मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो
जोमसोम : मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ। पर्यटकीय सिजन सुरु भएसँगै पर्यटकको आगमन सुरु भएको हो।
असोज-कार्तिक महिनामा उल्लेख्य आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न आउने गर्छन्। यो समय मुस्ताङको भौगोलिक तापक्रम सन्तुलित रहन्छ।
बर्सेनि बडादसैं, तिहार र छठ पर्व लगायतको सेरोफेरोमा सयौं आन्तरिक पर्यटकको चापले मुस्ताङलाई थेग्नै मुश्किल हुने गर्थ्यो। विदेशी पर्यटकले पनि यो समयमा मुस्ताङ भ्रमण गर्थे।
कोरोनाका कारण तीन वर्षसम्म प्रभावित बनेको मुस्ताङको पर्यटन कोभिडपछि लयमा फर्किदै थियो। पर्यटन व्यवसायीमा आसाको सञ्चार पलाउँदै थियो।
आन्तरिक तथा बाह्य पर्यटकको चहल विस्तारै बढ्दै थियो। तर, यसवर्षको बडादसैं अघिको अविरल वर्षाले मुस्ताङको पर्यटन व्यवसायीको आसा र अपेक्षाले प्रतिकुल मौसमले निरासामा परिणत गरिदियो।
अविरलको वर्षाले राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको ठाउँ ठाउँमा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा धावनमार्ग हुँदै आउने योजना बनाएका पर्यटक पूर्ण रूपमा प्रभावित बने।
दसैंअघिको मौसम प्रतिकुलताका कारण पोखरा जोमसो हवाई मार्ग सात दिन बढी ठप्प भयो। प्रतिकुल मौसमका कारण पर्यटक मुस्ताङ आउन नसक्दा र जिल्लामा भएका कर्मचारी र सुरक्षाकर्मी पनि दसैं मनाउन बिदामा घर जाँदा मुस्ताङ पुरै सुनसान भयो।
मौसममा क्रमिक रूपले सुधार हुँदै गर्दा पोखरा-जोमसोम हवाई सेवा र बेनी-जोमसोम सडक मर्मतपछि सञ्चालनमा आउँदा पुनः मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल-पहल बढ्दै जान थालेको छ।
जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले मंगलबारदेखि पोखरा-जोमसोम हवाई सेवा नियमित भइरहेको जानकारी दिए। उनले मौसम प्रतिकुलताका कारण एक हप्ता बढी मुस्ताङको हवाई सेवा प्रभावित बनेकामा मंगलबारदेखि हवाई उडान र पर्यटकीय चाप बढ्दै गइरहेको बताए।
मौसम सुधार भएसँगै मुस्ताङमा बिहीबार तारा र समिट एअरले ११ वटा उडान भरेका छन्।यस्तै, मंगलबार समिटिले पाँचवटा उडान भरेको थियो भने बुधबार समिट र तारा एअरले समान पाँचपाँच वटा उडान भरेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ।
हवाई सेवा र बेनी-जोमसोम सडकमार्ग सहज हुँदा मुस्ताङमा दैनिक पाँच सयभन्दा बढी भारतीय र तेस्रो मुलुकका पर्यटक आउने गरेको जोमसोमस्थित एक्याप चेकपोस्टले उल्लेख गरेको छ।