जल्यारू

जल्यारू

पुस महिनाका कहालीलाग्दा चिसा दिनहरू थिए ती। पुस जाडो महिनामात्रै होइन। यो ‘जाडो महिनाको पनि हजुरबा’ हो। दिन आधा ढलेपछि घाट गएर एकछिन पीर बिसाउनु मेरो दैनिकी भएको थियो। नदी किनारमा हिँडिरहेका मान्छेका लामालामा छायाहरू नदीको पानी हुँदै बगिजान्थे। त्यसैले यो कथा बगिजानेहरूको कथा हो। यो छुटिजानेहरूको कथा हो। नदीसँगै सुसेल्दै हिँड्नेहरूको कथा हो यो।

स्कुल, घर र घाटको बाटो नाप्दानाप्दा सपना पनि ठूलै नाप्ने भइसकेको थिएँ। आँगनको डिलमा ढकमक्क फुलेका गुलाफका फूलहरू उन्दाउन्दा सपना पनि ठूलै उन्ने भइसकेको थिएँ। झुपडीमा जन्मेर महलका सपना देख्थेँ। अँध्यारोमा भात खाएर ‘उज्यालोको माली’ हुन खोज्थेँ। आफ्ना परेला छाम्दै, आकाश र धर्तीका परेला यानकी क्षितिज छुने सपना देख्थेँ। अग्लो हुन चाहन्थेँ। महत्त्वाकांक्षाका पखेटाहरू मेरो शरीरबाट 
उदाइसकेका थिए।

औसत दिन ढलिसकेपछिको एक साँझ, उसै गरी म खोली किनार हुँदै घाटतिर जाँदै थिएँ। स्वैरकल्पनाको खुला मैदानबाट दौडँदै आएर मेरो एउटा मनले मलाई भन्यो, ‘सम्झिनेहरू भए पो, कोही बिर्सिन्छन् कि भन्ने चिन्ता हुन्छ। जब सम्झिनेहरू नै नभएपछि, कसैले बिर्सिन्छन् कि भन्ने डर नहुँदो रहेछ। किन हराएको भन्ने प्रश्नको सुईं नघोचिँदो रहेछ।’
बदलामा फिस्स मुस्कुराइ दिएँ। सम्झेँ, ‘आफैं मुस्काउ मुसुक्क, जुन तारा टिपी कोही दिँदैन।’

ठीक त्यति नै बेला फेरि अर्को मनले भन्यो, ‘केटा। सपना देख्न नछोड् यार। तर पूरा हुने सपना कहिल्यै नदेख्। पूरा हुन्छन् भने ती सपना होइनन्। सपना जस्तै केही अरू हुन्।’
एउटै आत्माभित्र अनेकौं मन हुँदा रहेछन्। म भित्रका मेरा मनहरू ‘जुम्ल्याहा दाजुभाइ’ जस्ता छन्। घरी झगडा गर्छन्। छुट्टिन्छन्। घरी मिल्छन्। सँगसँगै हिँड्छन्। 

यो बेला मनलाई सुनेर मेरा आँखाहरू, ओभाना रहेनन्। आँसुहरूले डरलाग्दो अनुहारको भीरबाट हाम फाले। सोचेँ, ‘फूलले हान्दा पनि दुख्नेहरूको घाउमा लगाउने, मल्हम कहाँ पाइएला र ? सिसैसिसाको बाटोमा आफ्नो छातीको पूरै क्षेत्रफल ओछ्याउँदा पनि, हिँड्दा दुख्नेहरूप्रति सहानुभूतिका शब्दहरू नहुँदा रहेछन्।’

सम्झिनेहरू भए पो, कोही बिर्सिन्छन् कि भन्ने चिन्ता हुन्छ। जब सम्झिनेहरू नै नभएपछि, कसैले बिर्सिन्छन् कि भन्ने डर नहुँदो रहेछ 

