प्रत्यक्षतर्फको मतपत्र छपाइ तयारी
काठमाडौं : उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाइको तयारीमा जुटेको छ।
बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। प्रत्यक्षतर्फको नमुना मतपत्र डिजाइन गरेर फाइनल चुनाव चिह्नको प्रतीक्षामा आयोग थियो। ‘बुधबार निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरियो।‘चुनाव चिह्नको निश्चिततासँगै प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु हुन्छ’, प्रवक्ता पौडेलले भने, ‘देशैभरीबाट उम्मेदवारहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिएको चुनाव चिह्नको विवरण संकलन गरिहेका छौं।’
कात्तिकभित्रैबाट मतपत्र छपाइ सुरु गरिने उनले बताए। समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। नेपाली सेनाको सुरक्षामा भक्तपुरस्थित जनक शिक्षा समाग्री केन्द्र लिमिटेडको छापाखानमा मतपत्रको छपाइको प्रबन्ध मिलाइएको छ।
कात्तिकको पहिलो सात्ताबाट समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र जिल्ला—जिल्लामा ढुवानी गरिने प्रवक्ता पौडेलले बताए। आयोगले जिल्लामा मतपत्र र फोटोसहितको मतदाता नामावली पठाउन प्याकिङ गरिरहेको उनले बताए।
आयोगका अनुसार आयोगले ८ करोड मतपत्र छापिने योजना बनाएको छ। त्यसमध्ये प्रदेशसभा तथा प्रतिनिधिसभाको समानुपातिक तर्फको ४ करोड मतपत्रको छपाइ सकिएको छ। अब प्रत्यक्षतर्फको अर्को ४ करोड मतपत्र छापाइको अन्तिम तयारी भइरहेको छ।
मंसिर ४ गतेको निर्वाचनका लागि आयोगद्वारा ५०३ थरीका मतपत्रको डिजाइन गरिएको थियो। आयोगका सचिव गोकर्ण दुवाडीका अनुसार फरक–फरक टेम्पलेट र डिजाइन तयार गरी मतपत्र छपाइ भइरहेको छ। २०७४ को निर्वाचनमा ५०२ फरक–फरक मतपत्र तयार गरिएको थियो। प्रवक्ता पौडेलका अनुसार देशभरीका प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन प्रणालीका लागि एकै आकार र प्रकारको मतपत्र छापिएको छ।
त्यसैगरी प्रत्यक्षतर्फका लागि १६५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार संख्याका आधारमा मतपत्र तयार गरिनेछ।
सातै प्रदेशको प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै ७ प्रकारका मतपत्र छापिएको छ। प्रदेशसभाको प्रत्यक्ष तर्फका लागि ३३० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारका संख्याका आधारमा मतपत्रको डिजाइन गरिएको आयोगका सह—प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘मतपत्र छपाइका लागि आयोग ११ सय मेट्रिक कागजको व्यवस्था गरिएको छ’, उनले भने, ‘विकट र टाढाका निर्वाचन क्षेत्रका मतपत्रलाई पहिलो प्राथमिकतमा राखेर छपाइ हुन्छ।’
चुनाव प्रचारमा कार्यपालिकाका पदाधिकारीलाई रोक
प्रदेशसभा तथा प्रतिनिधिसभाका उम्मेदवारहरूको पक्ष वा विपक्षमा चुनाव प्रचारप्रसार गर्न आयोगले कार्यपालिकाका पदाधिकारीहरूलाई रोक लगाएको छ ।
आफ्नो स्थानीय तहभित्र उनीहरूले उम्मेदवारहरूको चुनाव प्रचारप्रसार गर्न नपाउने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको आयोगका सह—प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘निर्वाचन आचारसंहिताअनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न मिल्दैन।’
आफू निर्वाचित भएका स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारीसाधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी गर्न पाउने आयोगले व्यवस्था गरेको छ।