धौलागिरी बेसक्यम्प क्षेत्रबाट ट्रेकिङ गाइड लडेर बेपत्ता
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलका अन्दाजी २७ वर्षीय ट्रेकिङ गाइड बालकुमार कार्की धौलागिरी हिमालको बेसक्यम्पमा लडेर बेपत्ता भएका छन्।
फुल सिजनल माउन्टेन ट्रेक्स प्रालिबाट पदयात्रामा निस्किएका गाइड कार्की गत बिहीबार बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएका हुन्। विदेशी पर्यटक लिएर धौलागिरी क्षेत्रको पदयात्रा निस्किएका कार्कीको अवस्था अहिलेसम्म अज्ञात रहेको कम्पनीका म्योजिङ डाइरेक्टर वसन्त लिम्बुले बताए।
सो क्षेत्रमा हिमपात भइरहेकाले बेपत्ताको खोजीमा समस्या भएको छ। खोजीका लागि भोलि काठमाडौंबाट एक टोली घटनास्थलतर्फ प्रस्थान गर्ने कम्पनीले जनाएको छ। घटनाको विषयमा प्रहरीलाई कुनै आधिकारिक जानकारी नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिए।