सत्यमोहनको सत्ययुग
नेपाली जनस्थानमा उच्चाकर्षण बनाउनु भएका एक श्रद्धेय पात्र सत्यमोहन जोशीले १०३ वर्षको उमेरमा देह त्याग गर्नुभयो। १०३ वर्ष लामो जीवनमा उहाँले सबैभन्दा बढी युवाहरूलाई उत्साह, उमंग अनि सन्देश दिनुभयो। त्यो सन्देश हो, जीवनको कुनै पनि क्षण खेर नफाल।
पद प्रतिष्ठा र पुरस्कार सम्मानको कुनै लोभ नभएका सत्यमोहन जोशी एक मात्र साहित्यकार हुन् जसले आफ्नो साहित्यिक योगदानबापत तीनपटक मदन पुरस्कार पाउनुभयो। मदन पुरस्कार पुस्तकालय गुठीले पुरस्कार स्थापना गरेको साल पाउने तीन प्रमुख व्यक्तिमध्ये एक उहाँ पनि हुनुहुन्थ्यो।
दोस्रो पटक फेरि उहाँले मुद्रा विषयक पुस्तकमा मदन पुरस्कार पाउनुभयो। तेस्रो पटक उहाँसहित अन्य चार जनाले मदन पुरस्कार पाउनुभयो। त्यो कर्णाली संस्कृतिका बारेमा उहाँ बाहेक, स्थिरजंगबहादुर सिंह, चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ र प्रदीप रिमाल हुनुहुन्थ्यो। पुरस्कार पाउने त्यस शृंखलामा प्रदीप रिमाल साहित्यिक नाताबाट एक टाढाका पात्र हुनुहुन्थ्यो।
चलचित्रकर्मी प्रदीप रिमालको जन्म ललितपुरको लुभूमा भएको हुनाले उहाँको गीत–संगीतको ज्ञानको रुचि बुझेर सत्यमोहन जोशीले उहाँलाई आफ्नो मेगा प्रोजेक्टमा सामेल गराउनुभयो। प्रदीप रिमालले आफ्नो त्यो काममै पहिलो मदन पुरस्कार पाउनु भयो र भन्नुभएको थियो, मेरो निम्ति त यो भुतो न भविष्यति ... सत्यमोदन दाइको विश्वास जितेँ। उहाँले मलाई जित्नुभयो। हामीले सबैले मदन पुरस्कार जित्यौँ।
जीवनको अन्तिमकालमा ललितपुर कोपुण्डोल आएर बस्नु भएका रिमालले बाँचुञ्जेल जोशीको गुण गाइरहनुभयो। चलचित्र माया, के घर के डेराका निर्देशक रिमालको सत्यमोहनसँग एउटा चिनाजानीले जीवनमा धेरै बाटो खुल्यो। त्यसपछि उहाँले गीत–संगीत, अनि विशेषतः लोकजीवनका पक्षमा जोशीकै प्रेरणाले अध्ययन बढाउनुभयो। यस्ता धेरै प्रतिभा छन् जो सत्यमोहनको सम्पर्कमा आएपछि जीवनलाई ऊर्जाशील र उन्नत बनाउन पुगे। सत्यमोहन युवाका लागि त्यस्ता सत्पात्र हुन्।
राजा महेन्द्रले अम्बर गुरुङलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत विभागका योजक बनाएर ल्याए पनि उहाँको खास काम देखिएको थिएन। अम्बर गुरुङको सांगीतिक क्षमता बुझेर सत्यमोहनले आफ्नो नाटक फर्केर हेर्दामा संगीत गर्ने काम दिए, हुन त यो अफिसियल काम थियो तर सत्यमोहन फर्केर हेर्दा नाटकका लेखक, परिकल्पनाकार अनि गीतकार पनि थिए। फर्केर हेर्दा नाटकमा सत्यमोहनले लेख्नु भएको गीत फर्केर हेर्दा जे देख्छौ तिमी कसैलाई नभन ... बाट संगीतकार अम्बर गुरुङ, गायक फत्तेमान राजभण्डारी अनि नाटक पनि सफल साबित भयो। यसै नाटकको मञ्चनको सफलतापछि प्रज्ञा प्रतिष्ठानले उपकुलपति चढ्ने रातो भ्यान किन्न सकेको कुरामा उहाँ गर्व गर्नुुहुन्थ्यो।
