विवाहसँग जोडिएको भक्तपुरको दसैं
भक्तपुर : देशका विभिन्न जिल्लाहरुमा मनाइने दसैंभन्दा फरक छ भक्तपुरको दसैं । यहाँको दसैं विवाह कर्मसँग पनि प्रत्यक्ष सम्बन्ध राख्दछ । विजया दशमीको दिन यहाँ धेरै जोडी विवाह बन्धनमा बाँधिन्छन् । यसदिन विवाह गर्नलाई कुनै साइत जुराउनु पर्दैन । अझ भनौ यो आफैं शुभसाइत हो । यसकारण साइत नजुरेकाहरुको पनि यही दिन विवाह हुन्छ ।
विजया दशमीको दिन तलेजुमा खड्गको पूजा हुन्छ । यसलाई नेवारीमा पायो न्हायाकेगू भन्ने चलन छ । यो दिन प्रेम सम्बन्धमा बसेका जोडीहरूले भागेर विवाह गर्ने गरिन्छ । तर हिजोआज दुवै परिवारको सहमतिमै पनि विवाह गर्ने चलन बढेको छ । यसरी यो दिन विवाहलाई कानुनी मान्यता दिइन्छ । यसदिन भागी विवाहबाहेक मागी विवाह, ब्रतबन्ध आदि शुभ कार्यहरू गर्ने चलन छ । यो दिनलाई शुभ साइतको रूपमा लिने गरिन्छ ।
विजया दशमीको मध्यरात तलेजु भवानीको मन्दिरमा भर्खर सृष्टि भएका नवदुर्गा भवानीलाई खड्क प्रदान गरिन्छ । यसै जात्रालाई पायो जात्रा भनिन्छ । पायो जात्रा भन्नाले हतियारको प्रदर्शन गर्ने जात्रा भनेर बुझ्न सकिन्छ । यसका साथै तलेजुको सेतो घोडा तलेजु परिसरबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा घुमाई मनाइने जात्रा पनि पायो जात्राको एक अंश हुन् ।
परम्परा अनुसार हरेक वर्ष विजया दशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालिन्छ । उक्त घोडाको पछाडी तलेजु भवानी ल्याइन्छ भने तलेजु भवानीको पछाडी नवदुर्गा भवानी गण ल्याउने गर्दछन् । सेतो घोडा तलेजु भवानीको बाहन हुन् । तसर्थ तलेजु भवानीको अगाडि यो घोडा ल्याउने गर्दछ । यसरी पायो जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा घोडा, तलेजु भवानी र नवदुर्गा गण परिक्रमा गरिन्छ । त्यसैगरी सोही दिन नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरिन्छ ।
प्रत्येक वर्षको विजया दशमीको मध्यरातमा ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु (माथि सवारी हुने) वा क्वः न्ह्यायेगु (तल सवारी) हुने निर्णय पहिले नै भए अनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुन्छ । माथी सवारी हुने हो भने भक्तपुर नगरको मथिल्लो भेगमा घोडालाई लग्ने गर्दछ । यसरी माथिल्लो भेगमा लग्दा तचपाल टोल भन्दा माथी लगिदैन ।
भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै हो । त्यही भएर भक्तपुरको पायो जात्राको क्रममा सदैव तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो बाहनको रुपमा लैजाला भनी तचपालबाटै तलतिर फर्काउने गरेको हो भन्ने किवंदन्ती रहेको छ । यसरी माथिल्लो भेगको परिक्रमा गरि गहिटीस्थित सांभुङ्ग भैरवबाटै दरवार स्क्वायर पुयाइन्छ ।
त्यस्तै, तल्लो भेगको परिक्रमा गरि गहिटीस्थित सांभुङ्ग भैरवबाटै दरवार स्क्वायर पुयाइन्छ । यसक्रममा तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ । जसलाई भक्तपुरको घोडाजात्रा पनि भन्ने चलन छ । नेपाल संवत् ४४३ पौषशुक्ल नवमी शनिबारको दिन तलेजु भवानीको आगमन भएको इतिहास रहेको छ र उक्त दिनदेखि यो जात्रा सुरु भएको कथन छ ।
