मत माग्ने फरक शैली : धान काट्न सघाउँदै उम्मेदवार
स्याङ्जा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन २९ दिन मात्र बाँकी छ। स्याङ्जाका २ संघीय र ४ प्रादेशिक सभा निर्वाचनमा यहाँ १३ राजनीतिक दल र स्वतन्त्र गरी ५२ जना चुनावी प्रतिस्पर्धामा छन्। उनीहरुलाई मत माग्न चटारो छ।
त्यसो त, कात्तिक महिना । हिले दसैं सकिएर पारिलो घाम लागेको छ। खेतमा धान पाकेर पहेंलपुर बनेका छन्। प्रायः किसानका घरमा ढोका लागेका छन्। उनीहरु धान काट्ने र कुन्यु लगाउने चटारोमा छन्।
मानो खाएर मुरी थन्क्याउने बेला। यतिबेला मौसमले पनि साथ दिएको छ। टहटह घाम लागेको छ। प्रायजसोः सबैजना दिनभर खेतमै भेटिन्छन्। बालबालिका र वृद्धबाहेक बिहानदेखि साँझसम्म उनीहरु खेतमा हुन्छन यतिबेला। यसैको सदुपयोग गर्दै स्याङ्जाका प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार राजु थापा खेतमा पुगेर मत माग्ने गरेका छन्।
‘पहिला घरमै पुग्छौं, जेष्ठ नागरिकबाट आर्शिवाद लिन्छौं, त्यसपछि खेतमा पुगेर मत माग्ने गरेका छौं, 'उनले भने। उनी नेपाली कांग्रेसतर्फका उम्मेदवार हुन्। राजु थापासँगै प्रदेश १ का उम्मेदवार अमृता थापा पनि सँगै छन्। जिल्लामा गठबन्धन हुँदा यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको छ। उनको जन्मथलो पनि सोही भेगमा पर्छ।
हरिनास गाउँपालिकामा पुगेर उनीहरुले मत मात्र मागेनन् किधान काट्दै गरेका किसानसँगै धान काटे भने धान बत्ताउँदै गरेका किसानसँग धान पनि बत्ताउन सहयोग गरे। उम्मेदवारको यो भोट माग्ने फरकशैली देखेर किसान पनि खुशी र दंग छन्। उनीहरु भन्दैथिए, ‘खेतबारीसम्म आएर मत मागेपछि हाम्रा अवस्था बारेमा पनि चिन्तन होला नि ?’
हुन त, वि.सं. २०७४ सालको प्रतिनिधिसभा सदस्यमा पराजित बनेका थापा पटक पटक सो गाउँमा पुगेका छन्। गाउँका अवस्थाबारे उनी साक्षात्कार छन्।