हिमाली ब्रान्ड
सन् १९८० को अमेरिकी राष्ट्रपतीय चुनावमा रोनाल्ड रेगन विजय भए। विजय भएपछि उनको निजी सहयोगीको रूपमा हेलन भन डाम आइन्। डाम अस्ट्रियाको शरणार्थीबाट रास्ट्रपतिको निजी सहयोगीसम्म भएकोले उनको चर्चा मिडियामा पनि उत्तिकै थियो। मिडियाले उनलाई सोधे, ‘तपाईं शरणार्थीबाट राष्ट्रपतिको निजी सहयोगी भइसक्नुभयो, तपाईंको निजी इच्छा के छ ?’ उत्तरमा डामले भनिन्, ‘एकपटक नेपालका हिमालय चढ्ने इच्छा छ।’ यो एक सानो जानकारीले नेपाली राजदूतलाई ठूलो फाइदा भयो। तत्कालीन राजदूत भेषबहादुर थापाकी श्रीमतीले यहीँ हिमाल प्रसंग लिएर राष्ट्रपति कार्यालयमा सोझो सम्बन्ध बनाइन्। त्यही सम्बन्धले राजदूत थापाको सम्बन्ध पनि बलियो भयो। यतिसम्म बलियो भयो कि रेगनकै सत्ताकालमा नेपालका राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमण गराउनेसम्म भयो।
नेपालको हिमाल ब्रान्ड कत्ति महत्त्वपूर्ण छ भन्ने यो एक सुन्दर उदाहरण हो। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशन गरेर विष्णु रिजालले सम्पादन गरेको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव’मा आएको यो प्रसंगले नेपालको हिमाली ब्रान्डको हैसियत प्रस्ट्याँउछ। नेपालको हिमाली ब्रान्डको कुरा आउँदा त्यही ब्रान्डमा जोडिने सम्माननार्थी शब्द हो शेर्पा। र, शेर्पा अहिले एक हिमाली समुदाय नभएर आरोही समुदायको रूपमा अथवा आरोहण सहयोगी पेसाको रूपमै चिनिन थालेको छ। विश्वभर चासो हुने त्यही शेर्पाको बारेमा लेखिएका विश्वका विभिन्न प्रकाशनका पुस्तकहरूले पश्चिमा आँखाबाट मात्रै लेख्दै आएका छन्।
हालसालै बेलायतको नामी अक्टोपस पब्लिसिङ समूहले प्रकाशन गरेको पुस्तक शेर्पा भने यो मेसोमा बिल्कुल पृथक् छ। प्रदीप बस्याल र अंकितबाबु अधिकारीजस्ता नेपाली पत्रकार तथा लेखकहरू भएर मात्रै यो पृथक् भएको हैन। शेर्पालाई विश्वले चिन्दै आएको र चिनाउँदै आएको भन्दा भिन्न शैलीका कथाहरूसमेत पुस्तकमा समेटिएका छन्। नेपालको सोलुखुम्बुको खुम्बु, दोलखाको रोल्वालिङ, संखुवासभाको मकालु र भारतको दार्जिलिङसम्मको भूगोलमा स्थलगत अध्ययन गरेर लेखिएका १२ अध्याय धेरै मेहनतपूर्वक लेखिएका छन्।
सन् १९५० जुन ३ मा अन्नपूर्ण आरोहण दलको शेर्पा सरदार आङ थार्केदेखि सन् १९५३ मे २९ को प्रथम सगरमाथा आरोहणका एक नायक तेन्जिङ नोर्गे हुँदै अहिलेका चिनिएका केटुको विन्टर आरोहण दलका कीर्तिमानी आरोही मिङ्मा डेभिटलगायत थ्रुपै अनुहार पुस्तकमा आएका छन्। प्रथम सगरमाथा आरोहणका एक जीवित सदस्य ९० वर्षका कान्छा शेर्पादेखि सगरमाथा चढ्ने आठ सन्तानकी रोल्वालिङकी आमा किन्जुम शेर्पासम्म समेटिएका छन्। मकालु क्षेत्रबाटै भुटान, सिक्किम हुँदै दार्जिलिङ भासिएर पछि चचित आरोही बनेका कुसाङ दोर्जी शेर्पादेखि मकाल क्षेत्रबाटै उदाएर विश्वका कीर्तिमानी आरोही दाजुभाइ क्रय मिङमा शेर्पा, छाङ्दावा शेर्पादेखि टासी लाक्पाहरू पुस्तकमा अटाएका छन्।
नेपालका धेरै आरोहीको विगतदेखि आगत आउँदा बूढालाई कुनै न कुनै स्थान दिनुपर्ने तर्क पाठकको मनमा आउँछ
