मुस्ताङमा वर्षा: मार्फाको स्याउबारीमा पस्यो बाढी, सडक र पुलमा क्षति, हवाई सेवा ठप्प
जोमसोम : गत मंगलबारदेखिको निरन्तर परिरहेको अविरल वर्षाले मुस्ताङको जनजीवन प्रभावित बनेको छ । वर्षाले बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङखण्डका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको छ भने मुस्ताङ भ्रमणमा आएका पर्यटक ५ दिनदेखि होल्डिङ गर्दै बसेका छन् ।
कुनै बेला पानीनै नपर्ने भनेर चिनिने हिमाली जिल्ला मुस्ताङमा यसपटक भने दशैको अघिल्लोदिनदेखि निरन्तर अबिरल वर्षा भईरहेको छ । निरन्तरको वर्षाले स्थानीय समुदाय र मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकले निकै सास्ती भोग्न बाध्य भएका छन् ।
वर्षासँगै आएको फाराम खोला बाढीले मुस्ताङको मार्फास्थित स्याउबारी बगरमा परिणत भएको छ । मार्फाको शितोष्ण बागबानी फार्म स्थित फाराम खोलाबाढीले स्थानीय र फार्मको करोडौं मुल्य बराबरको स्याउबारीमा ठुलो क्षति पुर्याएको छ । केन्द्रको सी र डी स्याउ ब्लगमा बाढी पस्दा स्याउबारी जलमग्न भई बगरमा परिणत भएको हो । यसै गरी मार्फाका स्थानीय गोपाल गौचनको करिव २५ रोपनी जग्गामा लगाईएको स्याउबारी खोलाले धार परिवर्तन गर्दा करोडौंको क्षति पुगेको छ भने स्याउबारी पुरै बगरमा परिणत भएको छ ।
मार्फा स्थित फाराम खोलाले धार परिवर्तन गर्दा मार्फा–छैरो जोड्ने झोलुङे पुल भत्किएको छ भने राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको मार्फा सडकमा बाढी पस्दा सडक संरचनामा क्षति पुगेको छ । मार्फाको दुई स्थानको मुख्य सडकमा करिब १ हजार मिटर सडक क्षति भएको हो । बाढीले मार्फाको दुई स्थानको सडकमा पुरै बालुवा,लेदो माटो,ग्रेगान र रुखहरु बगाएर थुपारिदा मुख्य सडक अवरुद्ध भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
प्रजिअ शर्माले अविरल वर्षाले मुस्ताङको ६ स्थानमा सडक अवरुद्ध भएको छ भने म्याग्दी खण्डमा पनि उस्तै समस्या रहेको बताए । उनका अनुसार निरन्तरको वर्षाले बेनी–जोमसोम सडक, जोमसोम–मुक्तिनाथ सडक र जोमसोम–उपल्लो मुस्ताङ सडकको ठाउँमा बाढी पहिरोले क्षति पुगेको बताए ।
वर्षासँगै आएको फाराम खोला बाढीले स्थानीय र बागवानी फार्मको करोडौ मुल्यको जमिन बगरमा परिणत छ भने वर्षाले वारागुङ मुक्तिक्षेत्र गापामा परम्पराग ढुङ्गा माटोले बनेका १४ घर पूर्ण रुपमा क्षति पुगेको प्रजिअ शर्माको भनाइ छ ।
उनले वर्षाले लगातार ५ दिनदेखि म्याग्दी र मुस्ताङखण्डमा सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमण गर्ने पर्यटक समेत बिचल्लीमा परेको बताए ।
अविरल वर्षाले दशै अघि मुस्ताङ आएका पर्यटक ठाउँ ठाउँमा होल्डिङ गरी बाटो सहज हुने पखाईमा बसेका छन् ।
