बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो, घाइते २० जनालाई भरतपुर पठाइयो
हेटौंडा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको जीतपुर-सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित तीन नम्बर पुलमा बिहीबार विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम श्रेष्ठले दिएको जानकारी अनुसार चितवन पठाइएका एक जना घाइतेको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो। यसअघि १५ जनाको मात्रै मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो।
घटनास्थलमै ८ जनाको मृत्यु भएको र उपचारको लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएको ९ जनामध्ये २ जनाको मृत्यु भएको हो। उपचारको क्रममा ४ जना घाइतेको हेटौंडा अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
हेटौंडाकै सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये १ जनाको मृत्यु भएको हो भने चितवन पठाइएको १ जना घाइतेको पनि मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। मृतक सबैको सनाखत हुन बाँकी छ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा०६–००१ ख ०११० नम्बरको बस जीतपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जस्थित–३ नम्बर पुलमा सडकबाट खोलामा खसेको थियो। बसमा ५० जना सवार थिए।
प्रहरी निरीक्षक श्रेष्ठका दुर्घटनामा परी घाइते भएका २० जनालाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि चितवनको भरतपुर पठाइएको छ।
हेटौंडा उपमहानगरपालिका–१४ का १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका अन्दाजी १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरहनी ८ का अन्दाजी ५४ वर्षीय भीमसेन अधिकारी, खैरहनीकै अन्दाजी ३८ वर्षीय रविना अधिकारी, हेटौंडा–१४ चुरियामाइ बस्ने अन्दाजी ३४ वर्षकी ठुलीमाया स्याङ्तान, सोही स्थानकी अन्दाजी ३५ वर्षकी मञ्जुकुमारी लोप्चन, वीरगञ्ज महानगर–१६ निवासी अन्दाजी २२ वर्षीय रविना चौरसिया, सोही स्थानका अन्दाजी २५ वर्षीय सन्दीप चौरसिया, ४० वर्षीय लक्ष्मीदेवी चौरसिया, ६२ वर्षीय मालती चौरसियालाई भरतपुर पठाइएको हो।
त्यस्तै हेटौंडा-७ का १७ वर्षीय सोनिया श्रेष्ठ, जीतपुर-सिमरा-२२ बस्ने अन्दाजी ११ वर्षका शिशिर विक, हेटौंडा-१४ का अन्दाजी १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज- १६ निवासी ११ वर्षीय देवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बास्तोला, वीरगञ्ज-१६ बस्ने अन्दाजी ७ वर्षका दिपेश चौरसिया, हेटौंडा ८ बस्ने १७ वर्षीय सलमान आलम, सोही ठाउँका अन्दाजी १५ वर्षीय सवनम खातुन र हेटौंडा उपमहानगर-१४ निवासी अन्दाजी ७ वर्षीय सुविना घिसिङलाई पनि उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।