मिर्गौला झिकिसकेपछि डाक्टरले भने, ‘म्याच भएन’

मिर्गौला झिकिसकेपछि डाक्टरले भने, ‘म्याच भएन’

काठमाडौं : धादिङ गल्छी गाउँपालिका–२ की ३५ वर्षीया महिलामा प्रत्यारोपण गर्न मंगलबार ५३ वर्षीया सासूआमाको मिर्गौला वीर अस्पतालमा झिकियो। तर, पहिला म्याच (योग्य) हुन्छ भनेर झिकिएको मिर्गौला नै डाक्टरले म्याच नहुने बताएपछि पीडित आन्दोलित बनेका छन्। 

उनीहरूले व्यक्तिको जीवनमाथि खेलबाड र डाक्टरले हेलचेक्रयाइँ गरेको भन्दै बिहीबार अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्। ‘पहिला पटक–पटक मिर्गौला परीक्षण गर्दा ठीक छ भने’, पीडितका आफन्त दिलबहादुर रम्तेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तर, जब मिर्गौला निकालियो अनि हुँदैन भनियो।’ 

पीडितको आफन्तका अनुसार डाक्टरको टिम शल्यक्रिया कक्षबाट बाहिरिएको केही बेरपछि प्रत्यारोपण नभएको थाहा भएको थियो। त्यसलगत्तै उनीहरूले अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतसमक्ष गुनासो गरेका थिए। अस्पताल स्रोतका अनुसार मिर्गौला प्रत्यारोपण गर्न डा. पारसमणि श्रेष्ठ र डा. अनिल श्रेष्ठको टिम खटिएको थियो। 

निमित्त निर्देशक डा. बस्नेतले मिर्गौला निकालिसकेपछि ‘काम नलाग्ने’ देखिएको स्वीकार गरे। ‘त्यसकारण अर्को व्यक्तिमा मिर्गौला राख्न नमिलेको हो’, डा. बस्नेतले भने, ‘पहिला प्रत्यारोपण गर्न मिल्छ भनेर अप्रेसनमा लगियो। अहिले नमिलेपछि केही अवरोध भएको देखिन्छ।’ 

यो घटनालाई थामथुम पार्न अस्पताल प्रशासनले पीडित पक्षसँग सहमति गरेको छ। 

तर, उनीहरू यो सहमतिमै नरोकिने पक्षमा देखिएका छन्। मेडिकल काउन्सिल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी दिने तयारी गरेको आफन्त रम्तेलले बताए। पीडित पक्षले घटनाको अनुसन्धान गरी दोषी देखिने डाक्टरलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। 

‘करिब–करिब एउटा खालको सहमति भयो। पूर्णरूपमा भने सहमति भएको होइन। दुई जना बिरामी (मिर्गौला लिने र दिने) लाई उपचारमा कुनै समस्या भयो भने आजीवन उपचार गरी दिने सहमति भयो’, रम्तेलले भने, ‘उपचारका क्रममा लाग्ने खर्च सरकारले व्यहोर्ने कुरा भएको छ। विल भरपाइ हेरेर अस्पतालले खर्च व्यहोर्ने भन्ने भयो। अनुसन्धान समिति गठन गर्ने र चिकित्सक दोषी ठहर भए सजाय गर्ने भन्ने सहमति भयो।’

निमित्त निर्देशक डा. बस्नेतले अस्पतालले उपचार खर्च मिनाहा गर्ने, आगामी दिनको उपचार पनि निःशुल्क गर्ने सहमति भएको बताए। डाक्टर, बिरामीका आफन्त र  अस्पताल प्रशासनबीच बिहीबार छलफल भएको थियो।डा. बस्नेतले घटनाको छानबिन गर्न ७ सदस्यीय समिति गठन गरिएको बताए। समिति संयोजकमा सर्जरी विभागका डा. प्रवीण श्रेष्ठ छन्। 

डा. सरोज शर्मा, डा. अशेष ढुंगाना, डा. दिनेश चापागाईं, डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का सदस्य छन्। मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले प्रत्यारोपण अगावै पर्याप्त मात्रामा परीक्षण गरिनुपर्ने बताए। 

‘मिर्गौला दिन मिल्न नमिल्ने हेरिएको हुन्छ। प्रत्यारोप गर्न निकालिएको मिर्गौला कहिलेकाहीँ नमिल्न पनि सक्छ’, डा. काफ्लेले भने, ‘यो एकदमै बिरलै हुने घटना हो। हाम्रो (डाक्टर)को कमीकमजोरी पनि हुन्छ। तर, बिरामीका आफन्तलाई तत्काल नै जानकारी दिनुपर्छ।’

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.कृष्णप्रसाद अधिकारीले घटनाबारे उजुरी प्राप्त भए कारबाही प्रक्रिया अघि बढाउने बताए। ‘पीडितका आफन्तले उजुरी दिनुभएको छैन। अस्पतालले पनि छानबिन अघि बढाएको छ। त्यसैले उजुरी प्राप्त भए कारबाही प्रक्रिया अघि बढाउँछौं’, डा. अधिकारीले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.