निक्षेपको ब्याजदर नबढाइने

निक्षेपको ब्याजदर नबढाइने

काठमाडौं : दसैंअघि बैंकिङ प्रणालीमा निक्षेप वृद्धिमा सुधार देखिए पनि  अहिले घट्न थालेको छ। व्यवसायीदेखि सर्वसाधारणले चाडपर्वमा उपभोग्य वस्तुमा बढी खपत गरेकाले निक्षेपमा दबाब पर्न गएको हो। असोजमा निक्षेपमा सुधार नभएकाले कात्तिकमा यसको ब्याजदरसमेत पुरानै कायम हुने संकेत देखिएको छ। 

असोजको तेस्रो सातामात्रै ८ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा छ। उक्त निक्षेप घटेर असोज २१ गतेसम्म ४५ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको छ। संघका अनुसार कुल निक्षेपमा १ खर्ब १९ अर्ब रुपैयाँ वैदेशिक मुद्रामा निक्षेप संकलन भएको छ। ४३ खर्ब ९० अर्ब रुपैयाँ स्वदेशी मुद्राको निक्षेप हो। विदेशी मुद्रामा संकलन भएको निक्षेप यसअघिको सातामा पनि सोही बराबर नै कायम भएको तथ्यांकमा उल्लेख छ। दसैंअघि सातामै ७ अर्बले निक्षेप सुधार भएको थियो। यसरी सुधार हुँदा असोज १४ गतेसम्म कुल ४५ खर्ब १९ करोड पुगेको थियो। 

यतिबेला बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कम भएकै कारण नेपाल राष्ट्र बैंकले बिहीबार मात्रै ३० अर्ब रुपैयाँ बराबरको एकहप्ते रिपो जारी गरेको छ। कात्तिक ३ गतेसम्मका लागि रिपोमार्फत बजारमा पैसा पठाउँदा हाललाई राहत हुने केन्द्रीय बैंकको अपेक्षा छ। सामान्यतया केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा बढीमा एक हप्ता अवधिको तरलता प्रवाह गर्न रिपो उपकरण जारी गर्ने गर्दछ।

चाडपर्वको खर्चका लागि व्यवसायीले लगानी गर्न र आम ग्राहकले किनमेलमा खर्च गर्नका लागि प्रणालीबाट पैसा बाहिरिएको बैंकर बताउँछन्। बैंक बिदा भएपछि निक्षेप राख्नेभन्दा खर्च गर्न एटीएमबाट रकम झिक्नेहरू बढे। यस कारणले पनि निक्षेप घटेको देखिन्छ। समग्र बैंकमा सातामा ८–१० अर्ब घटबढ हुनु खासै महŒवपूर्ण नभएको सिभिल बैंकका सीईओ सुनील पोखरेल बताउँछन्। उनका अनुसार पछिल्लो समय बैंकको निक्षेपमा खासै वृद्धि हुन नसकेको र थोरै बढ्नु स्वाभाविक हो।पर्यटनको मौसम आउँदै गरेकाले पुसदेखि बैंकको अवस्था पनि सुध्रिने आकलन गरे। 

अर्कातर्फ कर्जा प्रवाहको क्षमता पनि कसिलै छ। साथै बैंकमा कर्जाको माग पनि आएअनुसार सबै दिन नसकेकोे बैंकर सुनाउँछन्।  किनभने बैंकले गर्ने लगानीले कर्जा निक्षेप (सीडी रेसियो) अनुपात असोज २१ गतेसम्ममा औसत ८७.२५ प्रतिशत छ। जबकि राष्ट्र बैंकले असार मसान्तपछि सीडी रेसियो ९० प्रतिशतको सीमामा सीमित राख्ने व्यवस्था गरेको छ। औसत २.७५ प्रतिशतको कुशनमा बैंक छन्। हरेक बैंकले सीडी रेसियो १–२ प्रतिशतको कुशनमा राखेर बस्न जरुरी भएकाले ८७ प्रतिशत मात्रै भए राम्रो मान्न सकिने सिभिलका सीईओ पोखरेलको तर्क छ। 

लगानीयोग्य पुँजी अभावकै कारण असोज तेस्रो साता कर्जा प्रवाह ५ अर्बले घटेर कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ पु¥याएका छन्। कुल कर्जामा विदेशी मुद्रामा ३० अर्ब रुपैयाँ लगानी भएको छ। बाँकी ४१ खर्ब ६३ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा लगानी भएको संघको तथ्यांकमा उल्लेख छ। यद्यपि उक्त कुल कर्जा असोज दोस्रो साता ३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको थियो।  

बैंकरबीच असोज महिनाकै ब्याजदर कायम गर्न उपयुक्त भएको भन्दै त्यसैलाई निरन्तरता दिने भन्ने छलफल भएको बताइएको छ। यसकारण वाणिज्य बैंकले कात्तिकमा निक्षेपको ब्याजदर थप नबढाउने भएका हुन्। असोजमा ब्याजदर बढाउँदा पनि निक्षेप खासै बढेन। बैंकले भदौको तुलनामा थप १ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढाएका थिए। अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कुल निक्षेप बाहेक)को औसतमा बढीमा १० प्रतिशतले मात्रै परिवर्तन गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बैंकले ब्याजदर निर्धारण गरे। जसअनुसार असोजमा वाणिज्य बैंकले साधारण बचत खातामा ९.१३ प्रतिशतसम्म दिएका छन्। केहीले ७.१३ प्रतिशतसम्म दिएका छन्। मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ अधिकांशले १२.१३ र संस्थागततर्फ १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.