राजनीतिक मैदानका ‘भेट्रान खेलाडी’सँग चुनाव लड्दै पूर्वअधिकृत
काठमाडौं : बिहान उठ्ने बित्तिकै पहिले ट्रायल सेन्टरमा जान हतारो हुन्थ्यो । तर, अहिले पोषण थापालाई मतदाताको घरमा जान चटारो हुन्छ । सूर्य र चन्द्र अंकित नेपालको झण्डा छात्तिमा टाँसेका उनी चुनाव चिह्न चपाककल लिएर भोट माग्न व्यस्त भएका छन् ।
असोज २२ गतेसम्म उनको परिचय यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासको प्रमुख थियो । २३ गते उनले पदबाट राजीनामा दिए । त्यसपछि उनको परिचय बद्लियो, महोत्तरी क्षेत्र नम्बर १ का मतदाता माझ प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा ।
देशको निशान छापसंग नजिक भएर उम्मेदवार थापाले २६ वर्ष जनताको सेवा गरे । तर, बुधबार निर्वाचन अधिकृतको कार्यालयले दिएको चुनाव चिह्न ‘चपाकल’ लिएर उनी मतदातासंग भोट माग्दै चुनावी मैदान भेटिन्छन् । पहिले उनीसंग सेवा माग्न मतदाताहरु कार्यालयमा जान्थें । अहिले त्यो दृष्य बदलिएको छ , स्वतन्त्र उम्मेदवार थापा मतदाताको दैलोमा मत माग्न जान्छन् । उनी बर्दिबास वडा नम्बर ११ खयरमाराका बासिन्दा हुन् ।
पाँच दलिय गठबन्धनका साँझा उम्मेदवार गिरिराजमणि पोखरेल र एमाले –जसपा तर्फका अर्का उम्मेदवार लक्ष्मी महतोबिरुद्ध थापाले स्वतन्त्रण उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव पोखरेलसंग एमाले उम्मेदवार महतोले २०७४ मा कडा प्रतिस्पर्धा गरेका थिए । पोखरेलले त्यो चुनावको नतिजा हात परेका थिए । पोखरेलले २३ हजार ७ सय ७६ मत प्राप्त गरेर निर्वाचित भएका थिए । महतोले १९ हजार ४ सय ९२ मत ल्याएका थिए । नेता महतो पूर्व निगौल गाविसका अध्यक्ष पनि हुन् भने पूर्व मन्त्रि पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट लगातार तीन पटकसम्म जितेका थिए । पोखरेल यहाँबाट चौथो पटक उम्मेदवार भएका छन् ।
राजनीतिक खेलका ‘भेट्रान’ खेलाडीसंग पूर्व अधिकृत थापाले स्वतन्त्र उम्मेदवारी पेश गरेर चुनावी खेललाई थप रोचक बनाइदिएका छन् । मंसिर ४ गते हुने चुनावमा महोत्तरी क्षेत्र नम्बर १ मा त्रिपक्षिय भिड्न्त हुने चर्चा छ ।
थापा कांग्रेस नजिकको कर्मचारी संगठन नजिक थिए । उनलाई बर्दिबास नगरपालिकाको मेयरमै चुनाव लड्ने इच्छा थियो । तर, पार्टीले टिकट दिएन । उनले पर्दापछाडिबाट कांग्रेसबाट विद्रोह गराउर्ने माहौल बनाएका थिए । प्रह्लाद कुमार क्षेत्री समूहलाई स्वतन्त्र उम्मेदवार बनाएर स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर, तीन वडा अध्यक्ष, कार्यपालिका सदस्य कांग्रेसका बागी उम्मेदवारले जित्यो । त्यही ‘आधारशीला’ मा थापाले महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
विगत २६ वर्ष निजामति सेवामा रगतपसिना बगाएका स्वतन्त्र उम्मेदवार थापा जनताको प्रतिनिधि भएर सेवा गर्न सरकारी जागिर छाँडेको बताउँछन् ।
‘भोलीवाद’ अनि ‘घुसिया अड्डा’ भन्नेर सेवाग्राहीले चित्रित गर्ने यातायात कार्यालयलाई उनले सुधार मात्रै गरेनन् सुलभ सेवा प्रवाह गरेर सेवाग्राहीको मन जितेर देशैभरी चर्चा बटुले । बर्दिबासमा यातायात कार्यालयमा उनको पहलमा सवारी कर तिर्नेदेखि सवारीचालक अनुमतिपत्र(लाइसेन्स) सम्मको सेवा आयो ।
वि.सं. २०५३ सालमा खरिदार भई सरकारी सेवामा प्रवेश गरेका थापा २०६६ मा नासु बनेका थिए । २०७६ मा शाखा अधिकृतमा बढुवा भई हालसम्म कार्यरत रहेका थिए ।
कर्मचारी भएर कतिपय गर्न नसकेको काम जनप्रतिनिधि भएर गर्ने उनले अठोट लिएका छन् । ‘मैले महोत्तरी जिल्लामा धेरै समाजिक कार्यहरुले गरेको छु । कर्मचारी भएर पनि जनताको समस्या समाधानकालागि विगतमा जनप्रतिनिधिहरुलाई घच्घचाएर डोर्याएको पनि थिए’, उनी भन्छन्, ‘सरकारी सुविधा जनताको घर दैलोका कसरी पुर्याउने भन्ने मेरो धेय सधैं रहन्थ्यो ।’
विगतमा बर्दिवासको विकासका लागि भूमिका खेलेको उम्मेदवार थापा सुनाउँछन् । जलेश्वरबाट बर्दिबासमा मालपोत कार्यालय, नापी कार्यालय, ईलाका प्रशासन कार्यालय, कर कार्यालय, यातायात कार्यालय लगायतका सरकारी कार्यालयहरू विस्तार गर्न भूमिका खेलेको हुनाले पनि आफूलाई जनताले मतदान गर्ने उनी दावी गर्छन् ।
‘मसंग भएको ज्ञान, सीपलाई अधिकतम प्रयोग गरेर जनताको सेवा गरे । मैले जनताको दुःख पीडा नजिकबाट नियालेको छु’, उम्मेदवार थापा भन्छन्, ‘उहाँहरुको दुःख कर्मचारीबाट भन्दा पनि जनप्रतिनिधि भएर समाधान गर्ने इच्छा थियो । त्यही पुरा गर्न मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’