शिरमा आमाको सम्झना
काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीलाई मैले जहिले देखेँ, त्यही बेलादेखि मेरा आँखा उनले लगाउने टोपीमा परेका थिए। तडकभडकबाट टाढै रहने जोशी सधैं एउटै टोपी लगाउँछन्। सामान्य कपडाको। एकदमै सादा। हल्का खैरो। तर, बिल्कुल फरक खालको।
संस्कृतिविद् जोशी किन यस्तो टोपी लगाउँछन् ? मैले उनलाई यो प्रश्न गत वर्ष सोधेकी थिएँ। ‘एक सयौं जन्मदिन’भन्दा केही पहिला म कामको सिलसिलामा उनको घर पुगेकी थिएँ। मेरो प्रश्न थियो, ‘तपाईंले लगाउनुभएको टोपी अरूका भन्दा नितान्त फरक देख्छु। यसको कुनै रहस्य छ कि ?’ उनले प्रश्नप्रति त्यति रुचि नराखी जवाफ दिए– ‘सामान्य खालको।’ मन नलागी–नलागी उत्तर दिएजस्तो लागेपछि मैले दोहोर्याएर सोध्ने आँट गरिनँ।
पाटन दरबारको भण्डारखाल बगैंचामा गत माघ १५ गते जोशीकै बारेमा लाइभ पेन्टिङ हुँदै थियो। सयौं कलाकार आफ्नै लयमा जोशीलाई हेर्दै आकृति उतारिरहेका थिए। कलाकारतिर फर्किएर मेचमा बसिरहेका जोशीछेउ म पुगेँ। ‘कस्तो चित्र कोर्दै छन् तपाईंले हेर्नुभयो ?’, उत्साहित हुँदै उनले मलाई सोधे।
उनी आफ्नो चित्र हेर्न उत्सुक देखिन्थे। केहीबेर लाइभ पेन्टिङका विषयमा कुरा गरेपछि म पुनः टोपीकै विषयमा आएँ। मैले सोधें, ‘तपाईंले लगाउनुभएको यो फरक टोपीको केही अर्थ छ ? सधंै एउटै रंगको तर अरूका भन्दा फरक टोपी किन लगाउनुहुन्छ ?’ उनी यो भेटमा अलिक खुसी र खुलेका देखिन्थे। उनले भने, ‘मेरो आमाको देहावसानपछि मैले यस्तो टोपी लगाउन थालेँ। आफ्टर डेथ अफ माई मदर। जस्ट इन अ मेमोरी।’ त्यसभन्दा बढ्ता फेरि केही खोल्न चाहेनन्।
मेरो मनको खुलदुली मेटिनुको साटो झन् बढ्यो। र, जिज्ञासाको पोको बोकेर उनको घरमै पुगें। उनी श्रीमती राधादेवीसँग घाम तापेर बसिरहेका थिए। मैले पुनः टोपीका विषयमा कुरा गर्न चाहेको बताएँ। तर, उनले उसरी नै विषयान्तर गर्न चाहे। ‘भनें नि, यो सामान्य टोपी हो’, उनले भने।
अन्य विषयमा कुराकानी भयो। यद्यपि, मेरो धेरै चासो बुझेरै हुन सक्छ, उनले टोपीको रहस्य सुनाउन थाले। उनकी आमा राजकुमारी (नुगलदेवी) जोशीको २०५४ सालमा देहावसान भएको थियो। उनले आमाको निधनपछि फिक्का, सादा र सामान्य टोपी लगाउन थालेका रहेछन्।
‘मेरो शिरको यो टोपी आमाको सम्झनामा, सम्मानका लागि लगाउन थालेँ’, उनले भने, ‘हाम्रो संस्कारमा आमाको देहान्तपछि केही न केही मूल्यवान वस्तु त्याग्ने चलन छ। मैले अरू खाले टोपी लगाउन छाडेँ र फिक्का–सादा टोपी रोजें।’ तडकभडक त्यागेर जोशीले आमाको मायालाई शिरमा सजाएका रहेछन्। जोशीको मूल्यांकनमा टोपी जस्तो लगाए पनि राष्ट्रिय पोसाक नै हो। उनी पहिला भादगाउँले टोपी लगाउँथे। २०५४ पछि भने यही सादा टोपी सगर्व लगाइरहेछन्।
