सम्भव छ सामान्य प्रसव

सम्भव छ सामान्य प्रसव

गृहिणी रीताको (नाम परिवर्तन) सानै उमेरमा विवाह भयो। उनले २६ वर्षमै तेस्रो सन्तानलाई जन्म दिइन्। पहिलो पटक घरमै प्रसव गरेकी सुनितालाई दोस्रो पटक भने लामो समय (दुई दिन) व्यथा लाग्यो। तर पनि सन्तान नजन्मेपछि अस्पताल ल्याइयो। अस्पतालमा उनको परीक्षण गरियो। शिशु निस्कन सकेन। बच्चाको टुटुल्को (क्यापुट) बनेको थियो र उसको ढुकढुकी पनि कम भइसकेको थियो। चिकित्सकले तुरुन्त शल्यक्रिया (सिजर) गरेर शिशु निकाले।

आमा र शिशु दुवैलाई केही दिनको अस्पताल बसाइपछि घर पठाइयो। सिजरियन गरेको चार वर्ष नपुग्दै उनी पुनः गर्भवती भइन्। दोस्रो पटक प्रसवमा निकै पीडा भएर पनि होला, यसपटक उनले गर्भको नियमित परीक्षण गराइन्। सुत्केरीका लागि तोकिएको दिनअगावै राति उनको प्रसव व्यथा सुरु भयो। एम्बुलेन्स खोज्न, पैसाको व्यवस्था मिलाउन तथा घरमा बच्चा हेरिदिने मान्छे खोज्न समय लाग्यो। अस्पताल पुग्दा उनको पाठेघरको मुख धेरै खुलिसकेको र बच्चा सानो भएकाले चिकित्सकले ‘नर्मल डेलिभरी’ गराउन सकिने सुझाव दिए। अन्ततः डेलिभरी नर्मल नै भयो। डेलिभरीमा अत्यधिक रक्तस्राव भएकाले रीतालाई बचाउन रगतसमेत दिनु पर्‍यो।  

सन्तान जन्माउने अर्थात् प्रसव गराउने तरिकालाई ‘डेलिभरी’ भनिन्छ। बच्चा जन्माउने र वंश बढाउने कामलाई सामान्य भनिए तापनि यो एउटा जटिल प्रक्रिया हो। यस क्रममा भएका जटिलताहरूको कारणले आमाको, बच्चाको वा आमा र बच्चा दुवैको मृत्युसमेत हुने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार सन् २०१६ मा नेपालको मातृ मृत्युदर २३९ थियो। जुन सन् २००६ मा २८१, १९९० मा ७७० र १९९६ मा ५३९ रहेको थियो।

स्वास्थ्य सेवा विभागको २०७७/०७८ को वार्षिक प्रतिवेदनअनुसार चार पटक गर्भको परीक्षण गर्ने गर्भवतीको संख्यामा वृद्धि भएको छ। सो प्रतिवेदनअनुसार स्वास्थ्य संस्थामा गएर प्रसव (सुत्केरी) गराउनेको संख्यामा पनि वृद्धि भएको छ। २०७३/०७४ मा ५४.६ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराए भने २०७७/०७८ मा ६४.९ प्रतिशत पुगेको छ। डेलिभरी धेरै किसिमका हुन्छन्। प्राकृतिक रूपमा वा कुनै बाह्य सहयोगबिना हुने डेलिभरीलाई सामान्य वा ‘नर्मल डेलिभरी’ भनिन्छ। धेरै अवस्थामा नर्मल डेलिभरी नै हुने गर्छन्। नर्मल डेलिभरी हुन नसक्ने अवस्थामा आमा, बच्चा वा दुवैलाई जोगाउन औजार (भ्याकुम तथा फोरसेप) प्रयोग गरिन्छ। इन्स्ट्रुमेन्टल डेलिभरी अथवा सिजरियन सेक्सन वा शल्यक्रिया गरेर डेलिभरी गराउनु पर्ने पनि हुन्छ। यसरी डेलिभरी गराउनु भनेको एउटा बाध्यात्मक अवस्था हो।

प्रसव पीडा सुरु भएको बेला आमा वा बच्चामा कुनै समस्या देखिएमा तथा प्रसव पीडा सुरु भएको लामो समय बितिसक्दा पनि डेलिभरी हुन नसकेको अवस्थामा भ्याकुम वा फोरसेपको प्रयोग गर्नुपर्ने हुन सक्छ। तर यस्ता सबै अवस्थामा औजारहरूको प्रयोग गर्न सकिँदैन। नर्मल हुन नसक्ने र औजार पनि प्रयोग गर्न नसकिने भएपछि अन्तिम उपाय भनेको शल्यक्रिया अर्थात् सिजरियन गर्नुपर्ने हुन सक्छ। पछिल्लो समयमा सिजरियन डेलिभरी अर्थात् बच्चाको जन्म योनीमार्गबाट नगराएर, पेटको तल्लो भाग र पाठेघरमा शल्यक्रिया गरेर सोझै बच्चा जन्माउनेहरूको संख्या बढेको देखिन्छ। सिजरियन डेलिभरीको सुरुआत कसरी भयो भन्नेमा एक मत देखिँदैन।

