हतियार बुझाउन स्याङ्जा प्रशासनको अल्टिमेटम
स्याङ्जा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण तवरमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले व्यक्तिसँग भएका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ।
इजाजत प्राप्त हातहतियारहरु आउँदो कात्तिक ६ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनको अल्टिमेटम छ।
बिशेष सूचना जारी गर्दै प्रशासनले आउँदो मङ्सिर ४ गतेका दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचलनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि ब्यक्तिसंग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
प्रशासनले आफूसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन र निर्वाचन सम्पन्न भएपछि फिर्ता लैजान सकिने जनाएको छ।
स्याङ्जामा २ संघ सहित ४ प्रदेशसभा निर्वाचन क्षेत्र छन्। दुई संघिय संसद सदस्यका लागि २६ जना र ४ प्रदेशसभा सदस्यका लागि २६ जनागरी ५२ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्र गरी झण्डै १३ वटा बिभिन्न राजनीतिक दलले निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।