राजकुमारीले आफू २० वर्षकी हुँदा सत्यमोहनलाई जन्म दिएकी थिइन्। आमासँगको सम्बन्ध एकदमै घनिष्ठ रह्यो उनको। जोशीका अनुसार आमालाई पेटको समस्या थियो। तर, के रोग भन्ने यकिन भएन। शिक्षण अस्पतालमा भर्ना भएको ५–६ दिनमा देहान्त भयो। जोशीले त्यो क्षण सम्झिए, ‘ज्वरो आएको थियो। तर, के रोग थियो, थाहै भएन।’ सय वर्षे जोशीले आमाको महिमा गाए, ‘आमा भनेको आमै हो। आमाको ठाउँ अन्य कसैले लिन सक्दैन।’ जति उमेर बढोस् तर आमाका अगाडि छोराछोरी सानै हुन्छन्। उमेर भनेको केवल नम्बर मात्रै रहेको बुझाइ उनको छ।
भगवान् कृष्णकी भक्त थिइन् उनकी आमा। उनले कम्तीमा ५० वर्ष कृष्ण मन्दिरमा बिताइन्। जोशीलाई याद छ, ‘आमा दिनको तीनपटक कृष्ण मन्दिर पुग्नुहुन्थ्यो।’
बिहान कृष्ण जागरण गीत गाउन जान्थिन्। चन्दन घोट्ने, चोखो पानी ल्याउनेलगायत काम सकाउँथिन्। घरको कामधन्दा सकेर फेरि दिउँसो पूजाआजाको सामान सरसफाइ गर्न, भगवान्लाई पहिर्याएको वस्त्र धोइदिनेलगायत काम गर्न पुग्थिन्। र, बेलुकी आरतीको समयमा पुनः जान्थिन्।
‘अहिले पनि कृष्ण मन्दिरको बाटो भएर हिँड्दा भगवान्को पूजा गर्दै हुनुहुन्छ कि जस्तो लाग्छ। अझै माला गाँस्दै हुनुहुन्छ कि ? चन्दन पो घोटिरहनुभएको छ कि जस्तो लाग्छ’, सत्यमोहनले भने। आमाको प्रिय ठाउँ भएकाले कृष्ण मन्दिरसँग उनको धार्मिक मात्रै नभएर भावनात्मक सम्बन्ध रहेछ।
माणिकरत्न शाक्यले कृष्ण मन्दिरबारे स्नातकोत्तर तहमा शोधपत्र तयार पारे। त्यसमा जोशीकी आमाको योगदानबारे लेखिएको उनको जानकारीमा आयो। आमाको नाममा उक्त शोधग्रन्थलाई जोशीले पुस्तकका रूपमा छपाउन सघाए। नेवारीमा लेखिएको ‘कृष्णदेगःया शिलालेख’ पुस्तक जोशीले आफ्नो लाइब्रेरीबाट निकालेर मलाई पनि दिएका छन्।उनका बुवा शंकरराजदास जोशी ७८ वर्षसम्म बाँचे। आमा ९७ वर्ष। ‘म आमाभन्दा तीन वर्ष धेरै बाँचिसकेको छु’, उनले भने, ‘जिन्दगी एउटा अवसर हो, यसरी नै बाँच्छु भन्न सकिन्न। तर, सकेसम्म चाहेजसरी बाँच्नुपर्छ।’
सादा जीवन, उच्च विचारमा विश्वास गर्ने उनी आमालाई गुरु मान्छन्। यद्यपि, उनकी आमा निरक्षर थिइन् तर मनकी साक्षर। सत्यमोहनको शिरमा त्यो प्रस्टै प्रतिविम्बित हुन्छ।
अन्नपूर्ण पोस्ट्मा २०७७ वैशाख ११ गते छापिएको यो समाचार सान्दर्भिक ठानेर पुनः प्रकाशन गरेका छौं।