कुन दलका कस्ता उम्मेदवार ?

कुन दलका कस्ता उम्मेदवार ?

काठमाडौं : नेताहरू प्रायः भाषण समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा उठाउँछन्। व्यवहारमा भने कार्यान्वयन गर्दैनन्। समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिरहेको छर्लंगै छ। प्रत्यक्षतर्फ पनि दलहरूका उम्मेदवार समावेशी देखिँदैनन्। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलित, महिला, आदिवासी जनजातिलगायतको उम्मेदवारी कम मात्रै परेको देखिन्छ। जति प्रतिनिधित्व हुनुपर्ने हो त्यति भएको देखिँदैन। कांग्रेसबाट दलित उम्मेदवार लगभग शून्यप्रायः देखिन्छ। 

मुख्य तीन दल एमाले, कांग्रेस, माओवादी केन्द्रले तीन क्लस्टरबाट कति उम्मेदवार उठाए भनेर अन्नपूर्ण पोस्ट्ले सरसर्ती अध्ययन गरेको छ। यसले उम्मेदवारीको अवस्था के रहेछ भनेर देखाउनेछ। दलिततर्फ एमालेले १, कांग्रेसले शून्य र माओवादीले १ एक जना उठाएको भेटिएको छ। महिलातर्फ एमालेले १२, कांग्रेसले ५ र माओवादीले ७ जनालाई चुनावी मैदानमा उतारेका छन्। जनजातितर्फ क्रमशः ३१, २० र १५ जनाको उम्मेदवारी परेको देखिन्छ। 

निर्वाचन आयोगको सोमबार साँझसम्मको अपडेटअनुसार प्रतिनिधिसभा र प्रदेशसभा गरी उम्मेदवारको संख्या ६ हजार २ पुगेको छ। तर, महिला उपस्थिति अति न्यून छ। प्रतिनिधिसभातर्फ २ हजार ५ सय २६ उम्मेदवारमध्ये पुरुष २ हजार २ सय ९१ र महिला २ सय ३५ जना छन्। प्रदेशसभातर्फ ३ हजार ४ सय ७६ उम्मेदवारमध्ये पुरुष ३ हजार १ सय ७८, महिला २ सय ९७ र अन्य १ जना छन्।

दलहरूले फौजदारी अभियोग लागेकादेखि भ्रष्टाचारका आरोपीसम्म थरीथरी उम्मेदवार बनाएका छन्। तर, पूर्ण समावेशी बनाउने विषयलाई वास्ता गरेको देखिँदैन। संविधानले नै राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने भनेको छ। तर, दलहरूले आइतबार दर्ता गराएको उम्मेदवारीमा न्यून छ। दलित, मुस्लिम, थारूको प्रतिनिधित्व पनि कम छ। 

माओवादी नेतृ एवं पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी सामाजिक संरचना, वर्गीय चरित्रका कारण समानुपतिक समावेशीता कार्यान्वयन गर्न गाह्रो परिरहेको बताउँछिन्। तर, संविधान मर्मअनुरूप कार्यान्वयन गर्नै पर्ने नेतृ सुवेदीको तर्क छ। 

‘अल्पसंख्यक, आदिवासी जनजाति, दलित, पिछडिएको वर्गले समान पहँुच र अधिकार संविधानको मर्मअनुसार पाउनुपर्छ। सामाजिक संरचनाले गर्दा अहिले महिलाभन्दा पुरुष बढी, अरू समुदायमा खस आर्य बढी देखिएको छ’, उनी भन्छिन्, ‘समानुपतिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता संविधानले नै गरेको छ। त्यसबाट कोही भाग्न सक्दैन। कार्यान्वयन हुनुपर्छ गर्नैपर्छ। संविधान कार्यान्वयन प्रक्रियामा छ र दलहरूलाई अलि गाह्रो भएको हो। तर, यो कार्यान्वयनमा आउँछ नै, आउनुपर्छ पनि।’ 