त्यो समयको प्रज्ञा प्रतिष्ठानमा नाटक लेख्ने दुई नाटककार प्राज्ञ भएको ठाउँमा बसेर उहाँले विकेट झार्नु भएको थियो, यो उहाँको क्षमता र समयलाई बुझ्न सक्ने शक्तिको कुरा थियो। उहाँ स्वयम्ले रेडियो सगरमाथाको निम्ति मसित गर्नु भएको तीन रातको निरन्तर कुराकानीमा भन्नुभएको थियो, दार्जिलिङको नाटक अनि देवराली रुन्छको सफलतापछि यत्तिको नाटक हामी किन गर्न सक्दैनौं भनेर मैले लेखेको हुँ। उहाँले आफूभन्दा जुनियर नै भए पनि त्यतिबेला मनबहादुर मुखियाको नाटक गर्ने शैलीबाट आफू प्रभावित भएको मान्नुहुन्छ। सत्यमोहन जोशी जसरी युवालाई प्रेरणा दिनु हुन्छ त्यसरी नै युवाहरूबाट पनि प्रेरित हुने ताकत पनि राख्नुहुन्छ। सत्यमोहनले नाटक, गीत, भाषा, संस्कृति, भेषभूषा हरेक विषयमा जसरी ज्ञान राख्नुभएको छ त्यही मात्रामा उहाँले गीत–संगीतमा पनि असाध्य रुचि लिनु भएको देखिन्छ।
काठमाडौंमा पढ्न बस्दा उहाँ आफ्नो घरबाट सामल तामल बोकेर काठमाडौं आउँदा बाटोमा पर्ने लुमडी अजिमा (हालको भद्रकाली मन्दिर) को परिसरमा पहिलो पटक उस्ताद् बद्रीको ठुमरी सुनेपछि मन्त्र मोहित भएको कुरा कालीप्रसाद रिजाल रचित ठुमरी एल्बम विस्तारै विस्तारैको विमोचनमा उहाँले सविस्तार व्याख्या गर्नुभएको थियो । डिल्लीबजारका गायक उस्ताद बद्रीकाबारे आफैंले पनि सोधखोज गरेको र अध्ययन गरेको कुरा सो सभामा उहाँले व्यक्त गर्नुभएको थियो।
तत्कालीन सरकारले दानापानीको जिम्मा लिएका उस्ताद बद्रीलाई उहाँले नै नेपालको पहिलो ठुमरी गायक हो भनेर चिनाउनु भएको सम्झना गर्नुहुन्थ्यो। नेपाली गीत–संगीतको खोजीमा सक्रिय रामशरण दर्नाललाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानसँग घनिष्ठ बनाउनमा उहाँको अहम् भूमिका थियो भने लोकसंंस्कृतिविद् सुवी शाहलाई पनि अत्यन्त सहयोग गरेको देखिन्छ।
नेपाल प्रज्ञा प्रतिष्ठानले सबैभन्दा बढी कमाइ गर्ने कार्यक्रम गाईजात्रा महोत्सवको सुरुवात गराउने श्रेय पनि उहाँलाई नै जान्छ। यही गाईजात्रा महोत्सवबाट सन्तोष पन्त, हरिवंश आचार्य, परीक्षित ढुंगाना, वसन्त सापकोटा, सुशील दीक्षित, उज्ज्वल मैनाली, तैयब शाहजस्ता कलाकार पदार्पण भए। गाईजात्रा महोत्सव कार्यक्रमका लामो समय ध्वनि परिचालक र कार्यक्रम संयोजक हुनुभएका यादव खरेल सम्झना गर्नुहुन्छ, सत्यमोहन सरले सुरु गर्नुभएको गाईजात्रा महोत्सव एकडेमीको एउटा गौरवशाली कार्यक्रम थियो।
