एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार, आज सबै कार्यक्रममा सहभागी हुने
झापा : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। मंगलबार दिउँसो काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र झापा -५ को दमक आइपुगेका ओलीलाई रुघाखोकीसँगै ज्वरो आएको थियो। ओलीको अस्वस्थ भएपछि मंगलबार दमकमा आयोजित पूर्व निर्धारितमा कार्यक्रममा उनी सहभागी हुन पाएनन्।
मंगलबार बेलुकी पौने ५ बजे दमक ५ स्थित थकाली होटेलमा पार्टी सम्बद्ध प्रेस चौतारीले आयोजना गरेको अध्यक्ष ओलीसँगको पत्रकार भेटघाटको कार्यक्रम राखिएको थियो तर, अन्तिममा आएर उनी बिरामी भएका कारण उपस्थित हुन नसक्ने एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जानकारी गराएका थिए।
निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले सो पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारीबारे जानकारी गराएका थिए। अध्यक्ष ओलीको स्वास्थ्यमा पुरै सुधार भएको दाहालले जानकारी दिए। ओली आज बिहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम छ।
त्यस्तै दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत् कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ। सो कार्यक्रममा क्षेत्र नं ५ भरिका कार्यकर्ताहरूको उपस्थिति रहनेछ।
बिहीबार नागरिकसँग भेटघाट कार्यक्रमको आयोजना गरिएको छ। त्यसका लागि दमक- ३ आम चोक र केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए। अध्यक्ष ओली बिहीबार दिउँसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ।