डोल्पामा ७ दिनदेखि अलपत्र परेका पथप्रर्दशक सम्पर्कमा, ५ जना अझै सम्पर्कबाहिर
जोमसोम : उपल्लो डोल्पामा ७ दिन अघिदेखि अलपत्र परेका विदेशी पर्यटकका एकजना पथप्रर्दशक मंगलबार साँझ मुस्ताङ प्रशासनको सम्पर्कमा आएका छन् । उपल्लो डोल्पाको याकखर्क र नेउलापासबीचमा अलपत्र विदेशी पर्यटक र अरु साथीलाई त्यही छोडेर उनी एक्लै दुईदिन पैदल हिंडेर सम्पर्कमा आएका हुन् ।
फ्रन्ट ट्रेक ट्रेकिङ कम्पनी मार्फत मलेसियन र सिंगापुरका दुई विदेशी पर्यटकसहित ६ जनाको नेपाली टोली दसैंअघि उपल्लो डोल्पा पुगेको थियो । दुई विदेशी, एक जना कुक र दुई जना किचन ब्वाइ गरी ६ जनाको टोली मध्ये ५ जनालाई नेउलापासमै छोडेर आफू एक्लै हिंडेर मुस्ताङ र डोल्पाको सीमाना शान्ताबाट आइपुगेको फन्ट ट्रेक ट्रेकिङ कम्पनीका पथप्रर्दशक साग्री भोटे गुरुङले टेलिफोनमा जानकारी दिए ।
पथप्रर्दशक साग्री भोटे गुरुङले उपल्लो डोल्पा जाँदा अड्कलेर लगेको खर्चपानी सकिएकाले उनीहरुलाई रेस्क्यू गर्न सञ्चार सम्पर्क भएको स्थानबाट प्रशासनलाई जानकारी गराएको बताए ।‘प्रशासनलाई र फ्रन्ट ट्रेक कम्पनीलाई हेली रेस्क्युको आग्रह गरेका छौं', उनले भने,‘बुधबार कैलाश एअरको हेलीबाट उद्दार गर्ने योजना तय भएको छ ।’