लेखकहरूले विभिन्न अध्ययन ग्रन्थको सहायताले इतिहास खोतलेका छन्। जीवितहरूसँग काठमाडौंदेखि अनलाइन हुँदै गाउँघरमै पुगेर परिवारसँग कुराकानी गरेका छन्। यी कुराले पुस्तक खँदिलो भएको छ। शेर्पाहरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने वंशज शक्तिदेखि उनीहरूको उच्च हिमाली क्षेत्रको कामका सवालमा आउने हर्म, पीडादेखि कीर्तिमानका समष्टि खुराक पुस्तकमा छन्। सन् २०१० मा सगरमाथा क्षेत्रको सरसफाइ अभियान चलाएर १८ सय केजी फोहोर र दुई लास (स्विस र रूसी) ल्याएका नाम्ग्याल शेर्पाको लास सन् २०१३ देखि तिब्बततर्फ अड्केको छ। उनकी श्रीमती डोमाले धेरै पहल गर्दा पनि लास आउन सकेको छैन। सन् २०१५ को भूकम्पको समयमा सगरथामामा आएको हिमपहिरोको समयमा नेपाली शेर्पालाई त्यत्तिकै छोडेर विदेशीलाई मात्रै हेलिकप्टरबाट उद्धार गरिएका देखि धेरै शेर्पा वेदनाहरू पुस्तकमा छन्।
शेर्पा महिलाहरूको हिमाल आरोहणका रोचक कुरा पनि पुस्तकमा छन्। पासाङ ल्हामो शेर्पाको नेतृत्व तथा लाक्पा फुटी शेर्पाको सहनेतृत्वमा भएको नेपाली महिला आरोहण दलको चर्चित कथादेखि श्रीमान्को सगरमाथामा मृत्युपछि घरको काम छोडेर सगरमाथामै आरोहण गरेका दुई महिलाहरू फुर्दिकी शेर्पा र नीमा डोमाको कथाले मन छुन्छ। फुत्र्से गाउँमा बाबु पानुरु शेर्पाले नचाहेर पनि हिमालमा जोडिएका छोरा लाक्पाको कथाले शेर्पा युवाहरू अभावदेखि आकांक्षा दुवैले कसरी हिमालमा जोडिन्छन् भन्ने देखाउँछ।
सन् २०१४ को सगरमाथा दुर्घटनामा चुरोट पिउन साथीले बोलाएर बचेका मिङ्मा शेर्पादेखि भारतमा एमबीबीएस पढाइ चटक्कै छोडेर हिमाली पर्यटन उद्यममा जोडिएका आङछिरिङ शेर्पा हुँदै २१ पटक सगरमाथा चढेर चटक्कै विश्राम लिएका फुर्वा टासी शेर्पाका चित्ताकर्षक कथाहरू पुस्तकमा छन्। शेर्पालाई विभिन्न कोणबाट हेरेर लेखिएको पुस्तक भएकोले एक आरोही शेर्पा मात्रै नभएर एक सामाजिक प्राणी, एक नेपाली नागरिक र एक सिमान्तकृत समुदायको सदस्यको नेपाली पर्यटन र पहिचानको ब्रान्ड आम्बासड शेर्पाहरू बारेमा बुझ्न पुस्तक एक ठूलो ठेली हो।
तत्कालीन राजदूत भेषबहादुर थापाकी श्रीमतीले यहीँ हिमाल प्रसंग लिएर राष्ट्रपति कार्यालयमा सोझो सम्बन्ध बनाइन्। त्यही सम्बन्धले राजदूत थापाको सम्बन्ध पनि बलियो भयो।
पुस्तकमा कमजोरी नभएका हैनन्। जस्तो पृष्ठ नम्बर १६८ मा स्याङ्बोचेको हवाईमैदान एडमन्ड हिलारीले बनाएको कुरा गलत हो। होटल एभरेस्ट भ्युका पायोनियर जापानी नागरिक (जो पछि नेपाली भए) ताकासी मियाहाराले उक्त हवाईमैदान बनाएका थिए। बरु एडमन्ड हिलारीले हवाईमैदान र होटल निर्माणको खरो विरोध गरेको कुरा मियाहाराको पुस्तकमै उल्लेख छ। शेर्पा नाम भएकोले हुन सक्छ पुस्तकमा सन् १९२२ मै डेथ जोन अर्थात आठ हजार मिटरको छेउछाउ पुग्ने प्रथम नेपाली आरोही तेजवीर बुढाको नाम पुस्तकमा कतै समेटिएको छैन। नेपालका धेरै आरोहीको विगतदेखि आगत आउँदा बूढालाई कुनै न कुनै स्थान दिनुपर्ने तर्क पाठकको मनमा आउँछ।
यद्यपि, पुस्तक पठनीय मात्रै छैन संग्रहनीय पनि छ। हरेक अध्ययन पढ्दा कुनै पट्यारलाग्दो ३२१ पेजको पुस्तक पढेको नभएर कुनै चाखलाग्दो चलचित्र वा डकुमेन्ट्री हेरेको महसुस हुन्छ। लेखकहरूले आफ्ना कुरा भन्ने भन्दा पात्राहरूकै कुरालाई ज्यादा महत्त्व दिएकोले आफैँले संवाद गरेको जस्तो लाग्छ। नेपाली वैश्विक पहिचानका आम्बासडरहरू हुन् शेर्पा। शेर्पा र हिमालकै कारणले धेरै कोणमा नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा भएको छ। जस्तो कि रोनाल्ड रेगनकी निजी सचिवको हिमाल प्रेमको कुराले नेपालका राजाको अमेरिकी राजकीय भ्रमणसम्म भयो।