मिथिला ज्ञानको भण्डार
जिन्दगीका सन्दर्भमा चर्चित हिन्दी फिल्म ‘आनन्द’को एउटा डायलग निकै भन्ने–सुन्ने गरिन्छ, ‘जिन्दगी लम्बी नहीं, बडी होनी चाहिए।’ पक्कै पनि जीवनको गहिरो अर्थ, औचित्य र सार्थकता बोकेको छ यस वाक्यले। तर, जब त्यस्तै ‘बडी’ जिन्दगी ‘लम्बी’ रूपमा समेत कसैले प्राप्त गर्छ भने त्यो जिन्दगी त्यस कालखण्डको देश, समाज र जनताका लागि प्रकृतिबाट प्राप्त अमूल्य उपहार हुन जान्छ। जीवन कुनै एक व्यक्तिको भए पनि त्यसबाट सिंगो युग लाभान्वित हुन्छ।
हामी त्यस्ता सौभाग्यशाली मानिसहरूमा पर्छौं, जसले यस्ता उपहार दुई–दुई स्वरूपमा प्राप्त गर्न सक्यो। काव्य–गगनमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र सांस्कृतिक फाँटमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको सान्निध्य, स्नेह र साहचर्यमा सास फेर्न पाउनुलाई एउटा सृजनधर्मी हुनुको नाताले मैले जीवनको ठूलो उपलब्धि मानेको छु।
सामान्यतया ७०–८० वर्ष उमेरपछिको अवस्थामा कुनै व्यक्तिको देहान्तको खबर सुन्दा हामी औपचारिकतामा दुःख व्यक्त गरे पनि मनमनै ‘ए, उमेर त भइसकेकै रहेछ’ भनेर सन्तोष मान्छौँ। तर, यी दुवै व्यक्तित्वले शताब्धिक वर्षको सुदीर्घ जीवनपछि महाप्रयाण गर्दा पनि हामीले ठूलो रिक्तता महसुस गरिरहेका छौँ। उमेर पुगिसकेको भनेर सन्तोष मान्न सकेका छैनौँ। यसै कुराले उल्लिखित दुवै विभूतिको जीवन–सार्थकतालाई प्रमाणित गर्छ।
एउटा पृथक् सांस्कृतिक पृष्ठभूमिबाट आएर समग्र राष्ट्रको साहित्य–संस्कृतिमा केही गर्ने जमर्को गरिरहेको म योगदान र गुणस्तरमा शताब्दीपुरुष सत्यमोहन जोशीको शतांश पनि नहुँला। तर, कतिपय सन्दर्भमा उहाँको अनुगामीसम्म बन्न पाएको सम्झँदा मात्र पनि गौरवान्वित हुन्छु। म मिथिलाको भाषा–संस्कृतिका साथ हुर्केर त्यसैको ऊर्जा र ऊष्माले साहित्य–संस्कृतिको क्षेत्रमा ताते गर्दै गरेको मान्छेलाई जोशी सरको अथाह ज्ञानभण्डारबाट मिथिलाका बारेमा कतिपय आधारभूत कुराबारे ज्ञान मिल्दा पटक–पटक म अचम्भित भइरहेँ।
मिथिलाको विद्वत्परम्परा, गौरवगाथाका कुराहरूबारे मिथिला भूमिमै जान्न–बुझ्नबाट वञ्चित रहेकोे कुरा ‘मनु मखु मडिस्या ख’ भनेर हेपाइको शब्दावली प्रचलित छ भनिने नेवा प्रदेशमा आएर मैले जोशी सर र उहाँद्वारा प्रवाहित ज्ञान–परम्पराका संवाहकहरूबाट यथेष्ट जानकारी पाएँ।
मिथिलाकै कुनै आधुनिक लेखक, चिन्तकहरूले कोट्याउन आवश्यक नठानेका मिथिला विभूति महर्षि याज्ञवल्क्य र उनको अद्वैत दर्शनलाई आधार बनाएर जोशी सरले नाटक लेख्नुभयो र उपत्यकामा त्यसको यथेष्ट मञ्चन पनि भयो। कोभिड कालभन्दा अघि म यतिखेर प्राज्ञ परिषद् सदस्यका रूपमा संलग्न रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘मुकुण्डो नाच महोत्सव’ को योजनासम्बन्धी बैठकको क्रममा जोशी सरबाट यससम्बन्धी अनेकौँ निकै चाखलाख्दा सन्दर्भहरू थाहा भयो।
मुकुण्डो नाचहरू प्रायजसो तन्त्रमा आधारित भएको र यस्ता तान्त्रिक प्रक्रिया तथा नृत्यहरू मिथिलाबाट आएको उहाँले बताउनुभएको थियो। मूल मिथिलामा तान्त्रिक प्रक्रियासँग सम्बद्ध झिझिया, जटजटिनजस्ता केही नृत्यहरू मात्र बाँकी रहेका र तिनको पनि प्राज्ञिक पाटो गौण रहेको अवस्थामा जोशी सरबाट प्राप्त यो जानकारी मेरा लागि ठूलो हौसलाको विषय थियो। त्यसै क्रममा मैथिल र नेवारहरूबीचको सुसम्बन्धका कतिपय पक्षहरू सामान्य रूपले प्रकट भएका थिए। यो सम्बन्ध मल्ल राजाहरूले मैथिली भाषामा लेखेका वा लेखाएका सैकडौँ नाटक र गीतहरूमा मात्र सीमित नभई दुवै समुदायको मूल नै कर्णाट वंशीय राजवंश र कर्णाटकसँग जोडिएको प्रसंग पनि छोइएको थियो। मिथिला र नेपालमण्डलको घनिष्टता सामान्य रूपमा सुनेकोभन्दा बढी गहिरो भएको थाहा पाएपछि मैले ‘सर, एक दिन दिनभरि बसेर यस विषयमा कुरा गर्न आउँछु’ भनेँ। उहाँले ‘तपाईं जहिले पनि आउन सक्नुहुन्छ’ भन्नुभयो। तर लगत्तै कोरोनाको महाप्रकोप आइदिएर हाम्रो प्रतिष्ठानले मुकुण्डो नृत्य महोत्सव गर्नबाट वञ्चित हुनुपर्यो नै, मैले भेटघाट गर्ने साइत पनि जुरेन।
कोरोनाको डर रहुञ्जेल उहाँकहाँ पुग्नबाट म स्वयं डराइरहेँ। अलि मत्थर भएको बेला योजना बनाउँथेँ, तर उहाँ बिरामी भएका खबरहरू बाहिरिन्थे। उहाँ पूर्णरूपमा स्वस्थ भएपछि सारा प्रसंगहरू भिडियोमै रेकर्ड गरिराख्ने मनसुवाका साथ म अनुकूल समयको प्रतीक्षा गरिरहेँ। बिना लौरो, बिना चस्मा बिना सहयोगी सहज जीवनयापन गर्दै आउनुभएका जोशी सरले अझै एक–दुई दशक सजिलै बिताउनुहुन्छ भन्ने विश्वासले पनि म उपयुक्त समय पर्खिरहेँ। तर कालले छलपूर्वक म र मजस्ता जिज्ञासुलाई निराश पार्दै जोशी सरलाई लगिदियो।
मैले जीवनमा प्राप्त गरेका सम्मान, पुरस्कारहरूमध्ये नइ पुरस्कार ग्रहण गर्दाको एउटा सन्दर्भ यहाँ उल्लेख गर्न चाहन्छु। मेरा केही गणतान्त्रिक मित्रहरूले तपाईंजस्ता लोकतन्त्रको लडाइँमा योगदान दिने मान्छेले नइको पुरस्कार लिन नहुने भनेर सुझाए। मैले भनेँ— त्यतिखेर आन्दोलनकारीहरूलाई गोली ठोक्ने आदेश दिनेहरू अहिले चर्का गणतन्त्रवादी भइसके। त्यस्ता नेता–कार्यकतालाई टाउकामै राखेर हर्षबढाइँ गर्नबाट कुनै पनि पार्टी अछुता रहेनन्, यस्तोमा नइ भनेका मात्र यस्ता व्यक्ति÷संस्थाका रूपमा देखिएका छन्, जसको भाषा र चरित्र दुईजिब्रे छैन। यस्ताबाट आममानिसले धोका खाँदैनन्।
वस्तुतः केही वर्षअघि जोशी सरलाई कथित राष्ट्रवादको मोह वा भ्रमबाट मुक्त रहेको देखेपछि उहाँप्रतिको मेरो आस्था अझ घनिभूत भएको थियो। त्यो यस्तो बेला थियो जतिखेर देशको ऐनामा आफ्नो अनुहार नदेखिनेहरू पहिचानको लडाइँमा लागेका थिए। राष्ट्रवादी व्यक्ति र मिडियाहरू प्रायः आफ्नो धरातललाई समेत बोकेर हिँड्न खोज्ने तर समग्र राष्ट्रियताको सत्तोसराप नगरी त्यसको प्रवद्र्धनमा योगदान दिइरहेकाहरूलाई सोध्थे— तपाईं पहिले मधेसी कि नेपाली रु यस्तै तपाईं पहिले नेवार कि नेपाली रु तपाईं पहिले जनजाति कि नेपाली रु आदि।
काठमाडौंको टुँडिखेलमा आयोजित एक सभामा विभिन्न नेवारी भाषिक अभियन्ताहरूका साथै जोशी सर पनि शिरमा नेवा प्रदेश भनी लेखिएको रातो पट्टी बाँधेर त्यहाँ आउनुभयो। मलाई अचम्म लाग्यो— नेपाली भाषा–साहित्यको सेवा गरेबापत तीन–तीन पटकसम्म मदन पुरस्कारबाट विभूषित व्यक्ति पनि प्रकारान्तरले नेपाली भाषाको एकछत्र रजाइँविरुद्धको जनसभामा रु बिस्तारै उहाँछेउ पुगेर गफिन थालेँ। उहाँले भन्नुभयो— म पहिले नेवार त्यसपछि बल्ल नेपाली। यदि म अमेरिकामा जन्मेको भए अमेरिकन हुन्थेँ, तर नेवारी पहिचान त्यहाँ पनि हुन्थ्यो। जोशी सरको त्यो संलग्नता र प्रष्टताले मलाई निकै प्रभावित पार्यो।
हामीजस्ता फरक समुदायबाट आएर राष्ट्रको मूल भाषामा लेखपढ गर्नेहरूलाई प्रायः राष्ट्रियताको दुहाइ दिँदै ‘तपाईं नेपाली साहित्यमा यस्तो उचाइ राख्नेले पनि यसरी सानतिनो कुरामा अल्झिन हुन्छ’ भन्ने प्रश्न गरी पथभ्रष्ट गराउन खोजिन्छ। तर यसो भन्नु वा मूल धरातललाई चटक्कै बिर्सेर सत्ताले कल्पेको बृहत् धरातलको अभ्यर्थना गर्न उत्प्रेरित गर्नु, लोभ्याउनु, डराउनु भनेको राष्ट्रिय वैशिष्ट्य र सम्पदाहरूलाई बिटुल्याउने षड्यन्त्र गर्नु हो। यस्ता षड्यन्त्रहरूलाई चिर्दै हिँड्ने नै सत्यमोहन हुँदो रहेछ।