उम्मेदवारीको धपेडीमा दलहरू

उम्मेदवारीको धपेडीमा दलहरू

काठमाडौं : सबैभन्दा जटिल काम हो मान्छे छान्नु। छनोटमा पर्नेहरू खुसी हुन्छन्। नपर्नेहरू चित्त दुखाउँछन्। राजनीतिक दलहरू यति बेला यही असजिलो काम फत्ते गर्ने बाध्यतामा छन्। प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाइरहेका छन्। जब कि आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिँदै छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मनोनयनपत्र दर्ताको कार्यक्रम सार्न केही दलले आग्रह गरे पनि यथावत् नै राखिएको जानकारी दिए। विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएको उनले बताए। बरु बाढीपहिरोलगायत विपद्का कारण कठिनाइ भए आइतबार बिहान १० बजेभित्र अत्यावश्यक कागजात उपलब्ध गराए आयोगले सहजीकरणको व्यवस्था मिलाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

तर, त्यसको पूर्वसन्ध्यासम्म अधिकांश दलले कसलाई टिकट दिने भनेर छिनोफानो गरिसकेका छैनन्। उम्मेदवार टुंगो लगाएकामध्ये पनि धेरै ठाउँमा चर्को असन्तुष्टि देखिएको छ। टिकट नपाएकाहरूले पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिने बताइरहेका छन्। 

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘सुरक्षित’ क्षेत्र खोज्दै गोरखा २ पुगेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादव सहमतिका क्रममा।  

सत्तारुढ गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटमा कुरा नमिलेपछि एमालेसँग तालमेल गर्न पुगेको छ। प्रतिनिधिसभातर्फ एमालेले १७ र जसपाले ३५ सिट सघाउने भएका छन्। प्रदेशसभातर्फ एमालेलाई ७० र जसपालाई ४२ सिटमा तालमेल गर्ने सहमति भएको सहमतिपत्रमा उल्लेख छ। जसमध्ये जसपाले प्रदेश १ मा दुई, मधेसमा १४ र लुम्बिनीमा एक सिट पाएको हो।

  • सत्तारुढ गठबन्धनबाट बाहिरियो जसपा
  • एमालेसँग ५२ सिटमा तालमेल (एमाले ३५, जसपा १७)
  • गठबन्धनमा लोसपाको प्रवेश 
  • लोसपाले पायो ८ सिट, 
  • कांग्रेसको भागमा पर्‍यो ९०   
  • गठबन्धनबाट माओवादी ४५, एकीकृत समाजवादी २० र जनमोर्चालाई २ सिट 
  • एमालेले ३ ठाउँमा राप्रपालाई सघाउने 
  • मकवानपुरमा कमल थापालाई एमालेको समर्थन
  • देउवाविरुद्ध एमालेले उठाएन उम्मेदवार, मल्ललाई साथ
  • चितवनबाट गोरखा पुगे प्रचण्ड
  • टिकट नपाएपछि दलहरूमा चर्को असन्तुष्टि 
  • पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा
  • भुसालद्वारा एमाले परित्याग, रावल निर्णय लिँदै
  • शाक्यद्वारा टिकट अस्वीकार, विकल्प खोज्न ओलीलाई आग्रह 
  • सभामुख सापकोटाले पनि छाडे चुनावी मैदान  
  • डा. भट्टराई उठेनन्, छोरीलाई बनाए उम्मेदवार 

जसपाको बहिर्गमनसँगै मधेसकेन्द्रित अर्को दल लोसपा सत्तारुढ गठबन्धनमा पुगेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिनभर कांग्रेस र लोसपा नेताहरूबीच वार्ता चलेपछि सहमति भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सहमतिका क्रममा लोसपा नेता ।

जसअनुसार लोसपाले प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ। गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको छ। माओवादीले ४५, एकीकृत समाजवादीले २० र जनमोर्चाले २ सिट पाएका छन्। बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा भएको हो। सत्तारुढ दल कांग्रेस, माओवादीले उम्मेदवार चयन सकेका छैनन्। 

डडेलधुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध एमालेले उम्मेदवार उठाएको छैन। कांग्रेस छाडेर कांग्रेस बीपीमा गएका कर्ण मल्ल देउवासँग प्रतिस्पर्धामा उत्रिने भएका छन्। मल्ललाई एमालेले साथ दिएको छ।  

असन्तुष्टिपछि पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारी घोषणा

टिकट वितरणसँगै दलहरूमा व्यापक असन्तुष्टि देखिएको छ। एमाले नेता भीम रावल टिकट नपाएपछि आक्रोशित देखिएका छन्। स्थायी कमिटी सदस्य घनश्याम भुसालले त पार्टी ने परित्याग गरेका छन्। पार्टीमा नीति र विधिको पुनःथापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको भुसालले सामाजिक सञ्जाललमा लेखेका छन्।

‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि संघर्षमा लागेका सहयोद्धा र सहकर्मीहरूप्रति सदा मेरो ऐक्यबद्धता रहनेछ। राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु। कमरेडहरू ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै बिन्दुमा हामी पुनः भेट हुनेछौं।’