कांग्रेस नेतृ सुजाता परियारले तीनपटक पार्टीको केन्द्रीय सदस्य भए पनि आफूले टिकट नपाएको गुनासो गरेकी छन्। ‘मैले जितेर आउँछु संघ वा प्रदेश जुनको भए पनि टिकट दिनु होस् भनेँ। तर, दिइएन। म ३÷३ पटक केन्द्रीय सदस्य भएको मान्छेलाई टिकट दिइएन। अरूको त के कुरा ?’, नेतृ परियार भन्छिन्। भागबन्डाका नाममा कांग्रेसमा समावेशीता समानुपातिक लागू नभएको परियारको बुझाइको छ। संविधानको मर्म र भावनाविपरीत टिकट वितरण भएको उनी बताउँछिन्। 

संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ। नेताहरू संविधानकै मर्मअनुरुप समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा उठाउँछन्। तर, व्यवहार उस्तो देखिँदैन। समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिरहेको छर्लंगै छ। प्रत्यक्षतर्फ पनि दलहरूका उम्मेदवार पूर्ण समावेशी देखिँदैनन्। यसप्रति सरोकारवालाले चर्को आपत्ति जनाएका छन्।

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष नगेन्द्रकुमार कुमाल टिकट वितरणमा संविधानको मर्म र भावनाको उल्लंघन भएको बताउँछन्। ‘समावेशी ढंगले टिकट वितरण हुनुपर्ने हो। तर, दलहरूले संविधानको मर्म र भावना उल्लंघन गरेका छन्’, कांग्रेस नेता एवं संविधानसभा सदस्यसमेत रहेका कुमाल भन्छन्, ‘संविधानले सबै समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ। तर, दलहरूले आर्थिक चलखेल र पहुँचवालालाई मात्रै टिकट दिएका छन्।’ १ लाखभन्दा कम जनसंख्या भएका वर्गको प्रतिनिधित्व शून्य नै रहेको उनको भनाइ छ। 

एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ भने उम्मेदवारी सामान्यतः समावेशी नै भएको दाबी गर्छन्। ‘सामान्यतः समावेशी नै छ। लगभग मिलाएकै छौं’, नेता गुरुङ भन्छन्, ‘तर, जिल्ला तहमा अझै समावेशी बनाउन सकिन्थ्यो। त्यतातिर अलि ध्यान पुगेन। कहीँ–कहीँ जिल्लामा मिलेको छ। कहीँ–कहीँ अलि मिलेको छैन।’

एमालेकै नेता गोकुल घर्ती नेपालमा समानुपातिक समावेशीता अभ्यासमा रहेकाले आदिवासी जनजातिको प्रतिनिधित्व विस्तारै बढ्दै गएको बताउँछन्। समग्रमा प्रतिनिधित्व जनसंख्याको आधारमा हुनुपर्ने उनको धारणा छ। 
‘नेपालमा समानुपातिक समावेशीता अभ्यास भर्खरै सुरुवात भएको छ। एमालेको हकमा ३१ जना प्रत्यक्षमा उम्मेदवार छन्। यसलाई मैले सन्तोषजनक नै मानेको छु’, घर्ती भन्छन्, ‘प्रतिनिधित्व जनसंख्याको आधारमा हुनुपर्छ। जसमा चित्त नबुझ्न पनि सक्छ। तर, अभ्यासमै भएकाले सकारात्मक रूपमा नै लिनुपर्छ।’

अपराधमा मुछिएकाहरू पनि उम्मेदवार 

यसपटक निर्वाचनमा अपराधमा मुछिएकाहरूले पनि टिकट पाएका छन्। ललिता निवास जग्गा अतिक्रमणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट उठेका छन्। उनले २०४८ सालदेखि त्यो निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै आएका छन्। 

सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार प्रकरणमा मुद्दा खेपिरहेका राप्रपा नेता विक्रम पाण्डेले चितवन ३ बाट उम्मेदवारी दिएका छन्। उनको मुद्दा विशेष अदालतमा विचाराधीन छ। 
कैलालीको टीकापुर काण्डमा मुछिएर जेल जीवन बिताइरहेका रेशम चौधरीले बर्दिया २ बाट उम्मेदवारी दिएका छन्। यही काण्डमा मुछिएका लक्ष्मण थारूले पनि कैलाली ५ बाट रेशमकै पार्टीबाट उम्मेदावरी दिएका छन्। 

भृकुटीमण्डप जग्गा भाडा काण्डमा मुछिएका टेकप्रसाद गुरुङलाई कांग्रेसले मनाङबाट टिकट दिएको छ। मधेस आन्दोलनका क्रममा प्रहरी सहायक निरीक्षक थमन विक हत्यामा संलग्न लक्ष्मी महतोलाई महोत्तरी १ बाट एमालेले टिकट दिएको छ। त्यस्तै भ्रष्टाचारमा मुछिएका गोबिन्दराज जोशीले तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

जनजाति प्रतिनिधित्व कति ?

