थापा र उपाध्यायको रोचक प्रतिस्पर्धा
हेटौंडा : राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गराएका तर चुनाव नफापेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना मकवानपुर क्षेत्र नम्बर–१ बाट
प्रतिस्पर्धा गर्दैै छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट डीना र नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लड्न तयार भएका थापाबीच हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। पटक–पटक एमालेसँगै पराजित भएको क्षेत्रमा एमालेकै रामेश्वर रानालाई पछि पारेर उम्मेदवार बनेका थापा र क्षेत्र नम्बर–२ बाट तीनपटक हार व्यहोरेर क्षेत्र नम्बर–१ रोजेकी डीनाबीचको प्रतिस्पर्धालाई रोचक मानिएको छ। थापा पहिलोपटक २०३८ सालमा उम्मेदवार बने। पहिलो गाँसमै ढुंगा भनेझैं तत्कालीन पञ्चायती व्यवस्थाको पक्षधर उनी रूपचन्द्र विष्टसँग पराजित भए।
२०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचनमा भने उनले ओमा टेम्पो लामालाई पराजित गरे। त्यतिबेला विरोध खतिवडा पनि उनीसँगै पराजित भएका थिए। २०४३ को चुनाव जितेसँगै थापा २०४५ कात्तिक २२ गते सूचना तथा सञ्चार राज्यमन्त्री भए। उनले मकवानपुरबाट मन्त्री बन्नेको सूचीमा तेस्रो स्थानमा नाम दर्ज गरे।
उनी भन्दा अघि मकवानपुरबाट २०१५ को संसदीय चुनाव जितेका विश्वबन्धु थापा र २०३८ मा तिलकबहादुर नेगी मन्त्री भइसकेका थिए। पञ्चायती व्यवस्थापछि २०४८ सालमा मकवानपुर क्षेत्र नम्बर–१ बाट चुनाव लडेका थापा नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए। थापा दाहालसँग तीनपटक पराजित भइसकेका छन्। २०५१ सालमा मकवानपुरको १ र ३ दुवै क्षेत्रमा उम्मेदवार बनेका उनले १ मा एमालेका दाहाललाई जिते पनि ३ मा भने पराजय व्यहोरे।
त्यस्तै, २०५६ मा १ र ३ मा उठेका उनी दुवै क्षेत्रमा पराजित भए। २०६४ मा काठमाडौं ५ र मकवानपुर ३ मा चुनाव लडेका उनले दुवै क्षेत्रमा चुनाव हारे। २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएका थापा २०७४ मा कांग्रेसका इन्द्रबहादुर बानियाँलाई प्रदेशसभामा पठाएर कांग्रेसकै समर्थनमा चुनाव लडेका थिए। तर, एमालेका दाहाल ४० हजार ६ सय ३१ मतका साथ विजयी हुँदा उनले ३४ हजार ६ सय ५८ मत मात्रै पाए।
२०४८ सालको चुनाव डीनाको पहिलो चुनावी अनुभव थियो। तत्कालीन समयमा मकवानपुरमा ३ क्षेत्र थियो। उनी २ नम्बर क्षेत्रमा एमालेका विरोध खतिवडासँग पराजित भएकी थिइन्। उनीसँग रूपचन्द्र विष्टसहित ८ जना चुनावी प्रतिस्पर्धामा थिए। तर, विरोधले बाजी मारे।
२०५१ को चुनावमा डीनाले पुनः पराजय व्यहोरिन्। त्यतिबेला कांग्रेसकै नेता विश्वराज उप्रेती बागी उम्मेदवारका रुपमा उठेका थिए। डीनाले त्यसबेला पनि विरोधसँगै पराजय व्यहोर्नुपर्यो। २०५६ मा चुनाव नलडेकी डीना २०६४ र २०७० मा समानुपतिक सांसद् भइन्। समानुपातिक सांसद् भएसँगै जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको राज्यमन्त्री भइन्। त्यस्तै २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रसमेतको सहयोगमा चुनाव लडेका खतिवडाले डीनालाई १२ हजारभन्दा बढी भोटले सोही क्षेत्रबाट पराजित गरे।
तीनै पटकको प्रतिस्पर्धामा पराजय मात्रै व्यहोरेकी डीनाले यसपटक भने निर्वाचन क्षेत्र परिवर्तन गरेकी छिन्। यो उनको चौथो प्रतिस्पर्धा हुनेछ।
१६ प्रतिस्पर्धी
मकवानपुर क्षेत्र नम्बर १ मा डीना र थापाबाहेक १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १४ मध्ये २ जना स्वतन्त्र उम्मेदवार छन्।
राप्रपाका दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापा, मौलिक जरोकिलो पार्टीका संगीन श्रेष्ठ, नेपाली कांग्रेस (बीपी) का सुरेन्द्र भट्टराई, मंगोल नेसनल पार्टीबाट युवराज लामा, सचेत नेपाली पार्टीका पञ्चलाल तामाङ, नेकपा मालेका कृष्णप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका रूपक लामा, नेमकिपाका शान्तलाल भैल, हाम्रो नेपाली पार्टीका दीपेन्द्रचन्द ठकुरी, जनता समाजवादी पार्टीका इन्द्रमान थिङ, जनसमाजवादी पार्टीका मनबहादुर दाहालले मनोनयन दर्ता गराएका हुन्। सुवास पौडेल र आइतराम तामाङले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।