एमालेले यो पटक केही नयाँ अनुहारलाई उम्मेदवार बनाउने भएको छ।

पूर्वउपाध्यक्ष रावललाई टिकट नदिएको विरोधमा अछामका क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन्। शाहले पार्टी अध्यक्ष ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्।
अछाम जिल्ला इन्चार्ज झपट बोहराको उपस्थितिमा बसेको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रूपमा रावललाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको थियो। तर, एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेपछि नैतिकताको आधारमा राजीनामा दिएको शाहले बताएका छन्। उनले पत्रमा लेखेका छन्, ‘समन्वय कमिटीको सर्वसम्मत सिफारिसभन्दा अन्य निर्णय भएकाले समन्वय कमिटीको संयोजक पदमा बसिरहन मेरो नैतिकताले नमान्ने भएकाले आजैको मितिबाट क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको जानकारी साथ अनुरोध छ।’

प्रदेश १ अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा एमालेमा असन्तुष्टि देखिएको छ। २०७४ मा एमालेले जितेको उक्त क्षेत्र यसपटक जसपाको भागमा परेपछि एमालेमा विरोध भएको हो। निवर्तमान सांसद जयकुमार राई मात्रै उम्मेदवार सिफारिस भएका थिए। 
एमालेको मोरङ र सुर्खेतलगायत जिल्लामा असन्तुष्टि देखिएको छ। टिकट नपाएपछि निवर्तमान सांसद गंगा चौधरीले एमाले छोडेकी छन्। उनी २०६४, २०७० र २०७४ गरी तीनपटक समानुपातिकबाट सांसद बनेकी थिइन्। 

रावल र भुसालबाहेक १० बुँदे पक्षधरले पाए टिकट 

भीम रावल र घनश्याम भुसालबाहेक १० बुँदे सहमति गरी एमालेमै रहेका नेताहरूले टिकट पाएका छन्। माधवकुमार नेपालसँग नगएर १० बुँदे सहमति गरेर पार्टीमा बस्नेमध्ये रघुजी पन्त समानुपातिकतर्फ बन्दसूचीमा परेका छन्। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौं–८ बाट टिकट पाएकी छन्। तर, उनले पार्टीको टिकट अस्वीकार गरेकी छन्। अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर विकल्प खोज्न आग्रह गरेकी छन् । ‘फेरि यस्तो कुरा नगर्नुहोस्, मैले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेकी छु’, शाक्यले भनिन्, ‘विकल्प खोज्न पनि आग्रह गरेकी छु।’ 

उपाध्यक्ष युवराज ज्ञवालीले उम्मेदवार नहुने घोषणा गरेका छन्। अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन १ बाट टिकट पाएका छन्। त्यस्तै सचिव गोकर्ण विष्टले गुल्मी २,  निवर्तमान सचिव भीम आचार्यलाई सुनसरी २ बाट टिकट दिइएको छ। त्यस्तै झपट रावलले कैलाली २ बाट, ओखलढुंगाबाट यज्ञबहादुर सुनार र जाजरकोटबाट निरज आचार्यलागतलले टिकट पाएका छन्। 

ओलीनिकट जसले पाएनन् टिकट 

ओलीका विश्वासपात्र एव पूर्वमन्त्री पार्वत गुरुङ टिकटबाट वञ्चित भएका छन्। २०७४ को निर्वाचनमा दोलखाबाट गुरुङ भारी मतले विजयी भएका थिए। त्यस्तै एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले पनि टिकट पाएनन्। दुवै दोलखाका हुन्। गुरुङ र पोखरेलको  अन्तरद्वन्द्वमा त्यहाँ प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने भएको छ। गुरुङ र पोखरेल दुवै ओली निकट हुन्। 

मोरङ १ मा दाबेदारी गरिरहेकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेलाई एमालेले टिकट दिएन। उनी पनि ओली निकट हुन्। मोरङ १ मा एमाले निवर्तमान प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडालाई नै टिकट दिएको छ। ओली निकट खिमलाल भट्टराईले पनि यो पटक टिकट पाएनन्। रुपन्देही ५ बाट उनको एकल नाम सिफारिस भएको थियो। रामेछापबाट माधव ढुंगेलले पनि टिकट पाएनन्। उनी पनि ओली निकट हुन्। 

नयाँलाई टिकट 

एमालेले यो पटक केही नयाँ अनुहारलाई उम्मेदवार बनाउने भएको छ। अन्यायमा परेको भनिने गरिएका ठाकुर गैरेले पाल्पा २ बाट टिकट पाएका छन्। त्यस्तै प्यूठानबाट सूर्य थापाले टिकट पाएका छन्। उनी ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए। जाजरकोटबाट निरज आचार्य, बाँके १ बाट सूर्य ढकाल, गोरखा २ बाट अब्दुस मिया, मकवानपुर २ महेश बर्तौला, काठमाडौं १  किरण पौडेल, बझाङबाट ऐन महर मैदानमा उतारेको छ।   