विलियमस् अब्सट्रेटिक्सको २२औं संस्करणमा सिजरियनको इतिहास उल्लेख गरिएअनुसार १०० बीसीभन्दा अगाडि नै जुलियस सिजरको जन्म पेट चिरेर गरेको पाइन्छ। उनकै नामबाट ‘सिजरियन’ रहेको मान्यता रहे पनि यससँग अनगिन्ती कथा जोडिएको देखिन्छ। सन् १८६५ सम्म पनि सिजरियन डेलिभरीलाई सफल मानिएको थिएन। त्यस अवस्थामा बेलायतमा मात्र सिजरियन गर्दा आमाको मृत्युदर ८५ प्रतिशत थियो। त्यसबेला पाठेघर सिलाउने र रक्तस्राव रोक्ने प्रवृत्तिको राम्रो विकास भइसकेको थिएन।

वर्तमान अवस्थामा औषधि तथा अन्य आवश्यक सामग्री सजिलै उपलब्ध हुने र राम्रो तरिकाको विकास भइसकेका कारण सिजरियनलाई सुरक्षित मानिन्छ। गर्भवती महिलाको अन्य रोग नभएको अवस्थामा (विशेषगरी मुटु, मिर्गौला, फोक्सो, रगतको समस्या नभएको) सिजरियन गरे यसैको कारण महिलाको मृत्यु हुने सम्भावना न्यून रहन्छ। सिजरियन नै गर्नुपर्ने कारण धेरै छन्। आमाको पेल्भिस सानो भएको अवस्थामा बच्चाको टाउको सो बाटो भएर आउन नसक्ने वा पेल्भिस ठीकै भए पनि बच्चाको टाउको नै ठूलो भएको अवस्था सिजरियन डेलिभरीको प्रमुख कारण हुन्छ।

बच्चा उल्टो, तेर्सो वा अन्य नमिलेको अवस्थामा रहेको, बच्चाको मुटुको धड्कन सामान्यभन्दा कम वा बढी भएको, सालनाल पाठेघरको मुखमा रहेको, व्यथा लगाएर पनि डेलिभरी नभएकोजस्ता अवस्थामा पनि सिजरियन गर्नुपर्ने हुन्छ। पहिलो बच्चा जन्माउने उमेर बढी हुनु, बच्चाको अवस्थाबारे जन्मनुअघि थाहा पाउनु, औजार प्रयोग गरेर बच्चा जन्माउन नचाहनु, बच्चा उल्टो रहेको थाहा हुनुजस्ता कारण मात्र होइन, ‘साइत’ हेरेर बच्चा जन्माउने प्रवृत्ति पनि बढेको छ। गर्भवती महिलाहरूले प्रसव पीडा सहन नसक्ने, चाँडै आत्तिने र जोखिममा बस्न नचाहने भएकाले पनि सिजरियन डेलिभरीको दर बढ्दै गएकोे छ।

आजभोलि मानिस जीवन व्यस्त रहने गरेको र योजना बनाएर गर्भ राख्ने अनि सो गर्भका लागि सानो जोखिम लिन नचाहने भएकाले दम्पतीले नै सिजरियनका लागि अनुरोध गर्ने पनि गर्छन्। त्यस्तै सुत्केरीका लागि अस्पतालमा भर्ना भएका गर्भवती वा बच्चामा कुनै असर देखिएमा अस्पताल र चिकित्सकमाथि नै हातपातसमेत हुन सक्ने भएकाले चिकित्सक र अस्पतालले समेत धेरै कुराउनुभन्दा सिजरियन रोज्ने गरेको पनि देखिन्छ।

पछिल्लो समयमा सिजरियनको सेवा दिन सक्ने क्षमता मात्र बढेको छैन, सिजरियन हुने संख्यामा पनि निकै गुणाले वृद्धि भएको पाइन्छ। सन् १९७० मा अमेरिकामा ४.५ प्रतिशतमा मात्र सीमित रहेको सिजरियन डेलिभरी सन् २०१८ मा सोही मुलुकमा ३१ प्रतिशतभन्दा बढी रहेको अध्ययनले देखाएको छ। सन् २०१५ मा १ सय ६९ देशबाट लिएको तथ्यांकले सिजरियनको दर २१.१ प्रतिशत पुगेको देखाएको छ। नेपालमा पनि सिजरियन डेलिभरीको दरमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। स्वास्थ्य सेवा विभागको प्रतिवेदनअनुसार विगत ५ वर्षमा सिजरियनको दरमा सुस्त वृद्धि देखिएको छ।