मुस्ताङको जोमसोम,मार्फा,टुकुचे, लेते र घाँसा र म्याग्दीको तातोपानीमा सयौं पर्यटक बाटो सहज हुने पखाईमा होल्डिङ गरी बसेका छन् । मुस्ताङका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ शर्माले अविरल वर्षाले मुस्ताङमा सडक,स्याउबारी र परम्परागत घरहरुमा क्षति पुगेको बताए । मार्फामा फाराम खोला बाढीले स्याउबारी,पुल र सडकमा क्षति पुगेको र खोला नियन्त्रणमा लिन नेपाल प्रहरी ,सशस्त्र प्रहरी, नेपाली सेना ,स्थानीय तह र गाउँले मिलेर सयुक्त रुपमा खोला नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।
बिहीबारदेखिको फाराम खोला बाढीको बाहव उच्च हुँदा मार्फाका आधा दर्जन घर उच्च जोखिममा परेका छन् । सडक पुरै बगरमा परिणत भएको छ । घरपझोङ गापाका अध्यक्ष मोहनसिंह लालचनले फाराम खोलाको बाढीले मानवीय क्षति नभएपनि करोडौं मुल्य बराबरको स्याउबारी नष्ट भएको बताए । बाढीले छिनछिनमा धार परिवर्तन गर्दा खोला नियन्त्रणमा लिन अप्ठ्यारो परेको अध्यक्ष लालचनले बताए । बस्ती र स्याउबारी जोगाउन गाउँपालिका, गाउबासी र सुरक्षा निकायले ३६ घण्टा प्रयास गर्दा समेत खोला ट्याकमा ल्याउन नसकेको जनाए ।
अविरल वर्षाले सडक, पुल र खेतीयोग्य भुमीमा बाढी पसेपछि घरपझोङ र वारागुङ मुक्तिक्षेत्रले जनजिवन सहज बनाउन डोजर भाडामा लिएर काम गरिरहेका छ । दशै बिदामा बेनी–जोमसोम सडकका मजदुर र उपकरण चालक घर जादा मुस्ताङमा सडक खुलाउन र खोला नियन्त्रणमा लिन समस्या परेको हो ।
यस्तै, मंगलबारदेखिको अविरल वर्षाले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने घुमाउने ताल,बैसरी,बेग खोला,लाटो खोला,दाना, रुप्से झरना र काभ्रेभीर लगायतका स्थानमा सडक ध्वस्त भएको थियो । शनिबारसम्म मुस्ताङको कोवाङदेखि म्याग्दीको तातोपानीसम्म सडक सूचारु भएको बताइएको छ । कतिपय स्थानमा पर्यटक तथा सर्वसाधारणले सवारी फेरबदल गरी यात्रा गरेका छन् भने अधिकाँश स्थानमा जोखिम मोलेर पैदलयात्रा गर्नेुपर्ने अवस्था छ ।
धौलागिरी सर्किटको यात्रा गर्ने क्रममा आफ्ना ८ जना साथीसहित मुस्ताङ आएका बङ्गलादेशी पर्यटक माझारुतले मौसम प्रतिकुलताका कारण आफ्नो टोली धौलागिरी सर्किट नपुगी फर्किन परेको बताए । उनले मुस्ताङ र म्याग्दी सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा ५ दिनदेखि मुस्ताङर्मै अलपत्र परेको र बाटो खुल्ने पखाईमा रहेको बताए ।
मौसम प्रतिकुलताका कारण मुस्ताङमा लगातार ५ दिनदेखि हवाई सेवा ठप्प छ । दशै बिदामा मुस्ताङ भ्रमण गर्न चाहेका पर्यटक समेत सहज रुमा मुस्ताङ भ्रमण गर्नसक्ने अवस्था छैन ।
अविरल वर्षाले दर्जनौं स्थानमा सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादित स्याउ पोखरा लैजान समस्या परेको छ । यस्तै, सडक अवरुद्ध मुस्ताङमा खाद्यान्न,ईन्धन र अतिआवश्यकीय सामाग्री ढुवानी गर्न समेत सकिएको छैन । सडक असहजताका कारण आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ आउन सक्ने अवस्था नहुँदा स्थानीय पर्यटन व्यवसायी समेत चिन्तित देखिएका छन् ।