आदिवासी जनजातिको प्रतिनिधित्व भनेजस्तो सन्तोषजनक छैन। तापनि समग्रमा ठूलो दलमा अन्यको तुलनामा उल्लेख्य देखिन्छ। प्रतिनिधिसभामा एमालेबाट ३१, कांग्रेसबाट २० र माओवादीबाट १५ जनजाति उम्मेदवार छन्। 

एमाले उपाध्यक्ष सुवास नेम्बाङ इलाम २, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ, स्थायी समिति सदस्य विजय सुब्बा तेह्थुम, प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुर, युवा नेता यज्ञबहादुर सुनार ओखलढुंगा, राजेन्द्र राई धनकुटा, बसन्त नेम्बाङ पाँचथरबाट उम्मेदवार बनेका छन्। कांग्रेसउपसभापति धनराज गुरुङले स्याङजा २, सहमहान्त्री भीष्मराज आङदेम्बे पाँचथर, नेताहरू प्रकाशमान सिंह काठमाडौं १, विजयकुमार गच्छदार सुनसरी ३, भीमसेनदास प्रधान काठमाडौं ६, उमेश श्रेष्ठ चितवन २, सीता गुरुङ तेह्रथुम, उमाकान्त चौधरी बारा १, तेजुलाल चौधरी सप्तरी ४ बाट उठेका छन्। 

माओवादी महासचिव देव गुरुङ लमजुङ, पूर्वसभामुख अनसरी घर्ती काठमाडौं २, उपमहासचिव वर्षमान पुन रोल्पा, सुदन किराती भोजपुरबाट उठेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा ३ मा उठेका छन् । जसपा नेता अशोक राई सुनसरी १, एकीकृत समाजवादीका कृष्णलाल महर्जन ललिपुर २ मा उठेका छन्। गुल्मी २ मा रामकुमारी झाँक्री, डोटीमा प्रेमबहादुर आले र बारा ४ मा किसान श्रेष्ठलगायतको उम्मेदवारी परेको छ। 

ठूला दलबाट २ दलित उम्मेदवार

ठूला पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ दलित उम्मेदवार जम्मा २ जना मात्रै छन्। एमालेले रूपन्देही १ मा छविलाल विश्वकर्मालाई चुनावमा उतारेको छ। एमाले परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा उही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७४ सालमा उक्त क्षेत्रबाट विश्वकर्मा नै विजयी भएका थिए। 

माओवादी केन्द्रले बाँके १ मा महेश्वरजंग गहतराज ‘अर्थक’ लाई उम्मेदवार बनाएको छ। युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गहतराजले २०७४ मा पनि चुनाव जितेका थिए। त्यहाँ एमालेका सूर्यप्रसाद ढकाल उम्मेदवार छन्।

कांग्रेसले त एक जना पनि दलित उम्मेदवार दिन सकेको छैन। ठूला दलले दलितलाई स्थान दिन नसकेको भन्दै आलोचना हुँदै आएको छ। 

को–को छन् महिला ?

प्रतिनिधिसभाका १ सय ६५ सिटमा सत्तारुढ गठबन्धन र एमाले–जसपा गठबन्धनबाट २६ महिलाले टिकट पाएका छन्। एमालेले सबैभन्दा धेरै १२ जना उठाएको छ। एमाले सचिव पद्माकुमारी अर्यालले स्याङ्जा २ मा उठेकी छन्। अर्यालसँग कांग्रेस उपसभापति धनराज गुरुङ चुनाव लड्दै छन्। 