नेपालमा सिजरियनको राष्ट्रिय औसत दर २०७३/०७४ मा १६.६० प्रतिशत थियो भने २०७७/०७८ मा यो २०.५० प्रतिशत पुगेको छ। प्रदेश १ र बागमती प्रदेशमा यसको दर  निरन्तर बढ्दै गएको छ भने कर्णाली प्रदेशमा खासै परिर्वतन देखिँदैन। प्रदेशअनुसार मात्र होइन, हरेक अस्पतालमा एउटै दरमा सिजरियन हुने गरेका छैनन्। अस्पतालमा रहेको सुविधा, बिरामीको चाप र प्रकार अनि अस्पतालको नीतिले पनि सिजरियन हुने दरमा असर गर्न सक्छ। सिजरियन सुविधा नभएको स्वास्थ्य संस्थामा सिजरियन भएको नदेखिने हुन्छ भने यस्ता संस्थाबाट रिफर गर्ने अस्पतालमा सो बढी देखिने हुन्छ। कुनै कारणले एकपटक सिजरियन गरेपछि फेरि सधैं प्रसव सिजरियन विधिबाट नै गराउनुपर्छ भन्ने मान्यता छ। तर सधैं सिजरियन आवश्यक नहुन सक्छ।

सिजरियनपछि नर्मल डेलिभरी गराइने पद्धतिलाई ‘भिब्याक अर्थात् भजाइनल बर्थ आफ्टर सिजर (भीबीएसी)’ भनिन्छ। पछिल्लो चरणमा भिब्याक गर्ने चलन बढ्दो छ। दुई वा बढी पटक सिजर गरिसकेका, पहिला पाठेघर फुटेका वा पाठेघर ठाडो चिरिएका, पहिले सिजर गरेको दुई वर्ष नपुगेको अवस्थामा भिब्याक वा नर्मल डेलिभरीको प्रयास गर्नु हँुदैन। बच्चा ठूलो भएको अवस्थामा वा सालनाल (प्लासेन्टा) तल रहेको अवस्थामा पनि भिब्याक सफल हुँदैनन्। तर, पहिले सिजर गरेको ३–४ वर्षपछि, सुल्टो बच्चा (सेफालिक) रहेको अवस्थामा, बच्चाको टाउकोको अनुपातमा आमाको पेल्भिस राम्रो भएको अवस्थामा भिब्याक सफल हुने सम्भावना ८० प्रतिशतसम्म रहने अध्ययनले देखाएको छ।

भिब्याकको सबैभन्दा जटिलता भनेको प्रसव ब्यथा भएको अवस्थामा नै पाठेघर फुट्नु हो। व्यथा बढ्दै जाँदा पाठेघरमा पहिले सिजरियन गर्दा चिरेको ठाउँ (जुन कमजोर हुन्छ¬¬) फुट्ने सम्भावना हुन्छ। भिब्याकका लागि छनोट गरेका केसहरूमा पनि २ सयमा १ देखि २.५ प्रतिशतसम्ममा पाठेघर फुटेको पाइएको छ। यसबाहेक यस अवस्थामा अत्यधिक रक्तस्राव हुने सम्भावना पनि बढी रहन्छ। पाठेघर फुट्न सक्ने र सो भए आमा र बच्चा दुवै जोखिममा हुन्छन्। त्यसैले हाम्रो जस्तो मुलुकमा खासै रुचाएका छैनन् भन्दा फरक नपर्ला। नेपालमा भिब्याक हुँदै नभएको चाहिँ होइन। भिब्याकको सफलताका लागि वा भनौं यो अपनाउन दुइटा महत्त्वपूर्ण तयारी हुनुपर्छ ः पहिलो प्रसवको राम्रो निगरानी र अर्को पाठेघर फुट्नेबित्तिकै शल्यक्रिया।

नेपालमा अस्पतालहरूमा जनशक्तिलगायत अन्य स्रोत र साधनको कमी छ। त्यसैले प्रसवको त्यो तहको निगरानी अर्थात् पाठेघर फुट्नेबित्तिकै पहिचान गर्न सक्ने र तुरुन्तै शल्यक्रिया गरेर बच्चा र आमालाई जोगाउन सक्ने सम्भावना कम छ। अस्पताल ढिला पुग्नु वा सिजसियनको तयारी ढिला भयो भने नर्मल डेलिभरी (भिब्याक) गर्नु निकै जोखिमपूर्ण हुन्छ।
- साह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.