घुरुमा घुरु परेवा घुरु...

घुरुमा घुरु परेवा घुरु...

बाबा र ज्यूको धुरी है भरि परेवा घुरुघुरु 

नौडाँडा काटी दिइहाल्यौ बाबा मन रुन्छ धुरुरु 

यी हरफहरू बागमती पूर्व कोसी प्रदेशमा प्रचलित संगिनी भाकाका गेडा हुन्। लोकगीतको उत्पत्ति त्यति पुरानो छ, जति पुरानो छ मानव जातिको इतिहास। जब मानव जातिमा चेतनाको विकास भयो सायद त्यही बेलादेखि नै मानिसहरूले आफ्नो मनको भावना लयात्मक रूपमा व्यक्त गर्नलाई लोकगीत रचे होलान्। वास्तवमा लोकगीतको प्रमुख विशेषता भनेको नै साधारणजनहरूले आफ्ना मनको भावनालाई गीत वा कविताको माध्यमबाट माधुर्यताका साथ लयात्मक रूपमा प्रस्तुत गर्नु हो। लोकगीत जनमानसको साधारण अभिव्यक्ति हो, जुन आदिकालदेखि वर्तमान युगसम्म चल्दै आइरहेको हुन्छ।

जर्मनीका प्रसिद्ध लोकसाहित्यविद् विल्लीप्रियले यो प्रमाणित गर्ने कोसिस गरेका थिए कि लोकगीतको निर्माण सामूहिक तवरले भयो। लोकगीत मागि उनले सामूहिक उत्पत्तिको सिद्धान्त प्रतिपादित गरेका थिए तर रूसी लोकसाहित्यविद् सोकोलोवले यो सिद्धान्तको खण्डन गर्दै भने कि लोकगीतको सिर्जनबिजको रूपमा सर्वप्रथम एक व्यक्तिद्वारा भयो, मौखिक परम्परा रहेको कारण अन्य व्यक्तिद्वारा समय समयमा सम्बोधित भइरह्यो। मूलत लोकगीत सामूहिक चेतनाको फल हो। 

लोकगीत जनमानसको साधारण अभिव्यक्ति हो, जुन आदिकालदेखि वर्तमान युगसम्म चल्दै आइरहेको हुन्छ।

लोकगीत समाजको त्यस्तो ऐना हो, जसमा त्यो समाजको स्वरूप, संस्कृति, परम्परा, भोगेका पीडा, सुख, दुःख, हर्ष, विस्मात आदि छर्लंग देखिन्छ। जहाँ समाजले भोगेका पीडाको विषयमा न इतिहास बोल्छन् न शास्त्रले उत्तर दिन्छ, त्यो समाजमा मानिसका मनका ऊहापोह, गुम्सिएका भावना, कुण्ठा, वेदना, व्यथाहरू लोकगीत भएर ध्वनित हुन्छ। मुखारित हुन्छ। संगिनी लोकगाथालाई पनि यही रूपमा बुझ्नुपर्ने हुन्छ। आदिम युगमा नारी पुरुष बराबर थिए। अझ त्यो युग त मातृसत्तात्मक युग थियो। जब दास युग, सामन्तवादी युग सुरु भयो, महिला विभेद सुरु भयो। पितृसत्तात्मकताले जरा गाड्न थाल्यो। महिलाहरूलाई घरको चौघेरामा सीमित राख्न थालियो। उनीहरू आफ्ना मनका भावनाहरू भित्रभित्र गुम्साउन बाध्य भए। तब उनीहरूले आफ्ना मनका भावनाहरू मेलापात, पानी, पँधेरो, घाँस दाउरा गर्न जाँदा लोकगीत मार्फत व्यक्त गर्न थाले।

भारतका प्रख्यात लोक अध्येता देवेन्द्र सत्यार्थीले त लोकगीतलाई नारीवेदको रूपमा व्याख्या गरेका थिए। जसरी वेद व्यासको रचना नभएर संकलन थियो। त्यस्तै लोकगीतको रचनाकार अज्ञात नै हुन्छ। लोकगीतलाई यसैकारणले पनि नारीवेद भन्न सकिन्छ कि लोकगीतमा जति नारी भावना साहित्यको अरू विधामा झल्किएको पाइन्न। कोसी प्रदेशमा प्रचलित संगिनी लोकभाका पनि यही परिवेशमा जन्मिएको हुनुपर्छ। संगिनी भाका गीतको रूपमा प्रस्तुत भए पनि मूूलतः यो गाथा हो। कथात्मक गीत हो। यो हरि मल्ल राजा र भवल्ली रानीको लोककथासँग जोडिएको हुन्छ। हरि मल्ल राजा र भवल्ली रानीको असमान उमेरबीच विवाहलाई विस्मात रूपमा पोखिएको छ। जस्तो संगिनी गीतको एउटा गेडा यसैसँग सम्बन्धित छः