०७४ मा झिनो मतले पराजित भगवती चौधरीले सुनसरी ३ मै उम्मेदवार बनेकी छन्। उनको प्रतिस्पर्धा विगतदेखि नै कांग्रेस नेता विजयकुमार गच्छदारसँग हुँदै आएको छ।  विद्या भट्टराई कास्की २ मा उठेकी छन्। पति रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमार्फत उनी निर्वाचित भएकी थिइन्। उनको मुख्य प्रतिस्पर्धा एकीकृत समाजवादीका श्रीनाथ बरालसँग हुँदैछ। एमालेकै शान्ता चौधरी दाङ १ मा उम्मेदवार बनेकी छन्। उनको प्रतिस्पर्धा पुराना सहकर्मी एवं एकीकृत समाजवादी नेता मेटमणि चौधरीसँग हुँदै छ।

कोमल वलीको चुनावी भिडन्त दाङ ३ मा कांग्रेसका नेता दीपक गिरीसँग हुँदै छ। नीरुदेवी पालले कञ्चनपुर ३ बाट उम्मेदवारी दिएकी छन्। त्यहाँ कांग्रेस नेता रमेश लेखक प्रतिस्पर्धी छन्। मञ्जु शर्मा चालिसेले बागलुङ २ बाट उम्मेदवारी दिएकी छन्। उक्त क्षेत्रमा सत्तागठबन्धबाट माओवादी नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेल उम्मेदवार छन्। 

जुलीकुमारी महतो धनुषा ३ बाट उठेकी छन्। उनले २०७० सालको चुनाव जितेकी थिइन्। २०७४ मा समानुपातिक सांसद बनिन्। उनको प्रतिस्पर्धा लोसपा नेता अनिलकुमार झासँग हुँदै छ। ज्वालाकुमारी साह बारा ३ मा उठेकी छन्। जसपाका रामबाबु कुमार यादव, लोसपाका लालबाबु सिंह भुइहार पनि त्यहाँ चुनावी मैदानमा उत्रिएका छन्। एमालेले डोटीमा गौरी वलीलाई उठाएको छ। उक्त क्षेत्रमा एकीकृत समाजवादी नेता प्रेमकुमार आले उम्मेदवार छन्। पूर्वसहकर्मीहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो। 

०७४ मा कांग्रेस नेता डा. नारायण खड्कासँग पराजित भएकी मञ्जुकुमारी चौधरीले एमालेबाट उदयपुर १ मै उम्मेदवारी दिएकी छन्। एमालेले कांग्रेस नेता एवं उद्योगी विनोद चौधरीविरुद्ध महिलालाई प्रतिस्पर्धामा उतारेको छ। सिन्धु जलेशा बुढाथोकीलाई नवलपरासी पश्चिम १ बाट उम्मेदवार बनाइएको हो।

कांग्रेसबाट पाँच महिला प्रतिस्पर्धामा छन्। ९० स्थानमा उम्मेदवारी दिएको कांग्रेसले सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई मकवानपुर १ मा उठाएको छ। उपाध्यायले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। थापालाई एमालेको समर्थन छ। केन्द्रीय सदस्य सीता गुरुङले तेह्रथुमबाट उम्मेदवारी दिएकी छन्। त्यहाँ एमालेले विजय सुब्बालाई उम्मेदवार बनाएको छ।

निवर्तमान उपसभामुख पुष्पा भुसाल अर्घाखाँचीबाट उठेकी छन्। उनको प्रतिस्पर्धा एमाले सचिव टोपबहादुर रायमाझीसँग हुँदै छ। सुजाता कोइराला मोरङ २ मा उठेकी छन्। अघिल्लो निर्वाचनमा विजयी नेता डा. मीनेन्द्र रिजाललाई पन्छाएर कोइरालालाई टिकट दिइएको हो। उनको प्रतिस्पर्धा एमालेका ऋषिकेश पोखरेलसँग हुने भएको छ। पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सिरहा २ मा उम्मेदवारी दिएकी छन्। उनको प्रतिस्पर्धा एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता राजकिशोर यादवसँग हुँदैछ। 

