तिहारले बढ्यो किनमेल

तिहारले बढ्यो किनमेल

काठमाडौं : देशभर तिहारको चहलपहल सुरु भएको छ। बजारमा तिहारजन्य सामानको बिक्री ह्वात्तै बढेको छ। तिहारमा धातुजन्य सामान, सप्तरंगी टीका, पूजाका सामग्री, भाइमसला, फलफूल, सयपत्रीलगायत पुष्प, झिमिमिली बत्तीलगायतको बढी माग हुन्छ। 

त्यस्तै लत्ताकपडाको कारोबार पनि यो समय धेरै हुने गरेको व्यवसायी बताउँछन्। बजार पसलमा किनमेल गर्नेको घुइँचो लागेको छ। काठमाडौंका असन, न्यूरोडसहित उपत्यकाका सहरी क्षेत्र एवम् गाउँसम्मकै पसलमा तिहारजन्य वस्तुको व्यापार भइरहेको छ। आर्थिक संकटले थलिएको अवस्थामा खुसी लागेको असनका व्यापारी रामप्रसाद श्रेष्ठले बताए। 

व्यवसायी तिहारले चहलपहल बढाएकामा खुसी छन्। तिहारमा धनतरेस (धातुजन्य वस्तु सुन, चाँदी, पित्तल, तामाका सरसामान) किन्ने चलन छ। शनिबार गमला, प्याला, दियो, कलसलगायतका सामग्रीहरू धमाधम बिक्री भइरहेका छन्।

शनिबार धेरैले यस्ता वस्तु खरिद गरेको व्यवसायीहरू बताउँछन्। धनसँग जोडिएको भन्दै त्यस्ता सामान खरिद गर्नेको जमात बढ्दै गएको छ। तिहारमा भाडाजन्य वस्तुको माग अत्याधिक हुने गरेको श्रेष्ठ बताउँछन्। ‘तिहारमा यस्ता सामानको खपत बढ्छ’, उनले भने, ‘अन्य समयको भन्दा १० गुणा बढी सामान तिहारमा व्यापार हुन्छ। तिहारमा खपत हुने यस्ता सामान विदेशबाट आयात हुने गरेको छ। दसैंमा भन्दा तिहारमा चहलपहल बढेको उनले बताए। 

तिहारमा पुष्पको माग पनि अत्याधिक हुनेगर्छ। तिहार लक्षित पुष्पखेती हुनेक्रम पनि बढेको छ। तर, मागको आधा भन्दा बढी त भारतबाट आयात भइरहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न हरेक वर्ष तिहारको मुखैमा पुष्पमेला तथा प्रतियोगिता गर्दै आएको छ। नेपालमा हरेक वर्ष फूलको माग १५ प्रतिशत माग बढ्दै गएको अध्यक्ष मीनबहादुर तामाङले बताए। सरकारले फ्लास्टिकजन्य पुष्प बिक्रीमा प्रतिबन्ध लगाएको छ। 

तिहारमा भारत र चीनबाट भित्रिने प्लास्टिकका मालालाई विस्थापन गर्ने अभियान सुरु उनको भनाइ छ। गाउँगाउँमा पुष्प खेतीतर्फ आकर्षण बढेकाले आगामी दिनमा स्वदेशकै उत्पादनले पुग्न सक्ने व्यवसायीको विश्वास छ। तिहार झिलिमिली पर्व हो। तिहारअघि नै प्रायःजसो घरमा झिलीमिली बत्ति बलिसकेको हुन्छ। झिलिमली बत्तीले उज्यालो, उत्साह र उंमग दिने भएकाले यस्तो बत्ती जोड्ने गरेको दाङकी प्रेंका सुवेदी बताउँछिन्। ‘घरमा झिलिमिली बत्ति बल्दा राम्रो लाग्छ, हरेक वर्ष किन्नुपर्छ भन्ने जरुरी पनि हुँदैन,’ उनले भनिन्, ‘एकचोटी किनेको सुरक्षित राखेमा २-३ वर्षमा पनि उपयोग गर्न सकिन्छ।’ तर, फरकखालका झिलिमिली देखेमा किनेर लैजाने गरेको उनले सुनाइन्। व्यापारीका अनुसार त्यस्ता वस्तु आयातमा झन्झट हुँदा यसपालिको तिहारमा फालाफाल पाउन भने सकिएको छैन।

तिहारमा भाइमसलाको उपयोग हुने गरेको छ। तिहारमा काजु, बदाम, किसमिस, ल्वाङ, सुपारी, मिठाई, चक्लेटलगायतका सुक्खा फल समावेश गरी भाइमसला किन्नेको घुइँचो लागेको छ। तिहारमा सेलरोटी पकाउन नभ्याउने, रोटी मन नपराउनेले यस्तो भाइमसला दाजुभाइलाई दिने गर्छन्। फिनीरोटी, सेलरोटी, अनरसा, सिन्कामारीको सट्टा भाइमसलाको उपयोग बढ्दै गएको बुटवलका अर्जुन रिजाल बताउँछन्। 

तर, यस्ता वस्तु पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। काठमाडौंलगायत ठूला सहरमा कतिपयले फुटपाटमै तिहारजन्य सामान राखेर बिक्री गर्ने गरेका छन्। फलफूल, फूल, भाइमसला, देवीदेवताका मूर्ति, तस्बिरलगायतका सामग्री सडक छेउमै राखेर बिक्री गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.