पासपोर्ट संग्रहालयमा

पासपोर्ट संग्रहालयमा

काठमाडौं : वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले सन् १९५१ मा ‘फेलोसिप’पाए। श्रीलंका जानुपर्ने भयो। तर, त्यतिबेला मुलुकमा राहदानी (पासपोर्ट)को व्यवस्था थिएन। ‘टु हुम इट मे कन्सर्न ( जो जससँग सम्बन्धित छ, यो मान्छेलाई मद्दत गर्नु ) भन्ने सरकारी पत्रलिएर श्रीलंका गए। त्यो नै जोशीको पहिलो विदेश यात्रा थियो। 

उनी त्यस समयमा निकै खुसी थिए। जसको कारण थियो, यूएनको फेलोसिप। विषय थियो, जन्म र मृत्युसम्बन्धी अध्ययन। त्यही गएर काम गर्नुपर्ने। त्यही सिक्नुपर्ने। र, त्यही बसेर पढ्नुपर्ने। जुन कार्य सकेर उनी स्वदेश फर्केर आएका थिए। 

उनको दोस्रो विदेश भ्रमण चीन थियो। त्यस बेला भने राहदानीको चलन आइसकेको थियो। उनले सन् १९८० अप्रिल २५ मा परराष्ट्र मन्त्रालयबाट ४८ पृष्ठको राहदानी लिए। जुन हस्तलिखित थियो। राहदानी विभागले गतवर्ष १ सय २ वर्षको उमेरमा पहिलो ई—पासपोर्ट जोशीका नाममा जारी गरेको थियो। हस्तलिखित राहदानी विभागको संग्रहालयमा राखिएको छ। ‘केही समयपछि सबैका लागि अध्ययन अवलोकनका लागि खुला गर्छौं’, राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले भने।

जोशीले दोस्रो पटक पनि चीनको यात्रा गरे। त्यस बेला राहदानी त थियो। तर, परिवारका सदस्यसहित चीन जानुपर्ने थियो। एउटै राहदानीमा श्रीमती र दुई छोराछोरीलाई लिएर गएका थिए। गत वर्ष ई–पासपोर्ट लिएपछि जोशीले अनुभव सुनाएका थिए, ‘केटाकेटी कुरा गर्न नजान्ने। एउटा ४ वर्षको, अर्को ६ वर्षका थिए। त्यो बेला पासपोर्ट आयो यहाँ। त्यो बेला पासपोर्ट खुल्यो। दुवै बच्चालाई आमाको हात समाउन लगाएँ। एउटै पासपोर्टमा चीन उड्यौं।’ 

उनले गतवर्ष नै आफू अब धेरै वर्ष बाँच्न नसक्ने सुनाएका थिए। आइतबार बिहान त्यस्तै भयो। १ सय ३ वर्षको उमेरमा कहिले नफर्किने गरी महाप्रस्थान गरेका छन्। सबैलाई रुवाएर आफू अन्ततः यात्रामा बिलिन भएका छन्। 

‘मजति थोरै मान्छे बाँच्छन्’, त्यस बेला ठट्यौली गर्दै जोशीले भनेका थिए, ‘त्यस मध्येको म एक हुँ।’ र, बालकृष्ण समको मुकुन्द इन्दिरा नाटकको अंक ठट्यौली पारामा सुनाएका थिए :
जब पुग्यो पचास।
पेटमा बतास।।
जब पुग्यो साठी।
हातमा लाठी।।
जब पुग्यो सत्तरी। 
हिँड लत्रीलत्री।।
जब पुग्यो असी।
कुनामा बसी।।
जब पुग्यो नब्बे। 
हब्बे न कब्बे।।
जब पुग्यो सय। 
यमराजको भय।।

उनी हँस्यौली शैलीमा यी हरफर सुनाउँदै भाबुक बनेका थिए। ‘सय वर्ष पुगेपछि अब के भन्ने ? आज मरे मर्‍यो, भोलि मर्‍यो, मर्‍यो’, उनले भनेका थिए, ‘बुढेसकालमा कहाँ जाने ? के को निम्तिजाने अब ? कामै छैन विदेश जाने।’ 

उनले नयाँ पासपोर्ट लिए पनि विदेश नजाने सुनाएका थिए। ‘मैले पुरानो पासपोर्ट संग्रहालयलाई दिएँ,’ उनले भनेका थिए, ‘पहिलो विद्युतीय पासपोर्ट मलाई दिइयो। पासपोर्ट त दियो तर मलाई योलिएर बाहिर निस्किन मन छैन। अब म जहाज पनि चढ्न सक्दिनँ।’ अमेरिका, क्यानडा, रुस जस्ता ठाउँ—ठाउँ पुगिसकेंँ। आफ्नो घुमघाम सिद्धिएको उनले सुनाएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.