बिसै र बाइसका हरि मल्ल राजै 
चार पुगी पाँचकी भवल्ली रानी
यी दुईको बिहे भो नि

यसरी यहाँ तत्कालीन युगको बालविवाह, असमान विवाहमाथि प्रतिरोध नगरे पनी असन्तुष्टि भने जाहेर गरेका छन्। संगिनी भाका हरि मल्ल राजा र भवल्ली रानीको लोककथासँग गाँसिए पनि महिलाहरूले आफ्नोआफ्नो वर्गअनुसार मनको भावना पोख्नलाई यो भाकालाई प्रयोग गरेको पाइन्छ। यो भाका बाह्मासा भाका भए पनि विवाह उत्सवमा अधिक चल्छ। जन्तीहरू आएपछि एउटी बेहुली संगिनी गीतमार्फत यसरी आफ्नो उत्सुकता व्यक्त गर्छे, जसमा जूना प्रसाईंले स्वर भरेकी छिन्

दमकी लौरी छिर्लिंगै बज्यो, त्यो बाहिर को आयो मेरी भाउजू
अघिमा लागे शोले र डोले 
माझैको चिनिन ए मेरी भाउजू। 

भोलि विवाह भएर पराई घर जान लागेकी चेली यसरी आफ्नो पितासँग मनको बिलौना पोख्छे, जसमा सुनिता सुब्बाले स्वर भरेकी छिन्। 
बाबा र ज्यूको नि करेसाबारी पानीको पँधेरो 
भोलि त मलाई पठाउने भन्छौ घर होला अँधेरो 
बाटा र मुनि नि बाटा र माथि सर्पको काँचुली 
अरूको खटनमा दिइहल्यौ बाबा 
कसरी बाँचुली 

पराई घरमा गएपछि आफ्नो घरमा जस्तो स्वतन्त्रता हुँदैन। अनेकौं बुहार्तन खप्नुपर्छ। समयमा नै ब्युँझिनु पर्छ। यसको निम्ति महिलाहरू संगिनी गीतमार्फत आफ्ना पिताहरूसँग परेवा दाइजो माग्छन्, जसमा अरुण उपत्यकाले स्वर भरेको छः

जेठा र बाबाको धुरी है भरि नौ जोर परेवा
एक जोर परेवा दाइजो देउ बाबा
घुरुमा घुरु परेवा घुर्दा 
म चाँडै उठ्नेछु

माग मात्र होइन, कताकता व्यंग्य पनि झल्किन्छ 
परेवा दाइजो नि के माग्छौ चेली 
लैजाऊ है हात्ती गोठ 
परेवा दाइजो नि नदिने बाबा
के देउला हात्ती गोठ

एकातिर बिलौना छ, अर्कातिर विभेदका गुनासा पनि छन्ः

छुपुमा छुपु नि धानै रोप्नु, आलीमा रोप्नु मास, 
छोरालाई भने अंशबन्डा मलाई चाहिँ बनीबास। 

संगिनी गीतको मधुरतम लय हो– मधुसंगिनी। 
मधुसंगिनीमा बिरानो स्थानमा बस्न बाध्य चेलीहरूका मनका वेदना यसरी पोखिएका छन्ः

मधु र पोखरी नुहाउनै जाँदा घुटुक्क मलाई बाँडुली लाग्यो
बाबाले सम्झेकी 
हाम्रा कति सारो मायालु 
किन दिन्थे सातै डाँडा पारि, धर्तीकै पल्लो छेउ 

संगिनी भाकामा पुराणका कथाहरू पनि जोडिएका हुन्छन्। जस्तो रामायणको कथा जोडिएको संगिनीको गेडा यस्तो छः

कसले लगाएको यो फूलबारी, कसले बार्‍यो बार हरहर 
सीतामाईले लगाएको यो फूलबारी, रामज्यूले बारे बार हरहर

संगिनी एउटा नदी हो, यसका अनेकौं भंगालाहरू छन्। यो पानी हो, जुन भाँडोमा हाल्यो त्यही आकार लिन्छ। आफ्नोआफ्नो वर्ग अनुरूप यो भाका अभिव्यक्त भएका छन्। पूर्वी पहाडमा प्रचलित संगिनी भाका कोसी प्रदेशको लोक फूलबारीमा फुलेको मगमगाउँदो फूल हो, जुन अहिले ओइलाएर झर्न लागेको छ। लोपोन्मुख अवस्थामा छ। यसलाई झर्न दिनु हुन्न। अन्त्यमा संगिनीका केही गेडाः

कोसीको के फूल फुल्यो
फूलै फुल्यो सयपत्री 
किनारै उज्यालो 
ओ हरहर किनारै उज्यालो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.