मुस्ताङको 'ध्ये' बगरमा लोभलाग्दा स्याउ

मुस्ताङको 'ध्ये' बगरमा लोभलाग्दा स्याउ

जोमसोम : जलवायु परिवर्तनले विस्थापित बनेको मुस्ताङको 'ध्ये' गाउँका किसानले अहिले कालिगण्डकी नदीको तटीय क्षेत्र ध्ये खोलाको किनारामा स्याउ खेती गरिरहेका छन्। 

उनीहरूले त्यहाँ २०६४ सालदेखि स्याउ खेती गर्न थालेका हुन्। समुन्द्री सतहदेखि झन्डै चार मिटर अग्लो उचाइमा अवस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिका ध्ये गाउँमा जलवायु परिवर्तन असर पर्दा त्यहाँ स्थानीय किसानको दैनिक जीविकोपार्जन समस्या परेको थियो। 

करिब १५ वर्षअघि जलवायु परिवर्तनको असरले त्यहाँको खेतीयोग्य जमिनमा पानीको अभाव  र चरम खानेपानीको समस्या हुँदा त्यहाँका कृषि र पशुपालन व्यवसाय संकटमा परेको थियो।

मुस्ताङको ध्ये गाउँमा कुल तीन दर्जन घरधुरीको बसोबास थियो। जलवायुको असरले जमिनको तापमान वृद्धिसँगै खानेपानी र सिँचाइ श्रोत सुक्दै गएपछि त्यहाँका किसानले पुरानो गाउँ छोड्न बाध्य भएका हुन्। 

त्यहाँका कतिपय बस्तीहरू जीविकोपार्जनका लागि तल झरेका छन् भने कतिपय अझै ध्ये खोलाको नजिक बस्ती स्थान्तरण गरी बसेका छन्। ध्ये गाउँबाट बस्ती भई अहिले तल झरेका करिब २६ घरधुरी छन्।

ध्ये गाउँको शिरबाट ध्ये गाउँको बेसी झरेकाहरूले झन्डै डेढ दशकदेखि कालिगण्डकी बगरमा स्याउ खेती गरिरहेका छन्। लेंकको खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझो हुँदै गएपछि वैकल्पिक खेती गर्न उनीहरू करिब चार हजार मिटर माथिबाट करिब ३ हजार मिटरको फेंदमा झरेर स्याउ खेती गरेका हुन्। 
जलवायु परिवर्तनको प्रभाव मुस्ताङको ध्ये गाउँमा प्रत्यक्ष देखिएको हो। ध्ये गाउँबाट बस्ती विस्थापित भएको पुरानो स्थान पुग्न करिब १६ किमी उकालो हिँड्नु पर्दछ।

ध्ये गाउँबाट विस्थापित भई कालिगण्डकी किनाराको छेउमा झरेका ध्ये गाउँबासीले गाउँको पञ्चिमतर्फ कालिगण्डकी किनाराको खेर गएको बगरलाई स्याउ खेती गर्ने माध्यम बनाएका हुन्। 

कालिगण्डकी बगरमा करिब १२ सय रोपनी प्रतिजग्गामा उनीहरूले खेतीयोग्य जमिनका लागि उपभोग गर्दै आइरहेका छन्। ध्ये बगरे खोला नजिक स्थानीयले जग्गा सम्याएर ग्रेड मिलाएका थिए। उनीहरूले खेतीका लागि माटो अन्यत्रबाट माटो ढुवानी गरी स्याउ फल्न योग्य बनाएका थिए। 

'पानीका मुहान सुक्दै गएपछि कालिगण्डकी तिरमा बस्ती सर्न बाध्य भयौं , जीवन गुजारा गर्न खेती गर्नैपर्ने थियो, वडाध्यक्ष एवं ध्ये थाङसुङ कृषि सहकारी संस्थाका अध्यक्ष पासाङ गुरुङले भने, 'बगरलाई खेत बनाउन धेरै श्रम र पैसा खर्च गर्‍यौं, अहिले क्रमिक रूपमा स्याउ फल्न थालेकाले केही  आसा पलाएको छ।' 

ध्येबासीले करिब १२ सय रोपनी जग्गामध्ये आठ सय रोपनी जग्गामा १२ सय बोट परम्परागत जातका स्याउ बिरुवा लगाएका थिए। अहिले ती बोटले विस्तारै फल दिन सुरु गरेको वडाध्यक्ष गुरुङले बताए। 

बर्सेनि ध्ये गाउँका किसानले स्याउ टिप्ने बेला प्रकृति पूजा गर्छन। स्थानीय बौद्ध परम्परा अनुसार स्याउ खेतमा लामा राखेर पूजाआजा गर्ने गरेको वडाध्यक्ष गुरुङले बताए। यसरी प्रकृति पूजा गर्दा स्याउ खेती राम्रो हुने विश्वास ध्ये बासीको छ।

खेर गएको कालिगण्डकी नदीको बगरे जग्गामा स्याउ खेती फस्टाउँदै गएपछि ध्येबासीमा आशाको सञ्चार पलाएको छ। तर, उनीहरूलाई स्थान्तरित बस्तीबाट चरनक्षेत्र टाढा हुँदा पशुपालन व्यवसायमा केही समस्या रहेको वडाध्यक्ष गुरुङको भनाइ छ। 

ध्ये गाउँका किसानले ध्ये बगरमा यसपटक करिब १० ट्रक स्याउ फलाएका छन्। तर ,सदरमुकाम देखि सो स्थानसम्म पुग्न धेरै टाढा पर्ने भएकाले स्याउ ढुवानी महङ्गो पर्ने हुँदा स्याउ खरिद गर्न व्यापार आउन नसकेको वडाध्यक्ष गुरुङले बताए।

ध्ये गाउँबासीले विषादीरहित अर्गानिक स्याउ उत्पादन गरेका छन्। उनीहरूले स्याउ बगैंचामा पशुचौपायाको मल प्रयोग गर्ने गरेका छन्। विशुद्ध अर्गानिक स्याउ उत्पादन गरेकाले ध्ये गाउँको स्याउमा बेग्लै आर्कषण र स्वादिलो हुने गर्छ। 

उनीहरूले यसपटक बगरमा फलाएको स्याउ खुद्रा बिक्री गरेका छन्। ढुवानी महङ्गो पर्ने र अपायक भएकाले ध्ये गाउँको स्याउ बजारीकरणमा समस्या पर्ने गरेको वडाध्यक्ष गुरुङले उल्लेख गरे। 

उनले कालिगण्डकीको बगरमा स्याउ खेती गरेर वातावरण संरक्षणमा योगदान र जीविकोपार्जनका लागि मार्ग प्रशस्त गरेको जनाए। 'हामी जलवायु पीडित किसान हौं, राज्यले हामीलाई व्यवस्थापनमा सहयोग गर्नुपर्छ, वडाध्यक्ष गुरुङले भने , यो खेर गएको जग्गा किसानको नाममा लालपुर्जा बन्नसके कृषि लोन लिन सहयोग पुग्थ्यो, समा सरोकारवाला निकायबाट पहल होस्।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.