बाराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप, १३ प्रहरी घाइते

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप, १३ प्रहरी घाइते

वीरगन्ज : बाराको जितपुर सिमरा उपमहानगरपालिका-९, छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा बिहीबार प्रहरी र मजदुरबीच झडप हुदा १३ जना प्रहरी घाइते भएका छन्। 

मजदुरले उद्योगभित्रै बन्धक बनाएर राखेका व्यवस्थापक सहितका १३ जना कर्मचारीलाई उद्धार गर्न बिहीबार दिउँसो प्रहरी उपरीक्षकसहित गएका प्रहरी र मजदुरबीच झडप भएको हो। 

झडपका क्रममा प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो भने सटगनबाट एक राउण्ड हवाइ फायर गर्नु परेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

उद्धार गर्न गएको प्रहरी टोलीमाथि मजदुरहरूले आक्रमण गर्दा १३ जना प्रहरी घाइते भएको उनले बताए। तीमध्ये गम्भीर अवस्थाका दुई प्रहरीको वीरगन्जमा र बाँकी ११ प्रहरीको सिमरामा उपचार भइरहेको उनले जानकारी दिए। 

दसैंमा बोनस नपाएको भन्दै मजदुरहरूले उद्योगका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शर्मा, महाप्रबन्धक, प्रशासन अधिकृतसहित पाँच जना व्यवस्थापक र आठ कर्मचारी गरी १३ जनालाई बुधबार दिउँसोदेखि नै उद्योग परिसरमा रहेको प्रशासनिक भवनभित्र थुनेर बन्धक बनाएका थिए। 

२४ घण्टा बितिसक्दा पनि उनिहरूलाई मजदुरहरूले नछाडेपछि बन्धक बनाइएकाहरूको स्वास्थ्य अवस्था नाजुक भएको हुँदा उद्धारका लागि बिहीबार दिउँसो प्रहरी उपरीक्षक बोगटीकै नेतृत्वमा प्रहरीको टोली उद्योगमा पुगेको थियो। 

तर, प्रहरी पुग्दा आन्दोलनरत मजदुरहरूले भुइमै सुतेर अवरोध गरी प्रहरीलाई छिर्न नदिएको र उद्योगमा ढुङ्गामुढा गरी तोडफोड गर्न थालेपछि प्रहरीले बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरी उपरीक्षक बोगटीले बताए।

मजदुरहरूको अवरोधका बाबजुद पनि बन्धक बनाइएका व्यवस्थापक सहित १३ कर्मचारीलाई भने सकुशल उद्धार गरिएको उनले बताए। 

उद्धार गरिएकामध्ये स्वास्थ्य अवस्था नाजुक भएका उद्योगका सिइओ शर्मालाई थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए। 

प्रहरी उपरीक्षक बोगटीले भने, 'बन्धक बनाइएकाहरूको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो, हामीले पुगेर उनीहरूलाई छोडि देऊ, बाँकी आफ्ना आन्दोलनका कार्यक्रम गर्, हामी केही गर्दैनौं भनेर मजदुहरूसँग पटक पटक अनुरोध गर्‍यौ, तर मजदुरहरू झन उग्र भएपछि स्थिति तनावपूर्ण बन्यो।'

झडपमा संलग्न मध्येका सात जना मजदुरहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको पनि बोगटीले जानकारी दिए। तर झडपमा कति जना मजदुर घाइते भएको भन्ने बारे उनले खुलाएनन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.