माओवादी केन्द्रले ७ महिलालाई चुनावी मैदानमा उतारेको छ। उपमहासचिव एवम् ऊर्जामन्त्री पुम्फा भुसाल ललितपुर ३ मा उठेकी छन्। उनी २०७४ मा उही क्षेत्रबाट एमालेसँगको गठबन्धनबाट निर्वाचित भएकी थिइन्। यसपटक एमालेका अमृत खड्कासँग उनको प्रतिस्पर्धा हँुदै छ। पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं २ रोजेकी छन्। घर्तीसँग एमालेका मणिराम फुँयालको प्रतिस्पर्धा हँुदै छ। डा. बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराईले काठमाडौं ७ मा उम्मेदवारी दिएकी छन्। पोलिटब्युरो सदस्य कल्पना धमला काठमाडौं ९ मा उठेकी छन्। उनको प्रतिस्पर्धा एमाले नेता कृष्णगोपाल श्रेष्ठसँग हुँदै छ। माओवादीबाट दाङ २ मा रेखा शर्माको उम्मेदवारी परेको छ। उनको प्रतिस्पर्धा एमाले महासचिव शंकर पोखरेलसँग हुँदैछ।

०७४ को चुनाव जितेकी बिना मगर यसपटक पनि कञ्चनपुर १ मै उठेकी छन्। जुम्लामा गोमा कुँवरलाई उम्मेदवार बनाइएको छ। एमालेका रतन योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग उनको प्रतिस्पर्धा हुँदै छ। 
सत्ता घटक एकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी २ मा उम्मेदवारी दिएकी छन्। एमालेले उक्त क्षेत्रमा सचिव गोकर्ण विष्टलाई उतारेको छ। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्यूठानमा उम्मेदवारी दिएकी छन्। २०७४ मा पौडेल वामगठबन्धन उम्मेदवार भई विजय भएकी थिइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले दैलेख १ बाट उम्मेदवारी दिएकी छन्। रेखा थापाले मोरङ ३ मा उम्मेदवारी दिएकी छन्। उक्त क्षेत्रमा कांग्रेसबाट व्यवसायी सुनील शर्मा र एमालेबाट भानुभक्त ढकाल उम्मेदवार छन्। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाली १ मा उम्मेदवारी दिएकी छन्। उनी टीकापुर घटनामा दोषी ठहर भई हाल जेलमा रहेका रेशम चौधरीकी श्रीमती हुन्। ०७४ मा चौधरी यही क्षेत्रबाट निर्वाचित भएका थिए। ०७४ मा काठमाडौं महानगरपालिका प्रमुखको निर्वाचनमा लोकप्रिय मत पाएकी रञ्जु दर्शनाले यसपटक काठमाडौं–५ मा स्वतन्त्र उम्मेदवारी दिएकी छन्। जसपा र लोसपाले प्रतिनिधिसभा सदस्यमा महिला उम्मेदवार दिएका छैनन्। 

सामाजिक संरचनाले गर्दा अहिले महिलाभन्दा पुरुष बढी, अरू समुदायमा खसआर्य बढी देखिएको छ। समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता संविधानले नै गरेको छ। त्यसबाट कोही भाग्न सक्दैन। कार्यान्वयन हुनुपर्छ, गर्नै पर्छ। 
पूर्णाकुमारी सुवेदी, पूर्वउपसभामुख

म जितेर आउँछु संघ वा प्रदेश जुनको भए पनि टिकट दिनुहोस् भनेँ। तर, दिइएन। केन्द्रीय सदस्य भएको मान्छेलाई टिकट दिइएन। अरूको त के कुरा ?
सुजाता परियार, कांग्रेस केन्द्रीय सदस्य


पाहुना उम्मेदवार 

माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र चितवन ३ छाडेर गोरखा पुगेका छन्। उनी यसपटक गोरखा २ मा उम्मेदवार बनेका हुन्। उक्त क्षेत्रबाट अघिल्लो निर्वाचनमा तत्कालीन नयाँ शक्ति नेपालबाट डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए। 

पूर्वप्रधानमन्त्री दाहाल धेरै क्षेत्र फेरेर उम्मेदवार दिनेमध्ये पर्छन्। उनले रोल्पा, काठमाडौं, सिरहामा उनले चुनाव लडेका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा उनले काठमाडौं १० र रोल्पा २ मा उम्मेदवारी दिएका थिए। त्यसबेला उनी दुवै क्षेत्रमा विजयी भए। पछि उनले रोल्पा छाडेर काठमाडौं १० रोजेका थिए।  २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिराहा ५ रोजे। काठमाडौंमा दोहोर्‍याउँदा कांग्रेसका राजन केसीसँग पराजित भए। सिरहामा झिनो मतान्तरले जिते।

