मुस्ताङमा राप्रपा र स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी फिर्ता
मुस्ताङ : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङबाट ४ जना उम्मेदवारले बुधबार नाम फिर्ता लिएका छन् । राप्रपाका दुई र स्वतन्त्रका दुई गरी ४ जना उम्मेदवारले नाम फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।
एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचनक्षेत्र रहेको मुस्ताङमा बुधबार दिउँसो १ बजेसम्ममा चार जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए ।
यसैगरी प्रदेश ‘ख’ तर्फ अहिलेसम्म राप्रापका उम्मेदवार जेम्स हिराचनले मात्र नाम फिर्ता लिएका छन् । प्रदेश 'क' तर्फ एमालबोट ईन्द्रधारा बिष्ट र गठबन्धनबाट नम्डु गुरुङको उम्मेदवारी परेको थियो । प्रदेश 'ख' मा एमालेबाट चन्द्रमोहन गौचन, गठबन्धनबाट विकल शेरचन, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी फिर्ता लिएका राप्रपाका प्रतिनिधि सभा उम्मेदवार मानबहादुर विकले स्थानीय स्तरको राजनीतिक सहमतीपछि एमालेलाई समर्थन गर्दै नाम फिर्ता लिएको बताए । प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार डा. सुरेन्द्र शेरचनले आफू बामपन्थी बटनलाईन भएको र जिल्लाको समग्र राजनीतिक कन्टेनलाई आत्मसाथ गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उनले उम्मेदवारी फिर्ता लिनुअघि प्रेस विज्ञप्ति जारी गरेका थिए ।
यसैगरी प्रतिनिधि सभाका अर्का स्वतन्त्र उम्मेदवार सुरज लालचनले उम्मेदवार फिर्ता लिनुपर्नुको कारण बताउँन चाहेनन् । योसँगै मुस्ताङमा प्रतिनिधि सभातर्फ ४ जना र प्रदेश 'क' र 'ख' मा गरी ५ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।