सुसेली खेल्दै आएका पसिनाहरूले परैबाट हात हल्लाएर भने, ‘नरो न यार। रित्तो छस्। अक्सर मान्छेहरू रित्तो भाँडो नै त बजाउने हुन्। तिनीहरूलाई बजाउन दे।’
निधार माथिका पसिना बायाँ हातले पुछिसकेपछि सोचेँ, ‘भरिएकाहरूबाट टाढै हुन पर्ने रहेछ। भुइँमा हुनेहरूलाई पो उचाइमा पुग्ने डर हुन्छ। जो पहिल्यै उचाइमा पुगिसकेका छन्, उनीहरूलाई भुइँसँग के नाता, के सम्बन्ध ? भुइँको के वास्ता ? ’
छुट्टै मज्जा छ सोच्नुको पनि। आफ्नै मज्जा छ सुन्नुको पनि। झन् मज्जा छ आफ्नो व्यथा आफ्नै मनलाई सुनाउनुको पनि।

ooo

आधा बाटो हिँडेपछि, पर एउटा पानीघट्टसँग जम्काभेट भयो। यो घट्ट ‘भोटेनी बौजु’को हो। माथि भोटानमा (भेडा चराउने ठाउँ) भेडा चराउँदाचराउँदा गाउँको क्षत्री दाइले भोटेनीसित बिहे गरेछन्। पछि तिनै बौजुलाई सबैले ‘भोटेनी बौजु’ भन्न थाले। त्यसपछि यो पानी घट्ट जन्म्यो। यसको न्वारन भयो। यसरी यो घट्ट ‘भोटेनी बौजुको पानीघट्ट’ भयो।
धुलोले सेतो छोपिएको घट्ट बाहिरैबाट बोलाएँ। ‘बौजु , क्या छ रैबार ? निकी छौ तमी ? ’
‘निकी छु राक्या स्कुल्या (देवर)। कथ्थबाटी आया ? ’
‘काहीँ नाई। यसै खोलैखोला घुम्दो। घुमन्ते त हुँ मु।’
‘ए। क्या कामले घुम्न लाग्या त ? ’
‘काम पन केही आछी न। रहण लाग्दी। घुम्या।’
‘क्या हार्नु देवर, जिन्दगी भन्नु पन बगी झान्या खोलाका पानी जसो रैछ। कैलै उकालो आउँदो। कैलै ओरालो आउँदो। बग्या पछि नफर्किन्या।’
‘त्यही हो, बौजु। माइसको जुनी भन्नु पन, हिउँदका ठाणा (पानी जमेर बनेको बरफ) जसो धेक्या। एक दिन बिलाउनु त छँदाई छ।’

नयाँ वर्षमा कमेरो माटोले घर पोतिएजस्तै भोटेनी बौजु धूलोले सेतै भएकी थिइन्। अन्नका अनेकौं दानाहरू पिसेर धुलैधुलो बनाउन सक्ने भोटेनी बौजुले आफ्ना दुःखहरू पिसेर पिठैपिठो पार्न सकिनन्। खोलामा बिहान घाम झुल्किन्छ। साँझ घाम डुब्छ। भोटेनी बौजुको जीवनमा सुखको घाम कहिल्यै झुल्केन। न त दुःखका पहाडहरू नउदाउने गरी डुबे।
हिउँद–बर्खा नभनी पानी घट्ट निरन्तर चलिरहेको छ, आफ्नै सुरमा। आफ्नै तालमा। ऊ निर्जीव हो। हामी सजीव हौँ। हाम्रो त सास पनि निरन्तर चल्दैन। घट्टको दायाँपट्टि सानो खुल्ला चौर छ। केटाकेटीहरू खेलिरहेका छन्। उनीहरू पीठो पिस्न आएका घट्टाला हुन्। म उनीहरू भएको ठाउँमा जान्छु।

