नेपाली उत्पादनलाई प्राथमिकता
काठमाडौं : यसपटकको तिहारमा पुष्प व्यवसायीले नेपाली उत्पादनलाई नै बिक्रीको प्राथमिकतामा राखेका छन्। यसले फूलको व्यवसायमा लागेका कृषकलाई फाइदा पुग्ने देखिन्छ। तर, प्लास्टिकका फूलले पनि बजार ओगटेकाले नेपाली उत्पादनलाई मात्र प्राथमिकतामा राख्न समस्या भएको व्यवसायी बताउँछन्।
वन तथा वातावरण मन्त्रालयले प्लास्टिकका फूलाई रोक लगाए पनि बजारमा बिक्री भइरहेको देखिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादूर तामाङ बताउँछन्। भने, रोक लगाइयो। तर, बजारमा प्लास्टिकका पनि भित्रीएका छन्। यस विषयमा मन्त्रालयको वातावरण विभागमा कुरा गर्दा तिहारपछि अनुगमन गर्ने भन्छन्। तर, गर्नुपर्ने तिहार अघि हो’, उनले भने।
काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कास्कीलगायत तराईका जिल्लाहरूमा सयपत्री फूलहरूमा लगाइन्छ। पोखरा ३१ लामास्वरा बेगनासतालका सूर्य लामिछानेले ३ रोपनीमा सयपत्री फूल उत्पादन गरेका छन्। भारतीय फूलभन्दा स्थानीय फूलाई महत्व दिन उनी बकैलाइ आग्रह गर्छन्। बाहिरबाट आउने फूलको तुलनामा स्थानीय फूल केहि महँगो परे पनि ठूला थुंगा र छिटो नबिग्रने उनी बताउँछन्।
गतवर्ष तिहारमा १ रोपनीमा लगाएको फूलबाट उनले ६० हजार आम्दानी गरेका थिए। यसपटक तीन रोपनी जग्गामा डेढ लाख लागतमा फूल रोपेकोमा ४ लाख आम्दानी गर्ने योजना रहेको बताए। एउटा थुंगा फूलको मूल्य ४, वा ५ रुपैयाँ र एउटा मालाको मूल्य डेढसयदेखि २ सयमा बेच्ने थालेको लामिछानेले जानकारी दिए। वषौंदेखि मौरी पालन व्यवसायमा आबद्ध लामिछाने पछिल्लो पटक सयपत्री फूलको व्यवसाय गर्न थालेका छन्। ‘तीन महिनामा तयार हुन्छ, माहुरी र फूलको घनिष्ट समबन्ध छ। त्यसैले फूल व्यवसाय प्रति आर्कषण बढ्यो,’ उनले भने।
पोखरा ११ फूलबारीका सन्तोष भण्डारीले साडे दुई रोपनीमा सयपत्री फूल लगाएका छन्। विगत ७ वर्षदेखि फूल उत्पादन गर्दै आएका भण्डारीले कास्कीमा धेरै व्यवसायीहरू फूल उत्पादन गर्न थालेको बताउछन्। यसपटक पुष्प व्यवसायीले भारतबाट फूल ल्याउन रोक लगाउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाइ ज्ञापनपत्र पनि बुझाएको पनि भण्डारीले जानकारी दिए। फ्लोरिकल्चर एसोसिएसन कास्कीका पूर्वअध्यक्ष दयाकुमार दुवाले सहरीको विकास सँगसँगै पुष्प व्यवसायको पनि विकास भइरहेको बताए। उनले पोखरामा उत्पादन भएका लोकल फूलहरू नै प्रयोग गर्न सबैलाई आग्रह गरे।
सहकारीले गर्दै फूलको कारोबार
यसपटक सरकारले तिहारमा फ्लास्टिकको माला बिक्रीमा प्रतिबन्ध लगाएको छ। त्यस्ता माला बिक्री गरे १ लाख जरिवाना गर्ने निर्णय गरेको छ। यसले स्वदेशको उत्पादन अझै खपत हुने व्यवसायीहरू बताउँछन््। फ्लोरिकल्चर सहकारीका बिक्री प्रबन्धक सन्तोष ढुंगानाका अनुसार तिहारको बेला सहकारीले मात्रै फूलको बिक्रीबा ५० लाखको कारोबार गर्ने गरेको बताए। तिहार सुरु भएसँगै दैनिक १० लाखको कारोबार हुने गरेको बिक्री प्रबन्धक ढुंगानाले बताए। तिहारमा मखमली, सयपत्री, गोदावरीलगायतका बिक्री राम्रो हुने गरेको उनी बताउँछन्। अन्य समयमा दैनिक ३ लाखसम्मको कारोबार हुने गरेको सहकारीले जनाएको छ।
एभरेस्ट प्लोलोरिकल्चर एण्ड भेजिटेबल फार्म चागुनारायण भक्तपुरका सञ्चालक रामेश्वर बासीले तिहारमा फूल बिक्री गर्न समस्या नहुने बताउँछन्। ‘सयपत्री लिन फार्ममै आउँछन्। हामी बिच पनि कारोबार हुन्छ। फूल बेच्न यो राम्रो समय हो,’ उनले भने। स्वदेशी उत्पादन पहिलाको तुलनामा धेरै भए पनि अझै विदेशी आयात बन्द गर्न नसकेको उनले बताए। ‘भन्सार तिरेरभन्दा पनि लुकिछिपी आएको छ,’ उनले भने।
पुष्प व्यवसायी राजु शाही विगतको जस्तो धेरै चहलपहल नभए पनि कारोबार भने सामान्य रूपमा दैनिक भइरहेको बताउँछन्। फ्लोरिकल्चर एसोसिएन नेपालका सल्लाहकारसमेत रहेका शाही अहिलेको समयमा भन्दा चिसो मौसममा भने फूलको माग धान्न स्वदेशी उत्पादनले नसकेको बताउँछन्।
ललितपुरको कोटडाँडाकी स्थानीय महिला तिहारका लागि बिक्री गर्न सयपत्री फूल टिप्दै । तस्बिर : अशोक दुलाल