नवरातका नौ दिन भक्तपुरमा नौ देवीहरुको मन्दिरमा दर्शन गरि आफ्नो मनले चिताएका बरबधु यसै पायो न्ह्याकेगु दिन बिबाह गर्ने गर्दछ । यसरी वास्तवमा पायो न्याकेगु भन्नाले तरवारसहितको घोडा घुमाउने भए पनि यसको अर्का अर्थ भागी विवाह भन्ने पनि लाग्छ ।
यही विवाहसँगै सिलसिलाबद्ध अर्को कथन पनि यहाँ प्रख्यात छ । त्यो के हो भने यहाँ दसैको दस दिन फरकफरक शक्तिपीठहरुमा मेला लाग्ने गर्दछ बिहान र बुलुकी । यो बेला युवायुवती मेलामा सहभागी हुने गर्दछन् । यही क्रममा उनीहरुको मायाप्रेम पर्ने र अन्तमा विजया दशमीको दिन विवाह हुने प्रख्यात भनाइ रहेको छ । यसअघिको एक महिनाको समयमा यहाँका युवायुवती प्रत्येक बुधबार चार भगवान सिक वानेगु अर्थात् चार भगवानकोमा जाने भनेर जाने गरिन्छ । यो क्रममा काभ्रेको नमोवुद्ध, ललितपुरको बंगमति र काठमाडौंको साँखु तथा स्यम्भु जाने गर्दछन् । यसरी यो क्रममा चिनाजानी हुने दसैमा माया वस्ने र विजया दशमीको दिन विवाहबन्धनमा बाँधिने कथन छ, जुन अहिले पनि चलिएको छ ।
यति मात्रै होइन, पायो न्हाकेगु राति तलेजुमा त्यो जात्रा हेर्न आउँदा मन परेको युवतीलाई तानेर पनि लान पाइन्छ भन्ने कथन छ । यही कारण उहिलेउहित त्यो राति पायो न्हाकेगु राति आफना छोरी नातिहरुलाई घरबाहिर जान बन्देज लगाइन्थ्यो । तर अहिले त्यस्तो छैन, इतिहासविद डा वीरेन्द्रप्रसाद कायस्थ बताउँंछन् ।
विवाह जस्तै भक्तपुरको दसैंको क्रममा नवरात मेला, खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज) लगायतका विशेष आकर्षणहरू यहाँको दसैको हो ।
संस्कृतिविद् ओम धौभडेल दसैं देशभरि मनाउने गरे पनि भक्तपुरको दसैं विशेष आकर्षण रहने सुनाउँछन् । उनका अनुसार दसैंको १० दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्छ । ‘प्रत्येक दिन एकएक शक्तिपीठमा जात्रा हुने दसैं हो,’ उनले भने, ‘नवदुर्गाको भवानीको उत्पत्ति हुने दशमीको अर्को पक्ष हो ।’ भलबल अष्टमीको दिन मरेको देउता यस दसंैमा उत्पत्ति हुने गर्छ । साथै तलेजु पनि अर्को महत्वपूर्ण पक्ष हो । भक्तपुरमा दशमीको दिन तलेजु मन्दिर पूजा हुने गर्छ ।
त्यस्तै मध्यपुर थिमीमा पनि बिजया दशमीका दिन पायो जात्रा मनाउने गर्दछ । यस जात्रालाई शक्ति पुजन वा मल्लकालिन सेना दिवसको रुपमा पनि मनाउने गर्दछ । थिमीको लायकुबाट सुरु हुने यस जात्रामा मल्लकालिन सैनिक पोशाक तथा मल्लकालिन हातहतियार सहित बालकुमारी देखि दिगुटोल सम्म प्रदर्शन गर्ने गर्दछ । स्थानिय भाषामा “खाँ पिहावइगु“ वा “भुइ फसि पालिगु“ भन्ने यस जात्रा हतियार प्रदर्शन गर्ने जात्राको रुपमा पनि लिइन्छ । पायोको अर्थ हतियार हो जसको अर्थ “पाय तेयगु“ (हतियारमा धार राख्ने) शब्दबाट पुष्ठि हुन्छ । यसरी मल्लकालिन हतियार प्रदर्शन गरि बालकुमारी मन्दिरको अगाडि राखिएको कुभिन्डो (भुइ फसि) काट्ने गर्दछ ।