अर्घाखाँचीको मौलिक भैरव नाच (तस्बिर)

अर्घाखाँचीको मौलिक भैरव नाच (तस्बिर)

अर्घाखाँची : अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा नाचिने भैरव नाच यस बर्षका लागि सकिएको छ। भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरु गरी कार्तिक औंशीसम्म नाचिन्छ। देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता रहेको छ। जसका कारण भैरव नाच यस बर्षका लागि सकिएको हो। 
भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ, सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ। यसमा काल भैरव मुख्य हुन्छ भने श्वेत भैरव र रक्त  भैरव सहायक हुन्।  साथमा डंकिनी पनि हुने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए।

भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ। यद्यपि, डंकिनीलाई पनि पूजा गरिन्छ। डंकिनी नारी स्वरुपको हुन्छ। पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगका रुपमा रहँदै आएको छ। तीन वटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौरी गाईंको पुच्छर), मालासहित श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति तथा भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए। 

भैरवलाई आकर्षक बनाउन समयसापेक्ष श्रृंगार सामग्रीको पनि प्रयोग गरिन्छ। यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ। बाजा बजाउनेहरू मुख्य रूपमा नेवार समुदायकै भए पनि सहायक बाद्यबादकमा अन्य जातजातिका पनि सहभागी हुन्छन्। यसले जातीय सद्भावलाई झल्काउँछ। यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ) लाई गुरु मादलका रुपमा राखिन्छ भने साथमा झुर्मा (झ्याली), सहनाइ, धंकुरी लगायतका वाद्यबादन प्रयोग गरिन्छ। 

सात वटै ताल (पटक) को लय फरक–फरक हुन्छ। तान्त्रिक विद्यामा निपूणहरुलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ। यसरी काम्नेमा दर्शक पनि हुन सक्छन् र नर्तक पनि। भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि र्पुयाउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुने गर्दछन्। नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली), घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाच लगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य संघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठले बताए।

नेवार समुदायका विभिन्न प्रचलित एवं ऐतिहासिक नाच मध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ। भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिन्छ। यसको शैली भिन्ना–भिन्नै छ। अर्घाखाँचीको भैरव नाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ। यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकहरुमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको आभास) समेत प्रदान गर्छ। जसका कारण यसले अन्य समुदायका व्यक्तिलाई पनि मोहित पार्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.