गोरखामा मनोनयन दर्ता गराउँदै प्रचण्डले भने ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेसमा सिरहा र चितवनबाट निर्वाचन लडेको छु। यसरी देशको पूर्व–पश्चिम, मधेस–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ।’ प्रचण्डसँग एमालेका युवा नेता अब्दुस मियाँबीच यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुँदै छ। 

एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट बारामा उम्मेदवार बनेका हुन्। उनको गृहजिल्ला तनहँु हो। उनले २०७४ मा एमालेबाट कांग्रेस नेता रामचन्द्र पौडेललाई तनहुँ १ मा पराजित गरेका थिए। यो पटक पौडेललाई नै तनहुँ १ छाडेर उनी बारा ४ मा गएका हुन्। एमाले फुटेपछि उनी अर्को पार्टीमा लागेका हुन्। 

कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं ५ मा उम्मेदवार बनेका छन्। तनहुँ २ बाट सिफारिसमा परेका पौडेल मनोनयन दर्ता गर्ने दिन मात्रै काठमाडौं ५ मा उनको टिकट फिक्स भएको हो। 

पौडेल संस्थापन पक्षमा कांग्रेस महामन्त्रीमा उठेका थिए। तर, गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका थिए। अर्का युवा नेता नैनसिंह महरको टिकट खोसेर पौडेललाई दिइएको छ। यो क्षेत्रमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको चर्चा थियो। काठमाडौं ५मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पौडेलको भिडन्त हुने भएको छ।

कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री वीरबहादुर बलायर डोटीबाट एकल सिफारिस भएका थिए। डोटीमा स्थानीय तहमा कांग्रेसको एकछत्र थियो। कांग्रेसले उम्मेदवार पाउनुपर्ने भन्ने रस्काकस्सी नै चल्यो। तर, त्यो सिट एकीकृत समाजवादीको भागमा पर्‍यो। त्यसपछि बलायर पाहुना उम्मेदवारका रूपमा कैलाली झरेका छन्। डोटीबाट एकीकृत समाजवादी नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आले उम्मेदवार बनेका छन्। बलायरले कैलाली ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। बलायरको मुख्य प्रतिस्पर्धा एमाले सचिव लेखराज भट्टसँग हुने देखिएको छ। 

लोकतान्त्रिक समाजवादीका नेता अनिलकुमार झा पनि पाहुना उम्मेदवार बनेर धनुषा ३ पुगेका छन्। नेता झा अघिल्लो निर्वाचनमा रौतहट १ बाट उम्मेदवार भई निर्वाचित भएका थिए। लोसपाकै नेता राजेन्द्र महतोले २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए। महतो गृह जिल्ला सर्लाही २ पुगेका छन्। झाको प्रतिस्पर्धा एमाले नेतृ प्रतिस्पर्धा एमाले नेतृ जुलीकुमारी महतोसँग हुँदैछ। 

माओवादी केन्द्रकी नेतृ एव पूर्वसभामुख ओनसरी घर्ती पाहुना उम्मेदवारका रूपमा काठमाडौं २ बाट चुनाव लड्दै छिन्। रोल्पाकी घर्ती २०७४ सालमा समानुपातिकबाट सांसद भएकी थिइन्। २०७० सालमा भने रोल्पाबाट निर्वाचित भएकी थिइन्।

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर गृह जिल्ला बर्दिया छोडेर बाँके ३ बाट चुनाव लड्दै छन्। गृहक्षेत्र बर्दिया २ गठबन्धनमा माओवादी केन्द्रको भाग परेपछि राठौरले बाँके ३ रोजेका हुन्। बाँके ३ बाट २०७४ निर्वाचनमा एमालेका नन्दलाल रोकाय निर्वाचित भएका थिए। यसपटक राठौंरसँग एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रतिस्पर्धा हुँदैछ। 

सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछाने चितवन पुगेका छन्। उनले चितवन २ बाट नेपाल स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.