जोशीको शरीर अध्ययनका लागि किष्ट कलेजमा राखिने
ललितपुर : संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ। उनको शरीर किष्ट मेडिकल कलेजमा नै अध्ययनका लागि राखिने किस्ट मेडिकल कलेजका प्राध्यापक डा सुरज बज्राचार्यले जानकारी दिएका हुन्।
उनका अनुसार जोशीको शरीरमा नगल्ने खालको केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने छ। सत्यमोहन जोशीले अस्पताललाई रिसर्चका लागि भनेर जिवित हुँदै शरीर दान गर्ने निर्णय गरेका थिए ।
लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो।
परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो। केही दिन अगाडिबाट नै जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। किस्ट अस्पतालले जोशी दम्पत्तिको नि:शुल्क उपचार गर्दै आएको छ।
जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मेका हुन्। नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षणमा लागेका उनलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।
उनले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे। उनले सुप्रबल गोर्खा दक्षिणबाहुलगायत धेरै पुरस्कार र सम्मान समेत पाएका छन्। २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो।