पोखरा-जोमसोम हवाई मार्गमा मौसम हेर्न अत्याधुनिक क्यामेरा
जोमसोम : हवाई उडानमा अत्यन्तै सम्वेदनशील मानिएको पोखरा-जोमसोम हवाई मार्गमा अत्याधुनिक क्यामेराको सहयोगमा मौसम हेर्न सकिने प्रविधिको प्रारम्भिक परीक्षण गर्न थालिएको छ।
नेपाल नागरिक उड्यन प्राधिकरणको अनुरोधमा राष्ट्रिय अविष्कार केन्द्रले पोखरा-जोमसोम हवाई मार्गमा पर्ने विभिन्न जोखिमयुक्त स्थानको मौसम थाहा पाउने उक्त प्रविधि विस्तार गरिएको हो।
म्याग्दीको अग्लो-अग्लो स्थानमा राखिएको क्यामेराको माध्यमबाट सो स्थानको मौसम हेर्न मिल्ने अत्याधुनिक क्यामेरा जडान गरिएको राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन्।
पोखरा-जोमसोम हवाई मार्गको समून्द्री सतहदेखि २३०० सय मिटरदेखि ३३०० सय मिटर अग्लो स्थान उक्त अत्याधुनिक क्यामेरा जडान गरिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरूले मौसमी विवरण थाहा पाउन सक्ने प्रविधिको एक महिना अघिदेखि नियमित परीक्षण गरिरहेको केन्द्र प्रमुख पुनको भनाइ छ।
पोखरा-जोमसोम बीचमा पर्ने अग्ला डाँडा र खोंचहरूको दृष्य कैद गर्न सीसीटीभी जडान भइसकेको बताएका छन्।