महिला फूटबलको उपाधी एपीएफलाई
स्याङ्जा: नवौं राष्ट्रिय महिला फूटबल उपाधी एपीएफ क्लबले जितेको छ।
वालिङ् खेलमैदानमा भएको फाईनलमा एपीएफले पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।
खेलको १० औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पहिलो गोल गरिन। खेलको दोस्रो हाफको ५२ मिनेटमा पुन सावित्राले नै दोस्रो गोल गरिन ।
यस्तै खेलको ७६ औँ मिनेटमा पुलिसकी नीरु थापाले एक गोल गरिन्।
प्रतियोगिता अन्तर्गत तेस्रो उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ। आर्मी र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धामा ७–० गोल अन्तरले आर्मी विजयी भएको हो ।
आर्मीका हीमा चौधारी, अमिसा कार्की, चन्द्रा भण्डारी, गंगा गुरुङ, कुसुम खतिवडाले गोल गरेका थिए। अमिसा कार्कीले व्यक्तिगत तेस्रो गोल गरेकी थिइन ।
असोज २७ गतेदेखि वालिङ्मा जारी प्रतियोगितामा ३ विभागीयसहित १० टिमको सहभागिता थियो।