निर्वाचनको सम्मुखमा चर्कियो महँगी
काठमाडौं : निर्वाचनको सम्मुखमा महँगी अकासिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत छ। गत वर्षको सोही महिनामा ३.४९ प्रतिशत मात्रै थियो। एकातर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले एकै वर्षको अन्तरमा महँगी चुलिएको छ। अर्कातर्फ प्रदेश र प्रतिनिधिसभा निर्वाचनले कृत्रिम महँगी बढेर मुद्रास्फीति दोहोरो अंकमा पुग्न सक्ने अर्थविद्को अनुमान छ।
फलफूल, घिउ तथा तेल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारीको मूल्य अकासिँदा महँगी बढेको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए। खाद्य तथा पेय पदार्थसमूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत छ। खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूलको १७.२९ प्रतिशत, घिउ तथा तेलको १४.५३ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १२.३० प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत र तरकारी उपसमूहको ९.९४ प्रतिशत मुद्रास्फीति बढेको छ।
नजिकिँदै गरेको चुनावले पनि मूल्यवृद्धिमा सघाएको हुन सक्ने अर्थविद् डा. रमेश पौडेलले बताए। अझ यो तथ्यांक भदौको भएकोले यसको प्रभाव कम देखिएको हुनसक्छ। तर अब चुनावपछिका १–२ महिनासम्म महँगी चुलिने उनको अनुमान छ। ‘चुनावताका व्यवसायीले चन्दा, आर्थिक सहयोग दिएका कारण यसको भार आम समग्र उपभोग्य वस्तुमा पर्न जान्छ। जस्ले गर्दा कृत्रिम महँगी पनि बढ्न जान्छ,’ डा. पौडेलले अन्नपूर्णसँग भने, ‘त्यसमाथि चाडपर्वमा महँगी बढ्छ। अहिले त झन् चुनावले झन् बढ्न सघाउने देखिन्छ।’ चुनावको प्रभाव अहिले नै नदेखिएको तर मंसिर र यसपछिका केही महिना बढ्ने उनको अनुमान छ।
उपभोक्ताले चुनावका कारण हुने मूल्यवृद्धिको सामना गर्न बाँकी रहेको अर्थविद् रामेश्वर खनाल बताउँछन्। यद्यपि पछिल्लो समय आयातमा नियन्त्रण आउनु, रेमिट्यान्समा सुधार हुनुले अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको छ। चालू आर्थिक वर्षको दुई महिनामा आयातको आकारमा झिनो नियन्त्रण देखिएको छ। रेमिट्यान्समा सुधार भए पनि विदेश अध्ययन गर्न जानेबाट विदेशी मुद्रा बाहिरिँदा समग्रमा विदेशी विनिमय सञ्चिति घटेको छ। निर्देशक डा. श्रेष्ठ समग्रमा जोखिम कायमै भएको तर सामान्य सुधारको संकेत पनि देखिएको बताउँछन्। तर, पनि मूल्यवृद्धि बढिरहेको, शोधनान्तर घाटा, विदेशी विनिमय सञ्चिति सीमान्त रूपमा घटेको उनले बताए।
आयातमा कमी
सरकारले गाडी, मोबाइललगायतका विलासिताका चार प्रकारका वस्तुहरूको आयात बन्देज गरेसँगै समग्रमा मुलुकभित्र हुने आयातमा कमी आएको छ। जस्ले गर्दा व्यापार घाटा घट्न मद्दत पुगेको छ। २०७९/८० को दुई महिनामा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले कमी आई २ खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा ७०.८ प्रतिशतले बढेको थियो।
कुल वस्तु आयातमा १३ प्रतिशतले कमी भई २ खर्ब ७३ अर्ब ६० करोडको वस्तु आयात भएको छ। जबकि गत वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव ९ प्रतिशतले बढेको थियो। सबैभन्दा बढी चीनबाट हुने आयात घटेको हो। तथ्यांकअनुसार भारतबाट हुने आयातमा ९.५ प्रतिशत, चीनबाट १३.३ प्रतिशत र अन्य मुलुकबाट हुने आयातमा २०.७ प्रतिशतले कमी आएको छ। समग्रमा सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाबिन तेल, हट रोल्ड सिट इन क्वाइल, एमएस बिलेटलगायतका वस्तुको आयात घटेकोले समग्रमा आयातमा कमी भएको हो। तर यस अवधिमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, औषधि, हवाईजहाज तथा स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात भने बढेको राष्ट्र बैंकले बताएको छ।
निर्यातीत वस्तुमा सुधार आउन सकेको छैन। महिनामा कुल वस्तु निर्यात ३४ दशमलव ९ प्रतिशतले कमी आई २८ अर्ब ६८ करोड पुगेको छ। तर यो गत वर्षभन्दा कम हो। भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ र २१.६ प्रतिशतले कमी आएको छ। सो मुलुकहरूमा सोयाबिन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जनलगायतका वस्तुको निर्यात घटेको छ। तर जिंक सिट, ऊनी गलंैचा, पार्टिकल बोर्ड, तयारी पोसाक, औषधि (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ।
रेमिट्यान्समा सुधार
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको छ। विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ भित्रिएकोे छ। जबकि गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८ सय ९८ पुगेको छ।
सञ्चितिमा दबाब कायमै
विप्रेषण बढे पनि मुलुकसँग भएको विदेशी विनिमय सञ्चितिको अवस्था अझै बढ्न सकेको छैन। कुल विदेशी विनिमय सञ्चिति असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड थियो। अहिले २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड छ। सञ्चितिमा कमी आए पनि यसको पर्याप्तता भने ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेछ।
कार्यकारी निर्देशक डा. श्रेष्ठ विदेशी विनिमय सञ्चिति घट्ने दर गत वर्षको भन्दा कम भएको बताउँछन्। उनकाअनुसार आयात थोरै घटेकाले विदेशी विनिमय सञ्चिति ७.७ महिना धान्न पुग्ने भनेको राम्रै हो। ‘किनभने हामीले सात महिना धान्ने लक्ष्य राखेका थियौं। यो सकारात्मक पक्ष हो,’ उनले अन्नपूर्णसँग भने, ‘यसरी रेमिट्यान्स बढ्ने ट्रेन कायम रहने हो भने केही महिनामा सञ्चितिमा सहज अवस्थामा रहनेछ।’
शोधनान्तर घाटा कायमै
मुलुक भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने अधिक हुँदा लामो समयदेखि शोधनान्तर घाटा कायम छ। यससँगै चालू खाता घाटा पनि बढेको छ। तथ्यांकअनुसार शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा छ। गत वर्षको सोही अवधिमा ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा थियो। यस्तै देशभित्र भित्रिने विदेशी मुद्राको मुख्य स्रोत रेमिट्यान्स मात्रै भएको र आयात, विदेशी अध्ययनमै मुद्रा बाहिरी रहेकाले शोधनान्तर स्थिति घाटामै गएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्।