उनीहरू लाजले मुख छोप्छन्। कोही खल्तीमा हात राख्छन्। कोही हात बाँध्छन्। कोही हाई काढ्छन्। ठ्याक्कै संसद्भित्रका सांसदजस्ता। च्यातिएका काला मैला कपडा, नांगा खुट्टा, भोको पेट बोकेर उनीहरू घट्ट आएका हुन्। उनीहरूभित्र पनि ज्युँदा सपना हुँदा हुन् तर खोतल्ने 
कसले ? उनीहरू पनि उज्यालोतिर हिँड्न चाहँदा हुन तर हिँडाउने कसले ? उनीहरू पनि फुल्न चाहँदा हुन तर माली को भैदियोस् ? 
‘तम्रो घर काँ हो ? ’ मैले उनीहरूलाई सामूहिक प्रश्न सोधेँ। 
‘हप्र (माथि) पुजारीबाडा।’ सबभन्दा ठूली देखिने छोरी 
मान्छे बोली।
‘ए ए, अनि यति नाना माइस कहरी सक्दा छौ, घट्ट आउन ? ’
‘हामी कति टाढा त झाँदा छौँ। यो रे निस्सै (नजिकै)’। एउटा केटो बोल्यो।
थप केही भलाकुसारी गरी म त्यहाँबाट फर्किएँ। 
बाध्यताको लगमले उनीहरू घोडा भइरहेका छन्। अबोध बालबालिकाहरू मनको चिहानमा आफ्नै सपना पोलिरहेछन्। नदीमा बग्ने पानीले छाल हानेर बालुवा किनार पुर्‍याएजस्तो उनीहरूलाई बाध्यताको पानीले किनार पुर्‍याइरहेछ। भोटेनी बौजु, घट्टाला केटाकेटी र भोटेनी बौजुको पानी घट्टसँग बिदाइको हात हल्लाएर म नदीसँगै लय मिलाएर अगाडि हिँडेँ। 

ooo

हिँड्दाहिँड्दै दुइटा भर्खरै कलेज पढ्दै गरेकाजस्ता देखिने एक जोडी विद्यार्थी भेटिए। उनीहरू बालुवाको छाती टेकेर अघिअघि हिँडिरहेका थिए। उनीहरू पाइलामाथि पाइला मिलाइरहेका थिए। यसैले पनि उनीहरू जोडी नै हुन् भन्ने कुराको अड्कल काट्न मलाई गाह्रो भएन। म उनीहरूलाई पछ्याइरहेको थिएँ। केटाले सानो स्वरमा केटीलाई भनिरहेथ्यो,

‘सबिना ! जुन चिज एकदम सम्हालिएर राखेकी हुन्छ्यौ अक्सर त्यही चिज छताछुल्ल पोखिजान्छ। हेर, जुन चिजको सबैभन्दा धेरै केयर गछ्यौं त्यो चिज नै छिटो हराउँछ। यति कुरा चाहिँ याद राख्नू।’
हो रहेछ। मैले सबैभन्दा सम्हालेर राखेको चिज पोखियो– आँसु। अनि मैले सबैभन्दा धेरै केयर गरेर राखेको चिज हरायो– प्रेम !

ooo

हिँड्दाहिँड्दै अलि पर घनश्याम दाइ भेटिए। उनी पल्लो गाउँका नामी ‘जल्यारु’ (जाल खेल्ने मान्छे ÷ माछा मार्ने मान्छे) हुन्। सधैँ खोलाको किनारमा पानी सँगै बग्ने घनश्याम दाइले नदीमा बग्नेहरूलाई कहिल्यै भेटाएनन्। घाम डुबेको थाहा पाउने घनश्याम दाइले नदीमा मान्छे डुबेको कहिल्यै थाहा पाएनन्। झरी पर्दा बेल (सूर्य) हराएको थाहा पाउने जल्यारुले, नदीमा हराइरहेकाहरूको बारेमा थाहा पाएनन्।
नजिकै गएर मैले दाइलाई नमस्कार गरेँ। घनश्याम दाइले थाकेको मलिन स्वरमा नमस्कार फर्काए।

सुख दुःखका केही कुरा पछि मैले घनश्याम दाइलाई सोधेँ, ‘दाइ माछा मार्दै, जाल खेल्दै हिँडेको यत्रो वर्ष भयो। त्यस्तो कुनै बिर्सन नसकिने अविस्मरणीय समय याद छ ? वा बिर्सनै नसकिने कुनै पल छ ? छ भने आज सुनाइदिनुस् न। म त नदीको आवाज सुन्ने मान्छे। चराचुरुंगीको स्वर सुन्ने मान्छे। आँखा बोलेको, भुजनगाड सुसेलेको सुन्ने मान्छे। तपाईंका 
कुरा झन् सुन्छु।’

खोला किनारको एउटा चाक्लो (चौडा) ढुंगामा दाजुभाइ चकरमड्न्या (पलँेटी कसेर) बस्यौँ।
‘एक पटक जाल खेल्दाखेल्दै, जालमा माछा परेन। भाँगोले (गाँजाको बोटको बोक्राबाट बनाइने परम्परागत धागो) राम्ररी मुख बाँधेको चाउचाउको प्याकेट पर्‍यो। के रहेछ भनेर खोलेर हेरेँ। त्यहाँभित्र एउटा कागज थियो।’
दाइले यति सुनाएपछि मेरो शरीरमा काँडा उम्रिए। शरीरका रौं जर्‍याकजुरुक उठे। कान खुल्ला भए। मनमा उत्सुकताको बाढी आयो। अनेकौँ प्रश्नहरू उठे। हतपत सोधेँ, ‘दाइ त्यो कागजमा के थियो ? ’..
कागजमा यस्तो लेखिएको थियो भाइ 

प्रिय मान्छे ,
यहाँ मैले मान्छे भनेर सम्बोधन गरेँ। यो चिठी भेट्ने मान्छेलाई, यो पढ्ने मान्छेलाई अँगालोभरिको माया !
दरबारका चिठीहरू मसीले लेखिन्छन्। भुईँ मान्छेका चिठी पसिनाले लेखिन्छन्। मायालुका चिठी रगतले लेखिन्छन्। अनि आमाको चिठी ? आमाका चिठी आँसुले लेखिन्छन्। हो, यो चिठी मैले आमाको लागि, मेरा आँसुले लेख्दैछु। सुरुमै भन्छु। चिठी पाएर पढिदिनुभो। त्यसका लागि झिक्कै धन्यवाद। 
‘भुजनगाड’ खोला पारी ठूलो खेत छ हाम्रो। हाम्रो परिवार पाल्ने त्यही खेत हो। जिउनीको खेत हो त्यो। घरको धुरी भने पनि, घरको जग भने पनि त्यही खेत हो। असारमा रोपेको धान असोजमा भित्र्याउँछौं हामी।
एक पटक असारमा, ठूलोखेतमा रोपाइँ भएकै दिन खोलामा बाढी आयो। खोलो नमज्जाले बढ्यो। दिनभरि रोपाइँ सकेर साँझ घर फर्किंदा आमालाई खोलाले बगायो।

त्यसपछि न आमा घर फर्किइन्। न घरमा खुसी फर्कियो। खोलाले आमा मात्रै बगाएन। मेरो खुसी बगायो। मेरो भगवान् बगायो। मेरो गुरु बगायो। मेरो जीवनबाट ‘आमाको अध्याय’ बगायो।
बाढीले खेतका छेउकुना मात्रै चुँडेन। बाढीले मातृत्वको धागो चुँड्यो। आमाको सास चुँड्यो। बाको हृदय चुँड्यो। आमाको छाती, मेरो आँगन चुँड्यो। त्यसपछि न मैले आमा भेटेँ। न खुसी भेटेँ। न उज्यालो भेटेँ। न मेरो घाउमा मल्हम लगाउने अर्को मान्छे नै भेटेँ। 

आमालाई बगाएपछि भत्कियो, म ‘म हुनु’को अस्तित्व। त्यसपछि कहिल्यै पलाएन, सुखको हाँगो। त्यसपछि कहिल्यै हरियो फर्केन, आमाले मलाई दिने ममताको पात। त्यसपछि कहिल्यै बार्दलीमा उदाएन आमाको जून। त्यसपछि थुप्रै पटक आयो आमाको मुख हेर्ने दिन तर हेर्नलाई मेरी आमा आफ्नो घर आइनन्।