त्यसको चार्म नै बेग्लै थियो। यादव खरेल, केशवमान प्रधान, मदनकृष्ण श्रेष्ठ, गोपालराज मैनाली हरिवंश आचार्य, लक्ष्मी श्रेष्ठ, सावित्री शर्मा त्यस समय जोशीकै नेतृत्वमा खट्थे, त्यो अझै प्रज्ञा प्रतिष्ठानले परिवारले बिर्सन सकेको छैन। सत्यमोहन जोशीको जीवनको महत्वपूर्ण समय दुई भागमा बाँडियो, अध्ययन अनुसन्धान। लेखन प्रकाशन। यी दुवै समयमा उहाँले एकरत्ति समय खेर फाल्नु भएन, न्युजिल्यान्ड पुगेको नेपालीको यात्रा संस्मरण होस् वा नेपाली कलाको रूपरेखा (प्राचीन र मध्यकालीन) यी सबै पुस्तकमा उहाँको अध्ययनको पुँजी देखिन्छ।
रचनाकर्मबाहेक उहाँले आफ्नो विशेष समय कार्यक्रमको प्रमुख अतिथि भएर जाने अर्को खण्ड बनाउनुभयो। कार्यक्रममा प्रमुख अतिथि भएर जाँदा उहाँ अरू अतिथिजस्तो रिबन काट्ने र मञ्चमा बस्ने मात्र नभइकन आफ्नो बौद्धिक व्याख्यान दिएर श्र्रोतादर्शकलाई लाभान्वित गर्नुहुन्थ्यो, त्यो अन्य अतिथिमा विरलै पाइन्छ। साहित्यिक सांगीतिक होस् वा नाटक चलचित्रका कुनै पनि कार्यक्रममा उहाँ एक आकर्षक शोभा बन्न सक्नुहुन्छ।
एउटा स्मरणीय कुरा यहाँ उल्लेख गर्न जरुरी छ, २०४६ सालमा तत्कालीन पञ्चायती व्यवस्थाको दमनको विरोध गर्दै वाक् स्वतन्त्रता हनन् भएको आक्रोशमा नेपालका विभिन्न भाषाका साहित्य, संगीत र चित्रकला विधाबाट विरोधमा स्रष्टा सर्जकहरू मुखमा कालोपट्टी बाँधेर सडकमा उत्रिए। त्यसमा सबैभन्दा ज्येष्ठ व्यक्ति दुईजना थिए, युद्धप्रसाद मिश्र र सत्यमोहन जोशी। मिश्र सुरुवातदेखि नै वामसमर्थक भएर गीतसंगीत रचनामा सक्रिय थिए तर सत्यमोहनको परिवेश त्यो थिएन। उहाँका समकालीनहरू सबै प्रज्ञा प्रतिष्ठानमा विराजमान थिए, उहाँ सडकमा हुनुहुन्थ्यो।
समयप्रति सचेतना उहाँको त्यो दुर्लभ गुणको परिणाम त थियो नै तर त्यसैमा उहाँको नैतिकताको आधार पनि देखिन्थ्यो। नेपालभाषाका कवि दुर्गालाल श्रेष्ठ, मदनमोहन मिश्र, श्रीकृष्ण अणु, गणेश सायमी, राजभाइ जकःमी का साथ उहाँ पारिजात, शिव अधिकारी, गोविन्द वर्तमान, रामेश, रायनका साथ त्यो आन्दोलनमा सरिक हुनुहुन्थ्यो। यो नै सत्यमोहनको जीवनीभित्रको आगोको मुस्लो हो, पहिचान हो। सत्यमोहनलाई जीवनको यो उचाइमा पुर्याउने सही चीज पनि यही पहिचान हो।