कुलेखानीमा पानीको सतह बढ्यो
हेटौंडा : लगातार ३ दिनदेखिको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -१ स्थित कुलेखानी जलासय (इन्द्रसरोवर ताल) मा पानीको सतह बढेको छ ।
जलासयमा पानीको सतह १ हजार ५२०.८६ मिटरमा पुगेको कुलेखानी जलविद्युत आयोजना प्रथम मकवानपुरले जनाएको छ ।
बिहीबार साँझसम्म कुलेखानी जलासयको पानीको सतह तीव्र दरमा बढिरहेको छ । प्रतिघण्टा १० देखि २० सेन्टिमिटरसम्म पानीको सतह बढिरहेको आयोजनाले जनाएको छ ।
करिब १८ घण्टाको अवधिमा १ मिटर २ सेन्टिमिटर पानीको सतह बढेको र यही दरमा पानीको सतह बढे १५ दिनमा जलासय भरिने आयोजनाले जनाएको छ ।
कुलेखानी जलासयमा गत वर्ष ३० कात्तिकमा १ हजार ५२९ मिटरसम्म उच्च तहको पानी मापन गरिएको थियो ।
गएको जेठ ३० गते कुलेखानी जलासयमा १ हजार ४९३.५३ मिटर तल्लो मापन गरिएको थियो ।
नेपालको ‘पावर ब्याक–अप’ भनेर चिनिने कुलेखानी जलविद्युत आयोजनाको कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कूल १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।