आमा बगाइदिने खोलाले, साहुलाई साक्षी राखेको तमसुक बगाउन सकेन। बाढीले बगाइदिएन, दिदी पढाउँदा बाले झिकेको धनजिते साहुको ऋण। र बगाएन, दुःखका लामा लामा शृंखला।
घर उजाड बनाईदिने खोलाले, ‘निधारमा नाम्लो बेरेर भारी बोक्दा बोक्दा, बाको निधारमाथि बसेको दाग’ उजाड बनाउन सकेन। घरमा बल्ने गरेको खुसीको दियो निभाईदिने बाढीले, निभाउन सकेन गरिबीको राँको, भोकको आगो। ठूलो खेतको सिमाना मेटाई दिने खोलाले, मेटाउन सकेन अभावले फाटेका बुवाका पैतला।

ए प्रिय चिठी भेटाउने मान्छे,
मेरा लागि शब्दकोशमा ‘आमा’ भन्ने शब्द जहाँ लेखिएको छ, त्यहाँ मेरो भाग्यले हगिदिएको छ। म के गरुँ ? कसलाई पोखुँ, आक्रोशको ज्वारभाटा ? 
आमाको न त्यसपछि लास भेटिएको छ। न सास भेटिएको छ। आमा बगादिने खोलासँग मेरो रिस कति छ होला ? चिठी पढेर अनुमान गर्नू।
आमाको लुगाफाटो, हाडखोड (हड्डीका टुक्रा), अस्थिपञ्जर जे जे हुन्छ, कतै भेटाई दिनुभो भने, मेरो घर ल्याइ दिनू। आमाको कुहिएको हड्डी नै किन नहोस्, मलाई त्यसैगरी सुम्सुम्याउन मन छ, जसरी बच्चामा तोरीको तेल लाएर आमाले मलाई घाममा सुम्सुम्याउनु हुन्थ्यो। हड्डी पो कुहिएला, आमाप्रतिको प्रेम कुहिएको छैन। त्यो कुहिन, म आफैं कुहिनु पर्छ।
यति गरिदिनुभो भने, मेरो साक्षात् भगवान् हजुर हुनु हुनेछ। हरेक गुरुपूर्णिमामा म हजुरको पूजा गर्नेछु।
बिर्खबहादुर
गैराघर, डोगडी।
यति सुनेपछि मेरा, यति सुनाएपछि घनश्याम दाइका परेली भिजिरहे। हामी बसेको ढुंगो भिजिरह्यो।
एकछिन दुवै मौन बस्यौँ। भुजनगाड एकोहोरो आफ्नै लयमा सुसाइरह्यो सुसाइरह्यो।
‘कति वर्ष पहिलेको कुरा हो दाइ यो ? ’ केही समयको ओझेलपछि मैले फेरि हिम्मतले सोधेँ। 
‘भयो होला, चार पाँच साल जति।’ एउटा हत्केला गालामा राख्दै दाइले भन्नुभो।

त्यसपछि दाइ जाल खेल्न बग्दैबग्दै खोली किनारैकिनारै जानुभो। ‘फूल दिँदा पनि स्वीकार नगरी प्रेमिका हिँडेपछि’, प्रेमी जुन हालतले हेर्छ, मैले घनश्याम दाइलाई त्यही हालतले हेरिरहेँ। आँखाले देख्ने भूगोलसम्म हेरिरहेँ। सानो सानो चित्र हुँदै उहाँ हराइरहनुभो। 

ooo

ठीक यति नै बेला पर क्षितिज हुँदै सूर्य हराउँदै रहेथ्यो– गाउँबाट। मैले पनि सोचेँ, ‘म पनि हराउँछु अब। भीडभन्दा अलि पर, कोलाहालभन्दा अलि पर। जहाँ महसुस गर्न पाइन्छ– त्यहाँ। सूर्य त भोलि फेरि आउला। उज्यालो भोलि फेरि आउला। म नफर्किन पनि सक्छु। छुटी जानेहरूको के भर ? उडी जानेहरूको के विश्वास। बगिजानेहरूको के आस ? ’
समर्पण– ती जाल खेल्ने मान्छेलाई 
समर्पण– त्यो पत्र लेख्ने छोरालाई
पुष्पगुच्छा– बगिजाने आमालाई 
सप्रेम– यी अक्षर पढ्ने मेरा पाठकहरूलाई!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.