कान्हाकी सबैभन्दा प्रिय सखी थिइन् । त्यसैले थारू कान्हाहरू थारू लोक राधाहरूलाई बोलाउँछन्, ‘सखीहरू ! आउ न आजको यस खुसीको अवसरमा नाचौं, गाऔँ र एकअर्कामा लीन होऔं ।’ यसरी ‘सखी आ’ भन्दाभन्दै यस लोकनृत्य अर्थात् उत्सवको नाम नै संक्षिप्तमा सखिया हुन आएको हो ।
जगदीशनारायण सिंह निर्भीकका अनुसार (१९९२ ई: १३९) सखिया नृत्यको परम्पराको उद्भावमा मध्यकालीन वल्लभीय प्रभाव हुन सक्छ । जन श्रुतिअनुसार घमण्डी देवले कान्हाका सखी ललिताका गाउँका केटाहरूलाई अभिनय गर्न सिकाएका थिए । अकवरी दरबारका नृत्यकार वल्लभ वृन्दावन पुगेर तिनलाई नृत्यको शिक्षा दिएका थिए । सखियाको पृष्ठभूमिमा यस किसिमको अन्तर्कथा सम्भव छ । सखियाको पृष्ठभूमि रास नृत्य हो ।
सखिया थारू लोकभागवत पुराण पनि हो । दसैंमा थारू जातिका महिलाहरूले सामूहिक रूपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविद् थारूको भनाइ छ । जसको आरम्भ नै समरौटीबाट हुन्छ ।
डानु डाडा डानु री डाडा डानु डरिउना भली र
सखी र डानु री डाडा डरीउना री कहिले
टोही मैं सामिरौं सरस्वती मैयाँ
सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ
सखिया नाचको बीच–बीचमा पैँयाँ नाच पनि नाचिन्छ । थारू भाषामा पैँयाँलाई ‘पैँयाँ लग्ना’ अर्थात् पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनीरूपी बठिनियाहरू (युवतीहरू) र कृष्ण रूपी मडर्या (मादल बजाउने पुरुष) एकअर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ । उनी भन्छन्, ‘पैँयाँलाई कृष्ण र गोपिनीबीचको रासलीला झल्काउने चरणको रूपमा लिइन्छ । यो मूलतः गीतहीन सामूहिक नृत्य हो ।’
एनरी बाहाँस हो काटी कमवा सिटैबु
कमवा सिटैबु मै पिन्जला बनैबुँ
पिन्जला बनैबु मै सारी सुगा पलबु
वचनक बिनल पिन्जला कबु रे जिनी टुट
टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना
पैँयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रूपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औँलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आउँछ । पछिल्लो समय पैँयाँ नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरूसमेत आधुनिक ढंगले रचना गरिएको थारू संस्कृतिका जानकारहरू बताउँछन् ।
त्यस्तै पैँयाँ २२ प्रकारको हुने भए पनि हालः मड¥याहरूले आफैं नयाँ सिर्जना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरू खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् ।
पैँया मूलतः गीतहीन सामूहिक नृत्य हो । तर केही गीति पैँया पनि पाइन्छ । त्यस्तो पैँयालाई गिडाहा पैँया भनिन्छ । कुनै कुनै पैँया गीत त शृंखलित आख्यानमा उनिएको हुँदा त्यस्ता पैँया गीतलाई लोकगाथाको कोटीमा पनि राखिएको छ । पैँया गीत अनेक विषयवस्तुमा रचिएको पाइन्छ । यसमा रामायण, महाभारत तथा लौंगिक जीवनका आख्यान पनि भेटिन्छन् ।
थारू समुदायमा सखियालाई उसै पनि सदाबहार नृत्यको रूपमा लिने गरिएको छ । दसैंमा मात्रै सीमित नभई यो नृत्य बाह्रौंमास विभिन्न सभा, समारोह, महोत्सवहरूको प्रमुख शोभाको रूपमा प्रस्तुत हुँदै आएको छ ।
तर सखियामा बजाइने मादल र मञ्जिरा हरेरी पूजापछि मात्र बजाउन पाइने कथन छ । त्यसअघि बजाउँदा अनिष्ट हुने जानकारहरू बताउँछन् । ‘जेठ महिनामा रोपाइँको दिन कलुवा (खाना) खाएर बन्द गरिएको मादल भदौको पहिलोदेखि दोस्रो साता हरेरी पूजा गरेरमात्र खुल्छ । कृष्ण जन्माष्टमीदेखि तिहारसम्म थारू बस्तीमा निरन्तर नाच हुन्छ,’ थारू संस्कृतिका जानकार सुशील चौधरी भन्छन्, ‘मादल बन्द गर्दा पनि ननाच्ने भनेर देउतालाई मनाइन्छ । देउता बसालेर नाच बन्द हुन्छ । अर्को वर्ष फेरि यही समयमा नाच हुन्छ ।’