कर्मचारीबिनै मुस्ताङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
जोमसोम : आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङमा कर्मचारी बिनै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले तोकेको असोज १५ गतेखि २० गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने डेटलाइन अनुसार जिल्ला अदालत मुस्ताङका एकजना कर्मचारीको सहयोगमा बिहीबार जिल्ला समन्वय समिति भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
संघीयता कार्यान्वयसँगै मंसिर ४ गते हुन लागेको दोस्रो प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत बिनै जिससको भवनमा कार्यालय स्थापना गरिएको हो । यसअघि जिल्ला निर्वाचन कार्यालयले आसन्न निर्वाचनका सम्पूर्ण काम नसकिएसम्म कार्यालय खुल्ला रहने वेभसाइडमार्फत सूचना प्रकाशित गरेको थियो ।
आसन्न निर्वाचनको सम्मुखमा बडा दसैं पर्व परेकाले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ईश्वर पराजुली र सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्य दसैं मनाउन घर गएका छन् । तर, दसैं सकिए पनि प्रतिकुल मौसम र बेनी–जोमसोम सडक अवरुद्ध हुँदा सम्बन्धित व्यक्ति तोकिएको स्थानमा आउन सकेनन् ।
आसन्न निर्वाचन लागि अनौपचारिक रुपमै भएपनि समन्वय समिति भवनको ३ वटा कोठामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुस्ताङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएपनि मुख्य निर्वाचन अधिकृत लगायतको टोली जिल्ला बाहिर हुँदा कार्यालय अझै उद्घाटन हुन सकेको छैन ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति पर्सी असोज २३ गते तोकेकाले मुख्य निर्वाचन अधिकृतसहितको टोली अहिले मुस्ताङ आउँदै गरेको सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए । यस्तै, मुस्ताङ जिल्ला बाहिर रहेका प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने आंकाक्षी उम्मेदवारलाई मौसम प्रतिकुलता र सडक अवरुद्धले गर्दा मनोनयन दर्ता गर्न आउन समस्या परेको छ ।
निर्वाचन आयोगको कार्यक्रम अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ असोज २३ गते देखि असोज २६ गतेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सुची प्रकासन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी माथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा करिव ११ हजार ५ सय मतदाताले मतदान गर्नेछन् । मुस्ताङमा यसअघिको ३७ मतदान केन्द्रमा एक केन्द्र थपेर ३८ मतदान केन्द्र बनाइएको छ ।
आसन्न मंसिर ४ गते हुँने निर्वाचनका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगले सबै जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एकजना निर्वाचन अधिकृत तोकेको छ ।
सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनको काम अघि बढाउन र आचारसहिंता कार्यान्वयनका लागि अनुगमन गर्ने बताए । हिमाली जिल्ला मुस्ताङमा नेपाली कांग्रेस र नेकपा(एमाले)बीचनै मुख्य प्रतिस्पर्धा हुनेछ । यसअघि प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले)ले बिजयी हासिल गरेको थियो ।