अबको ऊर्जा, हरित हाइड्रोजन

अबको ऊर्जा, हरित हाइड्रोजन

नेपाल सरकार, मेलावर्न इन्स्टिच्युट अफ टेक्नोलोजी अस्ट्रेलिया र ग्लोबल एनआरएनको संयुक्त पहलमा हालैमात्र मुलुकमा पहिलो हरित हाइड्रोजन ऊर्जा सम्मेलन सम्पन्न भएको छ। यस सम्मेलनमा जलवायु परिवर्तनले हिमालयमा पारेको प्रभाव र जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरणको लागि सरकारले गरेको प्रयास, बजारमा उपलब्ध प्रविधि र सरकारले तयार पारेको कार्यक्रम कार्यान्वयन तथा यसका लागि आवश्यक पछिल्ला प्रविधि हरित हाइड्रोजन सबभन्दा उपयुक्त प्रविधिबारे छलफल भएको थियो। यस्तै, मुलुकका लागि हरित हाइड्रोजन ऊर्जा आयोजना कार्यान्वयन गर्न आवश्यक नीति नियम र आर्थिक व्यवस्थापनको लागि विश्वव्यापी अभ्यासहरू तथा अनुभवहरूको बारेमा स्वदेशी तथा विदेशी संघ संस्थाका प्रतिनिधिहरूका बीचमा छलफल भएको थियो। 

सम्मेलनमा हरित हाइड्रोजन शब्द अधिकांश सहभागीका लागि नयाँ थियो। उपयोगको आधारमा हाइड्रोजन खैरो, नीलो र हरियो भनी नामकरण गरिएको छ। हाइड्रोजन एक किसिमको ग्यास हो। यो आणविक संरचनाको बारे रसायनशास्त्रका पिरियडिक टेबुलमा सबभन्दा अघि राखिन्छ। यसको आणविक भार एक मानिन्छ। वायुमण्डलमा स्वतन्त्र रूपमा हाइड्रोजन ग्यास पाइन्छ, तर यो ग्यास अन्य तत्त्वसित मिलेर यौगिक रूपमा रहन्छ। मिथेन, कोइला, इन्धन, प्राकृतिक ग्यासहरूलगायत पानीलाई विच्छेदन गरी हाइड्रोजन ग्यास प्राप्त गरिन्छ। वायुमण्डलमा कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गरी प्राप्त गरिने हाइड्रोजनलाई खैरो हाइड्रोजन भनिन्छ। मिथेनलगायत अन्य प्राकृतिक ग्यासहरूलाई प्रशोधन गरी प्राप्त हरित हाइड्रोजनले न्यून मात्रामा उत्सर्जित कार्बनडाइअक्साइडलाई जमिनमुनि भण्डारण गरिन्छ। यस हाइड्रोजनलाई निलो हाइड्रोजन र कार्बनडाइअक्साइड उत्सर्जन नै नगरी प्राप्त गरिने हाइड्रोजनलाई हरित हाइड्रोजन भनिन्छ। पानीलाई विद्युत् विच्छेदन प्रक्रियाद्वारा हाइड्रोजन र अक्सिजन ग्यासमा परिणत हुन्छ र शून्य मात्रामा कार्बनडाइअक्साइड ग्यास उत्सर्जन हुन्छ। हरित हाइड्रोजन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण विरुद्ध चलाएको अभियानमा एक महत्त्वपूर्ण साधन हुने विश्वास वैज्ञानिकहरूले गरेका छन्।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्रको वार्षिक सम्मेलन कोप २६ (बेलायतको ग्लास्को सहरमा सन् २०२१ मा नोभेम्बर) मा सम्पन्न सम्मेलनले विश्वव्यापी रूपमा बढिरहेको तापक्रमलाई सन् २०४५ सम्म १.५ डिग्री सेल्सियसभन्दा कम कायम राख्न कार्बन शून्य नीति लिने प्रतिबद्धता गरिएको थियो। जसको नेपाल पनि पक्ष राष्ट्र हो। सो सहमति कार्यान्वयन गर्न विश्वभरका मुलुकहरूले जीवष्मा इन्धनद्वारा वायुमण्डलमा उत्सर्जित जलवायु परिवर्तनको प्रमुख कारक तत्त्व मानिने कार्बनडाइअक्साइडको परिमाण घटाउने विभिन्न उपायहरूमध्ये हरित हाइड्रोजन एक अचुक उपाय मानिएको छ। यो सम्मेलनले देशभित्रको वर्तमान स्थितिको मूल्यांकन गर्न, हाइड्रोजन ऊर्जाको बारेमा जनचेतना अभिवृद्धि गराउने, आयोजना कार्यान्वयनका लागि आवश्यक नीति निर्माणका लेखाजोखा गरी निजी क्षेत्रका लगानीकर्तालाई सरकारले चाल्नुपर्ने आवश्यक नीतिगत तथा भौतिक पूर्वाधारहरूका बारेमा व्यापक छलफल गराई नीतिगत निर्णय गराउन आधार तयार पर्ने सम्मेलनको उद्देश्यहरू हुन्। 

नेपालमा विद्युत् विच्छेदन प्रक्रियाद्वारा हरित हाइड्रोजन ऊर्जा उत्पादन गर्न प्रशस्त पानी छ। विद्युत् ऊर्जाको उपलब्धता क्रमशः बढिरहेको छ। 
पानीलाई विद्युतीय विच्छेदन प्रक्रियाद्वारा अक्सिजन र हाइड्रोजन ग्यास प्राप्त गर्ने विधि सन् १८०० मा बेलायतका वैज्ञानिकहरूले पत्ता लगाएका थिए। सन् १९६० तिर हाइड्रोजनको उपयोगबाट आर्थिक विकासमा समावेश गर्न सकिने स्पष्ट अवधारण तयार भएको थियो। हाइड्रोजनलाई आर्थिक विकास स्रोतमा रूपमा उपयोग गर्ने कार्यक्रमहरू तयार भएका छन्। यही क्रममा हरित हाइड्रोजन र वायुमण्डलमा रहेको नाइट्रोजन रासायनिक प्रतिक्रियाद्वारा मिसाएर अमोनिया तयार हुन्छ। यही अमोनियालाई वायुमण्डल वा अन्य स्रोतबाट प्राप्त कार्बनडाइअक्साइडलाई रासायानिक प्रतिक्रियाद्वारा मिसायो भने कार्वमाइड नामको यौगिक बन्दछ जसलाई बोलीचालीमा युरिया भनिन्छ। यही विधिद्वारा नर्वेले सन् १९२७ मा युरिया मल उत्पादन गरेको थियो। यही युरिया मललार्ई कृषि क्षेत्रमा अत्यधिक प्रयोग गरिन्छ। यसैगरी अक्सिजनलाई आवश्यकताअनुसार अस्पताललगायत अन्य औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ। 

कार्बनडाइअक्साइडलाई पुनः प्रयोग गर्न सकिने भएकाले वायुमण्डलमा थप कार्बनडाइअक्साइड थपिने क्रम रोकिनेछ। वर्तमान अवस्थामा विश्व जलवायु परिवर्तनमा कार्बनडाइअक्साइडको प्रमुख भूमिका रहेको भन्ने तथ्यलाई मध्यनजर गरी हरितगृह प्रभाव न्यूनीकरणमा योगदान पुग्नेछ। परिणामस्वरूप जलवायु परिवर्तनको प्रभावका कारण तापक्रम बढ्ने प्रक्रियामा अवरोध आई पर्यावरण सन्तुलन कायम राख्नमा महत्त्वपूर्ण योगदान पुग्ने वैज्ञानिकहको विश्वास छ। हरित हाइडोजन उत्पादन उद्योग एक कार्यले अर्को कार्यसितको समन्वय र सहकार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बहुउद्देश्य प्राप्त गर्न सकिन्छ। यसरी मानव समुदायले प्राकृतिक स्रोतमा सामान्य जुक्ति लगाएपश्चात् आधुनिक प्रविधिको सहायताले अधिक लाभ लिन सक्ने समय आएको छ। 

हरित हाइड्रोजन ऊर्जा उत्पादन गर्न आवश्यक पर्ने जलविद्युत् र ताजा पानी यसका आधारभूत पदार्थहरू हुन्। नेपालमा विद्युत् विच्छेदन प्रक्रियाद्वारा हरित हाइड्रोजन ऊर्जा उत्पादन गर्न प्रशस्त पानी छ। विद्युत् ऊर्जाको उपलब्धता क्रमशः बढिरहेको छ। सन् २०२८ सम्ममा लगभग ३५०० मेगावट विद्युत उत्पादन बढी हुने प्रक्षेपण गरिएको छ। अर्थात् हरित हाइड्रोजन ऊर्जा उत्पादनका लागि सहज वातावरण तयार भइरहेकोे छ। यसरी बढी भएको विद्युत् छिमेकी देशलाई बिक्री गर्नुभन्दा देशभित्र नै उद्योग स्थापना गरी उत्पादित हरित हाइड्रोजन विश्व बजारमा बिक्री गर्न सकिन्छ। यस बिक्रीबाट मनग्य विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भने देशभित्र अधिक खपत हुने जीवाष्ण इन्धनको मागलाई प्रतिस्थापन गर्न सकिने मात्र नभई जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्दछ। अझ जलवायु परिवर्तनको उच्च प्रभाव नेपालका हिमाली क्षेत्रहरूमा तीव्र गतिमा देखिन थालेकाले हिउ पग्लिने प्रक्रियालाई रोकेर जलविद्युत् आयोजनाहरूलाई संरक्षण गरी आजदेखि नै पहल गर्नु पर्ने समय आएको छ। यही परिवेशलाई मध्यनजर गरी नेपाल सरकारले प्राथमिकता साथ आवश्यक नीति निर्माण गरी उपयुक्त कार्यक्रमहरू कार्यन्वयन गर्दै अघि वढेको प्रयास गरेका देखिन्छ।

हरित हाइड्रोजन ऊर्जा उत्पादन गर्न सरकारका नीति नियमहरू, दक्ष प्राविधिक, आर्थिक पक्षहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। सरकारले सन् २०२२ मार्चमा २० वर्षे हरित हाइड्रोजन ऊर्जा मार्गचित्र वा रणनीति तयार पारेको छ। यस नीतिले तीन चरणको योजनाहरू बनाएको छ। पहिलो चरण (२०२१–२०२५) भित्र उत्पादनका लागि आवश्यक भौतिक पूर्वाधार तयार गरी प्रवेश चरण भनिएको छ। यस मार्गचित्रले दोस्रो चरणमा (२०२५–२०३०) व्यापारीकरण गर्ने र तेस्रो चरण (२०३०–२०४०) मा विश्वसामु उपस्थिति हुने भनी चरणबद्ध गरेको छ। सरकारले आ.व. २०७९।८० को वार्षिक कार्यक्रममा हरित हाइड्रोजनसम्बन्धी शीर्षकमा बजेटको व्यवस्था गरेको छ। सन् २०२० अगस्टमा काठमाडांै विश्वविद्यालयले हरित हाइड्रोजन ल्याब स्थापना गरिसकेको छ। यस ल्याबले हरित हाइड्रोजनद्वारा मुलुकको यातायात क्षेत्रमा जीवष्ण इन्धनको उपयोग घटाउने योजनासहित अध्ययन अनुसन्धानलाई लक्षित गरेको छ। भारतको ग्रिनजो इनर्जी कम्पनीले नेपालको अपि पावर कम्पनीसित ५० मेगावट क्षमताको हरित हाइड्रोजन उत्पादन गर्ने आयोजनाका लागि सन् २०२२ जुलाई १७ मा १० अर्ब नेपाली रुपैयाँबराबरको सम्झौता गरेको छ। यसको अतिरिक्त मेलवोर्न इस्टिच्युट अफ टेक्नोलोजी अस्ट्रेलियाका संस्थापक डा. शेष घलेले सन् २०३० सम्म ५० मेगावट हरित हाइड्रोजन उत्पादन गर्ने लक्षसहित कार्यक्रम अघि बढेको बताउनु हुन्छ। यी प्रयासहरूले नेपाल पनि हरित हाइड्रोजन उत्पादनको चरणमा प्रवेश गरेको अनुभूति हुन्छ।

हरित हाइड्रोजन ऊर्जाको लागि आधारभूत पक्षहरू उत्पादन, भण्डारण, वितरण र बजारीकरण ज्यादै महत्त्वपूर्ण हुन्छन। हरित हाइड्रोजन ऊर्जा उत्पादनका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले स्वदेशी पुँजी सानो अर्थात् अपुग हुन सक्छ। त्यसैले विदेशी लगानीकर्ताहरूलाई उपयुक्त वातावरण सरकारले तयार पार्नुपर्छ। त्यसका लागि नीतिगत तथा कानुनी प्रावधानहरू सहज बनाउनुपर्छ। भौतिक संरचना तथा दक्ष प्राविधिकको जोहो, बजार व्यवस्थापनलगायत अन्य आवश्यक पूर्वाधार लगानी कम्पनी आफैंले गर्न सक्दछ। 

हरित हाइड्रोजन ग्यास, ठोस र तरल अवस्थामा भण्डारण गर्न सकिन्छ। यसका लागि उपयुक्त भौतिक संरचनाहरू आवश्यक पर्छ। सामान्य तापक्रमा यो ग्यास अवस्थामा पाइन्छ भने अत्यधिक कम तापक्रम (–२५२.८७० सेल्सियस) र बढी चाप लगभग ४०० वारमा तरल अवस्था र अझ बढी कम तापक्रम (–२५९.१४० सेल्सियस) र १४.१ के चापमा ठोस अवस्थामा परिणत गर्न सकिन्छ। यसका लागि अत्याधुनिक प्रविधिसहितको भण्डारण साधनहरू आवश्यक पर्छ। हाइड्रोजन व्यवस्थामा भण्डारण गर्न जोखिमपूर्ण छ भनी धेरै अभिलेखहरूमा पाइन्छ। यसतर्फ पनि ध्यान दिई यस ऊर्जाको सुरक्षित उपयोग गर्नु आवश्यक छ। हरित हाइड्रोजन बजारीकरणका प्रशस्त सम्भावनाहरू छन्। 

ऊर्जा धेरै खपत हुने घरायसी क्षेत्र, यातायात, उद्योग क्षेत्रमा हरित हाइड्रोजन ऊर्जा उपयोग गर्न सकिन्छ। औद्योगिक क्षेत्र खासगरी रासायनिक मल उद्योग, फलाम उद्योग तथा विद्युत् उत्पादनमा पनि पुनः प्रयोग गर्न सकिन्छ। यातायात क्षेत्रमा यसको उपयोग प्रमाणित गरिसकेको छ। जापानको टोयटा कम्पनीले तयार पारेको टोयटा मिराई हाइड्रोजन कारले ५.५ केजी हरित हाइड्रोजन ऊर्जा प्रयोग गरी १३६० किमि दूरी पार गरेको अभिलेख छ। जर्मनको एल्स्ट्रोम कम्पनीले रेल सेवामा हरित हाइड्रोजन ऊर्जा प्रयोग गरी विश्वको पहिलो रेल सेवा सुरु गरेको कम्पनीको रूपमा इतिहासमा दर्जा भएको छ। यसको अतिरिक्त हरित हाइड्रोजनको विश्व बजारमा समेत निर्यात गर्न सकिने बलियो सम्भावना भएका क्षेत्रहरू हुन्। 

जर्मन सहयोग नियोगको प्रतिवेदनमा सन् २०३१ सम्ममा विश्वभर हरित हाइड्रोजनको मूल्य ३ अमेरिकी डलर प्रतिकेजी हुने प्रक्षेपण छ। यस अभियानलाई सफल पार्न ७ विलियन अमेरिकी डलर लागतको हरित हाइड्रोजनको आयोजना घोषणा गरेको छ। हालसम्म विश्वका अस्टे«लिया, क्यानडा, चिली, चेक रिपब्लिक, युरोपियन युनियन, फ्रान्स, नर्वे, जर्मन, हंगेरी, जापान, कोरिया, नेदरल्यान्ड, पोर्चुगल, रूस, स्पेन, बेलायत भारत, चीन अर्जेटिना, अमेरिकालगायत १९ भन्दा बढी देशका सरकारले प्रतिबद्धता जनाइसकेका छन् । विश्व समुदाय हरित हाइडोजन ऊर्जाको पक्षमा रहेकाले नेपालले पनि उचित उपयोग गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल बनाउन सक्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.