डेंगुका बिरामी बढ्दै, नियन्त्रणका लागि सरसफाई अभियान
उदयपुर : लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्न थालेपछि त्रियुगा नगरपालिकाको अगुवाइमा स्थानीय प्रशासनले सचेतनामूलक अभियान सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षमा बुधबार बसेको सरोकारवालाको बैठकले सदरमुकाम गाईघाटमा त्रियुगा नगरपालिकाको अगुवाइमा अभियान सञ्चालन गर्ने निर्णयसँगै बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सुरु गरिएको हो।
बैठकले अन्य स्थानीय तहमा पनि अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रजिअ गौतमले बताए। उनले भने, 'साउन महिनादेखि प्रकोपका रूपमा बढ्दो डेंगुको संक्रमणदर नियन्त्रण गर्न प्रमुख कारक लामखुट्टे र तिनको लार्भा नष्ट गर्नु पर्ने देखिएकाले अभियान सुरु गरेका हौ।'
प्रकोप नियन्त्रणका लागि सबै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकाय परिचालित भई घर, समुदाय, कार्यालय, विद्यालय आसपासका क्षेत्रमा पानी जम्न नदिन, खाल्टाखुल्टी पुर्ने, रेफ्रिजेनेरेटर, एसीमा लामो सयम पानी जम्न नदिने, खाली टायरमा जमेको पानी फाल्ने र नष्ट गर्ने अभियान रहेको उनले बताए।
बैठकले सबै स्थानीय तहसँग समन्वय गरी अभियान सञ्चालन गर्ने, माइकिङ, प्रचारप्रसार लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको प्रजिअ गौतमले बताए।
अभियानअन्तर्गत पहिलो चरणमा बिहीबार बिहान त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेत, उपमेयर महेश्वरी राई, प्रजिअ, तीनवटै सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाको उपस्थितिमा सदरमुकाम गाईघाटमा लामखुट्टे बासस्थानको नष्ट र सरसफाई सुरु गरिएको छ।
अभियानाका सदस्य जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरन्जिवी निरौलाका अनुसार सदरमुकामको बजार क्षेत्रमा जमेका खाल्डाखुल्टी पुर्ने, खाली टायरमा जमेको पानी फाल्ने, अनावश्यक टायर र फोहोरवस्तु नष्ट गरिएको छ।
निरौलाका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा ८०८ जनामा गरिएको परीक्षणबाट २०५ जनामा डेंगु देखिएको हो। समध्ये सबैभन्दा बढी जिल्ला अस्पतालमा ४६१ मा परीक्षण गरिएकामा १४५ जनामा लक्षण देखिएको छ।
त्यसैगरी कटारी अस्पतालमा २६७ जनामध्ये ४२ जनामा डेंगु देखिएको छ। त्यस्तै बेलका नगर अस्पतालमा ७० जनामध्ये १५ जना र देउरी स्वास्थ्य चौकीमा १० जनामध्ये तीन जनामा डेंगु देखिएको निरौलाले जानकारी दिए।
ज्वरो आउने, वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने जस्ता लक्षण देखिएपछि गरिएको परीक्षणमा डेंगु पुष्टि भएको उनले बताए।
लक्षण देखिएका बिरामीको अवस्था सामान्य रहेको उनले बताए। डेंगुको संक्रमण बढ्दै गएपछि बिरामीको घरपरिवारलाई सरसफाई गर्न डाक्टरले सुझाव दिएका छन्।
सफा पानी कुनै खुला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भएमा पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने सूचना अधिकारी निरौलाले बताए।
डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान जान सक्ने चिकित्सकको भनाइ छ।
पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय र सबै स्थानीय बीच समन्वय भइरहेको उनले बताए।
पोथी लामखुट्टेले सफा पानीमा अण्डा पारेर बच्चा निकाल्ने बेलामा मान्छेलाई टोकेपछि बिरामी हुने चिकित्सकको भनाइ छ।
लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरीर दुख्ने लक्षण देखिने गर्दछ।
प्लाष्टिकको पानी जार, प्लाष्टिकको गमला, सफा पानीमा मात्र यो जातको पोथी लामखुट्टे बस्ने भएकाले घर वरपर पानी जम्न दिन नहुने चिकित्सक बताउँछन्।