मुस्ताङमा विदेशी पर्यटकको साइकलिङ मोह
जोमसोम : मुस्ताङको जोमसोमदेखि मुक्तिनाथसम्मको २१ किमी दुरीमा पोर्चुगलका विदेशी पर्यटकले साइकलिङ यात्रा सुरु गरेका छन् । पर्वतीय भूगोल र उच्च उचाइको हिमाली जिल्ला मुस्ताङमा साइकलिङ यात्रा गर्न पोर्चुगलका पर्यटक आइतबार हवाई मार्गहुँदै मुस्ताङ आएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना –एक्याप जोमसोमले जनाएको छ ।
मुस्ताङमा पोर्चुगलका करिब ४ दर्जन बढी विदेशी पर्यटक मुस्ताङ आएको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए । आइतबार पोखरा जोमसोम हवाई मार्गहुँदै उनीहरु मुस्ताङमा साइकलिङ यात्रा गर्न आएका हुन् ।
उनीहरुले ट्राभल एजेन्सीमार्फत स्वयं आफ्नो साथमै ती साइकलहरु जहाजबाट मुस्ताङ ल्याइएका हुन्। पूर्व र पञ्चिम दिशातर्फ अवस्थित प्राकृतिक सौन्दर्यताले भरिएको निलगिरी र धौलागिरी हिमालको छत्रछाँयामा बैकल्पिक पदमार्ग र मुख्य राजमार्ग प्रयोग गर्दै उनीहरुले जोमसोमबाट साइकलिङ यात्रा सुरु गरेका हुन् ।
पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा पुराना वैकल्पिक पदमार्गहरु सडक सञ्जालले मासिन थालेका छन् । बेनी–जोमसोम–कोरला मुख्य राजमार्ग र प्रत्येक स्थानीय तहका शाखा सडक विस्तारको क्रम बढेसँगै मुस्ताङका बैकल्पिक पदमार्ग मासिने क्रम बढेको हो ।
अन्नपूर्ण चक्रिय पदमार्गहुँदै मुस्ताङ आएका पर्यटक अहिले पदमार्ग नहुदा सडक मार्गबाटै पैदल हिँड्नुपर्ने बाध्यता छ । मुक्तिनाथदेखि लुप्रासम्म ट्रेकिङ पदमार्ग भएपनि त्यस यता घरपझोङ र थासाङ गाउँपालिका भित्रका ट्रेकिङ पदमार्ग ध्वंस्त भइसकेको छ ।
अहिले त्यहाँ ग्रामिण सडक विस्तार भइसकेको छ । यस्तै, जोमसोमबाट उपल्लो मुस्ताङ जाने पर्यटक पनि बैकल्पिक पदमार्ग नहुँदा मुख्य राजमार्ग हुँदै उपल्लो मुस्ताङ जाने गरेको पाइएको छ । उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा रिङरोड सडकले ट्रेकिङ पदमार्ग मासिएको हो ।
जोमसोमबाट पैदलै उपल्लो मुस्ताङ प्रस्थान गरेका विदेशी पर्यटक पनि सवारी साधनको धुलो र धुँवाले नाक मुख छोपेर हिँड्न बाध्य परेको छ ।