‘बढ्दो आयातले अर्थतन्त्र संकटमा’
काठमाडौं : बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको सरोकारवालाले बताएका छन्। एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग क्षेत्रमा ५० प्रतिशत ह्रास आएको बताए।
कुल गार्हस्थ्य उत्पादनमा उद्योगले १५ प्रतिशत योगदान दिँदै आएकामा घटेर ५.२ प्रतिशतमा झरेको उनको भनाइ छ। ‘उद्योगी विदेशी सामान बिक्री गर्ने ‘एजेन्ट’का रूपमा मात्रै केन्द्रित भइरहेका छन्,’ गोल्छाले भने, ‘निजी क्षेत्रका तर्फबाट मेक इन नेपाल, मेड इन नेपाल अभियान सुरु गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन।’
पूर्वसचिव यामकुमारी खतिवडा व्यापारघाटा उच्च भइहरेका बेला आयात व्यवस्थापन गर्न सकिने बताउँछिन्। ‘पूर्णरूपमा आत्मनिर्भर हुन नसके पनि आयात व्यवस्थापन गर्न सकिन्छ’, खतिवडा भन्छिन्, ‘त्यसका लागि रणनीति बनाएर अघि बढ्नुपर्छ।’ व्यापार घाटा बर्सेनि बढ्दै गएको छ। नेपालमै सम्भावना रहेका वस्तु तथा सेवा पनि धमाधम आयात भइरहेका छन्। ‘कृषिमा उत्पादन बढाउन, भेहिकल पनि यहीँ भ्यालू एड गरी एसेम्बल गर्न सकिन्छ’, खतिवडा भन्छिन्, ‘विद्युत्को खपत बढाएर इन्धनको आयात घटाउन सकिन्छ।’ इन्धन, सवारीसाधान, खाद्यन्न, फलाम बढीमात्रामा आयात भइरहेको छ। खानीको संभावना प्रशस्त रहे पनि उत्खनन् गर्ने जनशक्ति नहुँदा समस्या आएको खतिवडाको भनाइ छ।
पूर्वउद्योग सचिव खतिवडा वस्तु तथा सेवा निर्यात गर्न नसके पनि देशभित्रै खपत गर्न सके आयातमा जाने पैसा जोगाउन सकिने बताउँछिन्। अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले रिटेल, होलसेलम व्यापारमै रमाइरहेकाले अर्थतन्त्र खस्किँदै गएको बताए। ‘अब सहुलियत ऋण तथा अनुदान आउने अवसर पनि छैन। सहुलियतको झ्याल/ढोका बन्द भइसकेको छ’, वाग्लेले भने, ‘प्रतिव्यक्ति आय ४ हजार डलरमा पुग्न अझै १० वर्ष लाग्न सक्छ।’
तरकारी, फलफूल तथा खाद्यान्न उत्पादन मात्र नभई कृषि र कृषिजन्य उद्योगको प्रशस्त संभावना रहेको नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बताए। ‘कृषि छाडेर सेवाक्षेत्रमा जाँदा समस्या भयो’, गोल्यान भन्छन्, ‘उद्योगलाई संरक्षण दिन सके आयात प्रतिस्थापन गर्न सकिन्छ।’
जडिबुटीमा प्रशस्त संभावना भएपनि उपयोग गर्न नसकिएको गोल्यान बताउँछन्। गोल्यानले नेपालको वन उपयोग गरेर ५ खर्बको जडिबुटी निर्यात गर्न सकिने बताए। ‘कपास खेती, उद्योग हुँदै गार्मेन्ट बनाएर कपडा उत्पादन गर्न सकिन्छ,’ गोल्यानले भने, ‘स्वास्थ्य, शिक्षा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रबाट फड्को मार्न सकिने उनले बताए।’ सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले आयात प्रतिष्ठान र निर्यात गर्न राज्यले नीति बनाएर सम्बोधन गर्न सक्नुपर्ने बताए। ‘ब्याजदर महँगो भएर उद्योग नचल्ने स्थिति आयो’, भण्डारी भन्छन्, ‘ब्याजदर वाञ्छित सीमामा हुनुपर्छ।’