स्याङ्जा एमालेले उम्मेदवारको टुंगो लगायो, कांग्रेस अझै अलमलमै
स्याङ्जा : आगामी मंसिर ४ को निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिदै गर्दा स्याङ्जामा नेकपा एमालेले आफना उम्मेदवार सार्वजनिक गरिसकेको छ। तर, नेपाली कांग्रेस भने अझै अलमलमा छ। जोडघटाउ मै व्यस्त छ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबारसम्म पनि यहाँका कांग्रेसजनले आफना उम्मेदवार को हुन् भनेर चिन्न पाएका छैनन्। केन्द्रदेखि जिल्ला तहका नेताहरु आन्तरिक जोडघटाउमै व्यस्त छन्।
त्यसो त, गठबन्धनका कारण पनि कठिनाइ भएको बताइएको छ। दुई संघ र ४ प्रदेश निर्वाचन क्षेत्र रहेको यहाँ २ वटा प्रदेश क्षेत्रमा नेकपा एस र नेकपा माओवादीका भागमा परेका छन्।
निर्वाचनका लागि स्याङ्जामा नेपाली कांग्रेस र नेकपा एमाले नै मुख्य प्रतिस्पर्धी हुन्।
नेकपा एमालेले प्रतिनिधिसभा क्षेत्र नं १ मा नारायणप्रसाद मरासिनी र क्षेत्र नं २ मा पदमा अर्याल भन्दै उनीहरुका तस्विरहरु सार्वजनिक भइसकेका छन्।
यसैगरी क्षेत्र नं १ प्रदेश (क) मा मीनप्रसाद गुरुङ, (ख) मा सुधीर पौडेल, क्षेत्र नं २ को प्रदेश (क) मा मोहन रेग्मी र (ख) मा डा. बुद्धिमान श्रेष्ठलाई उम्मेदवारका रुपमा सार्वजनिक गरिएका हुन्। एमालेले प्रतिनिधिसभाका दुबै क्षेत्रमा अघिल्ला सांसद मरासीनी र अर्याललाई नै उम्मेदवार बनाएको हो। अघिल्लो निर्वाचनमा बामगठबन्धन हुदाँ एक प्रदेशसभा नेकपा माओवादीले पाएको थियो।
नेपाली कांग्रेसले भने आफना उम्मेदवार अहिलेसम्म सार्वजनिक गरिसकेको छैन।