प्रदेशलाई कानूनी मस्यौदासहितको दस्तावेज हस्तान्तरण
हेटौंडा : प्रदेश नीति तथा योजना आयोगले बागमती प्रदेशलाई चारवटा कानूनी मस्यौदा समावेश गरिएको दस्तावेज हस्तान्तरण गरेको छ।
आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्तले शुक्रबार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई उक्त दस्तावेज हस्तान्तरण गरेका हुन्।
मस्यौदा दस्तावेजहरूमा क्रमश प्रदेश तथ्याङ्क व्यवस्थापन ऐन-२०७९, प्रदेश नीति तथा योजना आयोग ऐन-२०७९, प्रदेश आयोजना बैंक दिग्दर्शन-२०७९, सङ्गठनात्मक संरचना र जनशक्ति प्रस्ताव रहेको आयोगका उपाध्यक्ष पन्तले बताए।
उनका अनुसार उक्त मस्यौदाहरू भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशका योजना आयोगहरूको बैठकद्वारा पारित गरी तयार पारिएको थियो।
मस्यौदा दस्तावेज हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव, आयोगका पदाधिकारीहरूलगायत सहभागी थिए।