निष्ठा हराएको राजनीति

निष्ठा हराएको राजनीति

राजनीति भनेको देशको सेवा गर्ने सबैभन्दा उत्तम माध्यम हो। राजनीतिका माध्यमबाट सत्तामा पुग्न र देशलाई सही बाटोमा डोर्‍याउन सकिन्छ। विकास र निर्माणका काम गर्न सकिन्छ। सामाजिक न्याय स्थापना गर्न सकिन्छ। राज्यका स्रोत र साधनको सही सदुपयोग गरी राष्ट्रहित, जनहितमा लगाउन सकिन्छ। जनताको जीवनस्तर उकास्न सकिन्छ। देशको मान प्रतिष्ठा बढाउने काम गर्न सकिन्छ। के आजको राजनीति यस्तै छ त ? जवाफ सकारात्मक पाइँदैन। किनभने आजको दिनमा राजनीतिमा लाग्ने र सत्ताको अवसर प्राप्त गर्नेहरू सेवाभावभन्दा धेरै व्यक्तिगत स्वार्थबाट प्रेरित छन्।

जतिबेला देशमा बोल्ने स्वतन्त्रतासमेत थिएन, त्यसबेला ज्यान र जायजेथाको समेत पर्वाह नगरी मानिस प्रजातन्त्र ल्याउने राजनीतिमा लागेका थिए। जनतालाई कसरी अधिकार सम्पन्न गराउन सकिन्छ र देशको आर्थिक उन्नतिका लागि नीति निर्माण गर्ने व्यवस्था ल्याउन सकिन्छ भनेर राजनीतिमा लाग्नेहरूको स्वार्थ जनहित र राष्ट्रहितबाहेक केही थिएन भन्दा हुन्छ। त्यसरी प्रजातन्त्रका लागि मरिमेट्दा धेरैको ज्यानै गयो। जेलनेल परे। अंगभंग भए। अझ माओवादी सशस्त्र संघर्षका बेला थुप्रैजना बेपत्ता पनि भए। निहत्था नागरिकले पनि अनाहकमा ज्यान गुमाए। तिनै बलिदान, त्याग र संघर्षले आजको लोकतन्त्र प्राप्त भएको हो।

राजनीतिमा शीर्ष नेताको वरिपरि घुमिरहने गणेश प्रवृत्ति हाबी भयो। जनताका घर आँगन टेक्ने र थर्कटी बस्नेहरूका लागि चुनावमा उम्मेदवारको टिकट आकाशको फल बन्यो।

तर, जो सहिद भए, जो घाइते भए, जो बेपत्ता भए र जो जेलनेल परे, जसको सर्वस्वहरण भयो, आज उनीहरूको सपना चकनाचुर बनाउने दिशामा राजनीति अघि बढिरहेको छ। राजनीतिको सबैभन्दा विकृति यसबेला झन् बढी गाढा देखिएको छ। सबैजसो प्रमुख दलले आउँदो मंसिर ४ गते हुने प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचनका लागि बनाएका उम्मेदवारले राजनीतिमाथि थप वितृष्णा जगाउन मद्दत गरेको छ। दलका शीर्ष नेताले उम्मेदवारको टिकट मुठी लिएर सबैभन्दा पहिला नै लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गरे। दलका समितिहरूमा छलफल, बहस उम्मेदवारका बारेमा भएन। उम्मेदवारका लागि कुनै मापदण्ड र योग्यता तोकिएन। तल्ला समितिहरूको सिफारिस के आधारमा भयो, जनाधार के कस्तो छ, पार्टी/राजनीतिमा योगदान कति छ, सामाजिक छवि कस्तो छ ? भन्ने केही हेरिएन।

केवल शीर्ष नेतृत्वहरूले आफ्नो मुठी आफ्नै नातागोता, आफन्त, परिवारका सदस्य, आफूसँग साखिल्यहरूलाई उम्मेदवारको टिकट बाँडे। जसले धेरै पैसा दिन्छ, जोसँग दादागिरी गर्ने बाहुबली शक्ति छ, उसैको भागमा टिकट परेको छ। शीर्ष नेताहरूसँग जो जसको पहुँच पुग्यो, त्यस्तै त्यस्तैले टिकट पाएका छन्। राजनीतिमा शीर्ष नेताको वरिपरि घुमिरहने गणेश प्रवृत्ति हाबी भयो। जनताका घर आँगन टेक्ने र थर्कटी बस्नेहरूका लागि चुनावमा उम्मेदवारको टिकट आकाशको फल बन्यो। राजनीतिमा सिद्धान्त, विचार, आदर्श र निष्ठा भएन भने त्यो असल राजनीति हुँदैन। प्रजातान्त्रिक आचार विचार र जनताको सेवालाई सर्वाेपरि मानेर जुनसुकै पार्टीमा अहोरात्र खटिएकाहरूलाई घोर अपमान गर्ने काम चुनावका उम्मेदवारहरूको सूचीले गरेको छ। जसले पटकपटक अवसर पाएका छन्, तिनैतिनै समानुपातिक सूचीमा पनि परेका छन्, प्रत्यक्ष निर्वाचनका लागि पनि पुराना र बासी अनुहारै बेसी छन्।

यो सबै कर्मकाण्ड भनेको नयाँलाई निषेध गर्दै पहुँचवालालाई अवसर दिनु नै हो। यसले जनताको सेवाभन्दा पनि व्यक्तिगत लाभहानिमा लाग्नेहरू नै राजनीतिमा हावी भएका छन्। दलहरू कतिसम्म निकम्मा देखिए भने उनीहरूलाई अपराधको आरोप लागेकालाई टिकट दिन लाज लागेको छैन। बैंकिङ कसुर, हत्या, बलात्कार र भ्रष्टाचारजस्ता जघन्य अपराधका आरोपित र अभियुक्तलाई बिनाहिच्किचाहट उम्मेदवार बनाएका छन्। तर, निष्ठापूर्ण राजनीति गरिरहेका कार्यकर्तालाई पूरापूर उपेक्षा गर्दै तिनीहरूको घोर अपमान गरेका छन्। यसरी राजनीतिलाई निष्ठाविहीन, आदर्शविहीन, सिद्धान्तविहीन र विचारविहीन बनाउने कर्म लोकतन्त्रका लागि सर्वथा घातक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.