कांग्रेस सहमहामन्त्री डीना र पूर्वमन्त्री खतिवडाले गराए उम्मेदवारी दर्ता
हेटौंडा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) ले उम्मेदवारी दिएकी छन्।
त्यस्तै क्षेत्र नम्बर-२ बाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता एवं पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।
गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १(क) मा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, १(ख) मा नेपाली कांग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराए।
त्यस्तै क्षेत्र नम्बर २(क) मा माओवादी केन्द्रकी कुमारी मोक्तान र २(ख) मा पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुले संयुक्तरुपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन गराएका हुन्।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गराइसकेको छ।