  •   उम्मेदवारी दर्ता आज
  •     जसपा–एमाले र गठबन्धन–लोसपा तालमेल 
  •     अधिकांश दलद्वारा अन्तिम घडी टिकट वितरण
  •     टिकट पाउनेलाई हर्ष, नपाउनेहरू रुष्ट 
  •     कतिपय नेताद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारी घोषणा
  •     सभामुख सापकोटा नउठ्ने, शाक्यद्वारा टिकट अस्वीकार

राप्रपाका नेता कार्यकर्ताले केही जिल्लामा बिद्रोह गरेका छन्। डोटी, बाँके, डडेलधुरालगायत धेरै जिल्लामा असन्तुष्टि देखिएको छ। झापा ४ बाट उम्मेदवारी घोषणा गरेकी खुस्बु ओलीले टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेकी छन्।  

चितवनबाट गोरखा पुगे प्रचण्ड

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘सुरक्षित’ क्षेत्र खोज्दै गोरखा २ पुगेका छन्। उनी २०७४ को निर्वाचनमा  चितवन ३ बाट निर्वाचित भएका थिए। उनले त्यसअघि रोल्पा, काठमाडौं, सिरहाबाट यसभन्दा पहिले चुनाव लडेका थिए। चितवन ३ मा एमाले–राप्रपा गठबन्धनबाट पूर्वमन्त्री विक्रम पाण्डेले चुनाव लड्ने भएका छन्। नेपाल स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने पनि चितवन ३ मै उठ्ने तयारीमा छन्।   

एमाले–राप्रपा आंशिक तालमेल 

एमाले र राप्रपाले आंशिक मात्रै तालमेल गर्ने भएका छन्। झापा ३, रुपन्देही ३ र बाँके २ मा तालमेल गर्ने पाएका छन्। झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, बाँके २ मा महामन्त्री डा. धवलशमशेर राणा र रुपन्देही ३ बाट दीपक बोहरालगायत सीमित सिटमा मात्रै तालमेल हुने भएको हो। एमालेले मकवानपुर १ मा राप्रपा नेपाल अध्यक्ष कमल थापालाई समर्थन गर्ने जनाइएको छ। 

सभामुख सापकोटा नउठ्ने 
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा निर्वाचनमा उम्मदेवार नबन्ने घोषणा गरेका छन्। उनी २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित भएका थिए। उक्त क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता मोहनबहादुर बस्नेत र सापकोटा दुवैको दाबी थियो। बस्नेतले कुनै पनि हालतमा सापकोटालाई नछोड्ने बताउँदै आएका थिए। 

सिन्धुपाल्चोकमा दुर्ई क्षेत्र छन्। जसमा क्षेत्र नम्बर १ माओवादीकै भागमा पर्‍यो। बस्नेत क्षेत्र नम्बर २ मा लड्न तयार भए। तर, सभामुख सापकोटाले मनोनयन दर्ताको अघिल्लो दिन आफू उम्मेदवार नबन्ने जानकारी गराएका छन्। उक्त क्षेत्रबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटा उम्मेदवार हुने भएका छन्। सभामुख सापकोटाले पत्रकार सम्मेलन गरेर नै उम्मेदवार नहुने घोषणा गरे।  

‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरूले पुनः प्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु’, सभामुख सापकोटाले भने। 

सापकोटा २०६४ र २०७० सालमा संविधानसभामा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए। उम्मेदवार सिफारिस गर्दा माओवादीको जिल्ला कमिटीले सभामुख सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो।

‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा सिन्धुपाल्चोकका आदरणीय मतदाता एवम् जनसमुदायमा हार्दिक आभार व्यक्त गर्छु’, सभामुख सापकोटाले भने, ‘संघर्षशील पृष्ठभूमि, राजनीतिक पहलकदमीको सम्भाव्यता तथा जिम्मेवारीप्रतिको इमानदारिताका कारण पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता एवम् शुभचिन्तकहरूले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु। संसदीय भूमिका नरहे पनि म देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहनेछु।’

भट्टराई उठेनन्, छोरी उम्मेदवार 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ दुई सिट  पाएको छ। माओवादीबाट पाएको  काठमाडौं ७ र सर्लाही २ मा उक्त पार्टीका उम्मेदवारलाई टिकट दिइएको हो। काठमाडौं ७ मा मानुषी यमी भट्टराई उम्मेदवार हुने भएकी छन्। डा. भट्टराईले गोरखा २ मा प्रचण्डलाई समर्थन गरेपछि छोरी मानुषीलाई प्रचण्डकै प्रस्तावमा काठमाडौं ७ मा उम्मेदवार बनाइएको हो।

काठमाडौं ७ मा यसअघि पहिलो संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी निर्वाचित भएकी थिइन्। सोही क्षेत्रमा २०७० सालमा पराजित भएकी थिइन्। यस्तै सर्लाही २ बाट महिन्द्रराय यादवले टिकट पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.